३४ दिनपछि नेहाको दाहसंस्कार, हत्या आरोपित जेलमा


पोखरा/ योरुना पुन नेहाको शव ३४ दिनपछि आफन्तले बुझेका छन् । सोमबार शव बुझेर दाहसंस्कार गरिएको नेहाका मामा यामप्रसाद पुनले बताए ।पोखरा रामघाटमा सोमबारनै दाहस्कार गरियो,’ उनले भने, ‘भान्जाहरु अमेरिकाबाट आएका थिए, त्यही भएर काजकृयाको लागि शव बुझे ।’ शव बुझे पनि आफ्नो माग जारी रहेको यामप्रसादले बताए ।

‘हामीले माग पुरा नभएसम्म शव नबुझ्ने भन्ने थियो,’ उनले भने, ‘आफन्तहरुले अब काजकृया बेलैमा उम्काउनु पर्छ भनेपछि शव बुझ्नै पर्‍याे ।’ नेहाको पोस्टमार्टम रिपोर्ट अझै आउन बाँकी हरेको उनले बताए । नयाँगाउँकी १९ वर्षे नेहाको माघ १८ गते राति हत्या भएको थियो ।

न्युरोडस्थित स्माइल क्याफेमा कार्यरत नेहा पुनको शव माघ १९ गते बिहान उनकै घर नजिकै भेटिएको थियो । उनको हत्यामा आरोपित सतीश भन्ने किर्तन खड्गीलाई कास्की प्रहरीले माघ २५ गते सार्वजनिक गरेको थियो । सतीशविरुद्ध जिल्ला अदालत कास्कीमा कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दा दायर गरिएको थियो ।

हत्या आरोपित सतीश फागुन १८ गते पुर्पक्षका लागि जेल चलान भएका हुन । जिल्ला अदालत कास्कीका न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासको आदेशले उनी जेल चलान भएका छन् । कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद र जबरजस्ती करणीमा ६ वर्षसम्म कैदको मागदाबी गरिएको छ ।

मुद्दामा पक्षबाट जिल्ला न्यायाधिवक्ता गंगा पौडेल, अधिवक्ता सुरेन्द्र थापा मगर, सरिता थापा, शोभा पराजुली, विनीता नेपाली, सरलाकुमारी पाण्डे र कल्पना भण्डारीले बहस गरेका थिए । सतीशको तर्फबाट अधिवक्ता दुर्गेशराज पन्तले बहस गरेका थिए भनी समाधान न्युजले जनाएको छ।