एनआरएन अध्यक्ष,अष्ट्रेलियन सिनेटर र राजदुतलाई पुन:निर्माण बारे चासो


काठमाडौ/ भूकम्पपछि नेपालको पुन:निर्माणको प्रगति र आबश्यकताबारे अध्ययन गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेसंगै नेपाल आएका अष्ट्रेलियन सिनेटरसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा पुन:निर्माण कार्यमा भएको प्रगतिबारे जिज्ञासा राख्दै टोलीले भेटबार्ता गरेको हो।

प्रधानमन्त्री ओलीले महाभूकम्पको चपेटाबाट पार नपाँदै राष्ट्रको आपुर्ती व्यवस्थामा देखिएको असहजताले गर्दा देशले धेरै नोक्सानी बेहोर्नु परेको जानकारी गराउँदै हालका दिनहरुमा स्थितिहरु समान्य बन्दै गएको र पुन:निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अष्ट्रेलियन प्रतिनिधि मण्डललाई भूकम्प प्रभावित क्षेत्रको अवलोकन गराउनुका साथै सम्बन्धित निकायका प्रतिनिधिहरुसंग छलफल गराई के कस्ता सहयोगको आवश्यकता छ, त्यसको पहिचान गरी आगामी दिनमा कस्तो कार्यनीति लिन सकिन्छ भन्ने बारेमा बिचार विमर्श तथा छलफल गरिने प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन्।

अष्ट्रेलियन प्रतिनिधिमण्डलाई भूकम्प प्रभावित क्षेत्रहरुको अवलोकन गर्न सुझाव दिंदै के कस्ता सहयोग गर्न सकिन्छ भनि पून:निर्माण प्रधिकारणका कार्यकारी अधिकृतसंग छलफल गर्न समेत प्रधानमन्त्री ओलीले अनुरोध गरे।

सो अवसरमा सिनेटर श्याम दयासतारीले आफ्नो भ्रमणको उदेश्य नेपालको भूकम्पपछिको स्थिति तथा पुन:निर्माणमा भएका प्रगती बारे समिक्षा गरी अष्ट्रेलियन सरकारले के कस्ता सहयोग गर्न सक्छ वा उपयुक्त देखिन्छ भनि सुझाव दिनु रहेको प्रधानमन्त्रीलाई बताए।

भेटबार्तामा नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लेन ह्वाईटले अष्ट्रेलियाले नेपालका विविध क्षेत्रहरुमा सहयोग गर्दै आएको र त्यसमध्ये समुदायिक वन परियोजना अत्यन्तै सफल भएको बताउँदै अष्ट्रेलियन सहयोग निरन्तर रहने बताएका छन्।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग भेटवार्ता

नेपालको पुनर्निमाण बारे चासो राखेको सो टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडासँग भेटवार्ता गरी महाभूकम्प तथा नाकाबन्दीको असरवारे छलफल गरेको छ ।

उपाध्यक्ष डा. खतिवडाले संबिधान निर्माणको अघिपछि महाभूकम्प र नाकाबन्दीको असरले नेपालको आर्थिक बिकास सूचाङ्कमा निकै प्रभाव परेको र यी दुई विपत्तिको आर्थिक नोक्सानी खरबौं रुपैयाँको रहेको जानकारी दिए।

दाता सम्मेलनबाट आवश्यक सहयोगको केहि अंश परिपूर्ति गर्ने प्रतिवद्धता प्राप्त भए पनि कार्यान्वयनमा देखिएका केहि प्राविधिक समस्याहरुले ढिलाइ भएको जानकारी दिंदै ती समस्या केहि मात्रमा समाधान भई सकेकाले अब छिट्टै पुन:निर्माण कार्यको थालनी हुने बताए।

Vice-Chair-person-NPC-700x525दाताहरुको प्रारम्भिक सर्त अनुसार भूकम्पको वास्तविक क्षतिको आँकडा संकलन गर्न प्रभावित जिल्लाहरुमा लागत संकलन गर्ने टोलीहरुको परिचालन भई सकेको तथा आगामी एक महिनाभित्र सम्पूर्ण आँकडाहरु संकलित भई सक्ने जानकारी समेत खतिवडाले दिए।

नेपाल सरकारले आवास निर्माणका लागि प्रति प्रभावित घर दुई लाख अनुदान दिन लागेको र आवश्यक परेमा प्रति घर विना धितो तीन लाखसम्म सहुलियत दरमा ऋण दिन सकिने बताउँदै उपाध्यक्ष खतिवडाले हाल नेपालमा अत्याधिक पूँजीगत तरलता रहेको तथा दाताहरुका प्रतिवद्धता प्राप्त गर्न सकिएमा उत्पादन मुलक पुन:निर्माणका कार्यहरुका लागि खासै समस्या नपर्ने जानकारी दिए।

पुन:निर्माण प्राधिकरणका कार्यकारी अधिकृतसँग छलफल

प्रतिनिधि मण्डलले राष्ट्रिय पुन:निर्माण प्रधिकरणका कार्यकारी अधिकृत शुशिल ज्ञवालीसँग भेट गरी राष्ट्रिय पुन:निर्माणमा भईरहेका कार्यहरुबारे अवगत गराउन अनुरोध गरेको छ। कार्यकारी अधिकृतले केहि ढिलाई भएता पनि अव पुन:निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने र क्षतिको विवरण संकलन गर्न १ हजार ५ सय इन्जीनियरहरु परिचालन भई सकेको र विवरण संकलन भएका क्षेत्रहरुमा तत्काल पुन:निर्माणको सुरुवात गरिने वताउँदै, दोलखा जिल्लामा पुन:निर्माण कार्यको सुरुवात भई सकेको वताएका छन्।

निजी आवासहरुको पुन:निर्माण गर्दा एकरुपता हुनपर्ने र सबैले समान अवसरहरु प्राप्त गर्न सक्ने वातावरण वनाउन प्राधिकरण लागिपरेको बताउँदैं यस कार्यका लागि पूँजीगत सहयोग गर्दा ब्राञ्चलेस बैंकिङ्क प्राविधिको उपयोग गर्ने र यसका लागि केन्द्रीय बैंकले आवश्यक कार्यहरु थालिसकेको ज्ञवालीले बताए।

उनले हरेक प्रभावित जिल्लाहरुमा सर्वाअधिकार सम्पन्न पुन:निर्माण समितिहरुमार्फत् निर्माण कार्यहरुमा प्राविधिक सहयोग, अनुगमन तथा मूल्याङ्कन गरिने र यस कार्यका लागि चाहिने अधिकार यस्ता समितिहरुमै निहित हुने भएकोले निर्माण कार्य बिकेन्द्रीत प्रणालीमार्फत छिटो सम्पन्न गराईने बताएका छन्।

हरेक प्रभावित जिल्लाहरुका विभिन्न स्थानहरुमा स्रोत केन्दको स्थापना गरिने र आवश्यक प्राविधिक तथा भौतिक सहयोगहरु यस्ता केन्द्रमार्फत उपलव्ध गराईने जानकारी दिए।

सिनेटर श्याम दयासतारीले पुन:निर्माण नेपालको लागि नयाँ अवसर हुनुका साथै अत्यन्तै चुनौतिपूर्ण भएकोले योजनावद्ध तरिकाबाट संचालन हुन पर्ने सुझाव दिंदै नेपालमा दक्ष जनशक्ति निर्माणमा यस अभियानले ठूलो मौका प्रदान गर्ने बताए। उनले अष्ट्रेलियन सरकारले कस्तो सहयोग गर्न सक्छ त्यस बिषयमा अष्ट्रेलियन राजदूतसंग समन्वय गर्न समेत अनुरोध गरेका छन्।

यस्तै एनआरएनए अध्यक्ष घलेले पुन:निर्माण सम्बन्धि प्राधिकरणका कार्यकारी प्रमुखसंग तीन चरणमा वार्ता तथा छलफल भईसकेको र छिट्टै भूकम्प पीडित र दातामूखि कार्यनीतिहरु ल्याई राष्ट्रिय पुन:निर्माण कार्य नतिजामूखी दिशातर्फ उन्मुख हुनेमा आशावादी रहेको वताउँदै व्यस्तताका वावजुद पनि समय उपलव्ध गराई राष्ट्र पुन:निर्माण सम्बन्धि जानकारी दिएकोमा धन्यबाद ब्यक्त गरेका थिए।

सो भेटघाटमा नेपालका लागि अष्ट्रेलियन राजदूत महामहिम ग्लेन वाहिट, अष्ट्रलियन लेवर पार्टीका सल्लाहकार हरिस भेलजी, लेवर पार्टीका यूवा नेता आहिसा कालसुम अमजढ्, गैरआवासीय नेपाली संघका सल्लाहकार दीपक खड्का र राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलिया पूर्व अध्यक्ष द्वय गोवा कटूवाल तथा गणेश केसी लगायतको सहभागिता रहेको थियो।