बल्खुमै पाँच करोडको भवन बनाउँदै एमाले


भूकम्पले पार्टी मुख्यालय भत्काएपछि नयाँ भवन निर्माणको तयारीमा लागेको नेकपा एमालेले फेरि पुरानै ठाउँ बल्खुमा नयाँ भवन बनाउने तयारी थालेको छ ।
बल्खुको जग्गा बेचेर ठूलो र सुविधासम्पन्न कार्यालय भवन बनाउने तयारीलाई थाती राख्दै पुनः त्यहीँ नयाँ भवन बनाउन लागेको आजको नयाँ पत्रिका दैनिकले खवर छापेको छ ।

एमालेको नाममा बल्खुमा नौ रोपनी एक आन जग्गा र पुरानो भवन छ । ९ अाना जग्गामा बनेको यो भवनको चलनचल्तीको मूल्य ३४ करोड रुपैयाँ रहेको एमाले मुखपत्र नवयुगमा उल्लेख छ । ०७२ चैतभित्रै पुरानो भवन भत्काएर करिब पाँच करोड रुपैयाँ लागतमा भूकम्पप्रतिरोधी, अत्याधुनिक प्रविधिमैत्री भवन बनाउने तयारी एमालेको छ‘यस विषयमा केन्द्रीय सचिवालयमा समेत एकसरो छलफल भइसकेको छ’ केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । भूकम्पबाट कार्यालय क्षतिग्रस्त भएपछि एमाले निकट इन्जिनियर भरत पहारीसहितको इन्जिनियर टोलीले भवनमा रातो स्टिकर टाँसेको थियो ।

त्यसपछि एमाले नेताहरुबीच बालकुमारीस्थित नौ रोपनी क्षेत्रफलमा रहेको तुल्सीलाल प्रतिष्ठानमा कार्यालय सार्ने छलफल भयो । तर, वर्षामा हिलाम्मे हुने भन्दै पासाङल्हामु प्रतिष्ठानमा कार्यालय सार्ने योजना बन्यो र सर्‍यो पनि । त्यहीबिचमा मदननगरको जग्गा बेच्ने र चक्रपथ आसपास उपयुक्त जग्गा खोज्ने योजना पनि बनेको थियोबल्खुमा पर्याप्त जग्गा रहेको र मदन भण्डारीको भावनासँग जोडिएको भन्दै देशभरका कार्यकर्ताबाट पनि दबाब परेपछि नेताहरु बल्खुमै नयाँ भवन बनाएर पार्टी कार्यालय राख्ने निष्कर्षमा पुगेका हुन् ।