कांग्रेस महान्त्रीमा सशांक र कोषाध्यक्षमा सीतादेवी निर्वाचित


कांग्रेस महान्त्रीमा सशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएका छन् । दुवै सभापतिमा पराजित रामचन्द्र पौडेल समूहबाट उम्मेदवार भएका थिए ।

१३ औं महाधिवेशनमा भएको निर्वाचनमा अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै सशांक महामन्त्री निर्वाचित भएका हुन् । यस्तै, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीलाई हराउँदै सीतादेवी कोषाध्यक्ष निर्वाचित भएकी हुन् ।

महामन्त्रीमा निर्वाचित कोइरालाले १४१७ मत पाएका छन् । केसीले १०१७ र गगन थापाले ५८४ मत पाए । कोइराला सभापतिमा पराजित रामचन्द्र पौडेल समूहबाट उम्मेदवार भएका हुन् । केसी नवनिर्वाचित सभापति शेरबहादुर देउवा र थापा कृष्णप्रसाद सिटौला समूहबाट चुनाव लडेका थिए ।

कोषाध्यक्षमा निर्वाचित सीतादेवीले १२१७ मत पाउँदा चित्रलेखाले १२०९ उमाकान्तले ४५७ र कृष्णले ६६ मत पाएका छन् । निवर्तमान कोषाध्यक्षसमेत रहेकी चित्रलेखा देउवा, उमाकान्त सिटौला र कार्की स्वतन्त्र उम्मेदवार भएका थिए । सीतादेवी र चित्रलेखा दुवै सिरहा निवासी हुन् ।-ekantipur