एनआरएनए युरोपियन बैठक जुलाई ३० र ३१ तारिख डेनमार्कमा हुने


बसन्त रानाभाट,बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोपियन क्षेत्रीय बैठक तथा महिला सम्मेलन डेनमार्कमा हुने भएको छ। २७ बटा राष्ट्रिय समन्वय परिषदहरु रहेको युरोप क्षेत्रको बैठक आगामी जुलाई ३० र ३१ तारिख कोपेनहेगन स्थित हिल्टन होटलमा हुने भएको हो।

युरोप क्षेत्रका संयोजक कुल आचार्यले गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कसँग छलफल गरे पछि बैठकको मिति र स्थान बारे टुङ्गो लागेको छ। राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दिपेन्द्र चुडालको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय सचिवालयको समेत गठन गरेको छ ।बैठकले दर्ता शुल्क प्रति ब्यक्ति एक सय यूरो लिने समेत निर्णय गरेको छ ।

युरोप संयोजक आचार्यले बैठकको मिति तय भईसके पछि नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै भने,”अहिलेको युरोपियन बैठकलाई ऎतिहासिक बनाउँनको हामी लागि पर्ने छौ,ठुला- ठुला योजना भन्दा पनि युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका प्रतिबेदनलाई प्राथमिकतामा राखेर बैठक गर्ने छौ।”

गत बर्ष बिनाशकारी भूकम्प गए पछि डेनमार्क तय भईसकेको आठौ युरोपियन क्षेत्रीय बैठक तथा छैटौ महिला सम्मेलन स्थगित गरिएको थियो। राहत बितरण कार्यमा ब्यस्त बनेका एनआरएनहरुले आठौ क्षेत्रीय बैठकलाई टेली कन्फरेन्स मार्फत बैठक सम्पन्न गरेका थिए।

आठौ क्षेत्रीय बैठक टेली कन्फरेन्सबाट सम्पन्न भए पछि आगामी बैठकलाई “नवौ युरोपियन बैठक तथा सातौ महिला सम्मेलन” तोक्ने वा आठौ नै राख्ने बारे,आईसीसीको सल्लाह पछि मात्र टुङ्गो लगाउँने आचार्यले बताए।

सन् २०१४ को जुनमा भने सातौ युरोपियन तथा पाँचौ महिला सम्मेलन भने बार्सिलोनामा सम्पन्न भएको थियो।