साउदी अरबमा थला परेकी नेपाली महिलाको एनआरएनद्वारा उद्धार


रोजगारदाताले औषधि उपचारमा बेवास्ता गर्दा लामो समयदेखि साउदी अरबमा बिरामी भई थला परेकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।
तीन महिनादेखि कमलपित्त तथा पत्थरी रोगले ग्रस्त भई उपचार पाउन नसकेकी कङ्लाङ–२ लिस्टी, सिन्धुपाल्चोककी लाक्पा तामाङलाई उद्धार गरी स्वदेश पठाइएको हो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को पहलमा साउदी अरबको पूर्वी प्रान्त खोबार, थुक्बाबाट पीडित तामाङलाई उद्धार गरी स्वदेश पठाइएको हो ।
पीडित तामाङलाई नेपाली दूतावासको समन्वयमा उद्धार गरी मङ्गलबार स्वदेश पठाइएको सङ्घका महासचिव तेजबहादुर थापाले राससलाई जानकारी दिनुभयो ।

पीडित तामाङ काठमाडौँ रातोपुलस्थित च्वाइस इन्टरनेसनल मेनपावर कम्पनीमार्फत सात महिनाअघि खोबारमा रहेको इनिसियल सप्लायर्स कम्पनीमा कामदारका रुपमा आएकी थिइन् । रोगले ग्रस्त भई थला परेकी तामाङलाई रोजगारदाताले औषधि उपचारमा बेवास्ता गरेपछि उनको अवस्था थप जटिल बनेको थियो ।

पीडित तामाङले आफ्नो उपचार हुन नसकेपछि स्वदेश पठाइदिन अनुरोध गरे पनि रोजगारदाता कम्पनीले करार अवधि पूरा नभएको भन्दै अस्वीकार गर्दै आएको थियो । तामाङलाई साउदी ल्याउन पाँच हजार साउदी रियल खर्च भएको भन्दै रोजगारदाताले सो रकम तिरे मात्र स्वदेश फर्कन दिने बताएको थियो । रासस