फेरी सौरभहरुले ज्यान नगुमाउन्..


-प्रकाश श्रेष्ठ

-प्रकाश श्रेष्ठ
मृत्यु आफैमा जीवनको दु:खद अन्त्य हो । मृत्युलाई चाहेर कसैले रोक्न सक्दैन । जन्मे पछि मर्नु पर्ने सास्वत सत्य हो तथापी स्वभाविक मृत्यु र अस्वाभाविक मृत्यु गरी मृत्युलाई दुई भागमा विभाजन गरेर हेर्ने हो भने स्वभाविक मृत्युमा भन्दा अस्वाभाविक मृत्युमा परिवार, चिनेजानेका, समाज सबैले दु:ख मान्ने , मृत्युका कारणहरु खोज्ने गरेका हुन्छन् ।

कसैको अप्रत्याशिततवर बाट कुनै घटना, दुर्घटना, हत्या, हिंसाका कारण हुने मृत्युले परिवार मात्र हैन समग्र समाजलाई समेत त्रासिदीपुर्ण अवस्थामा त्यो घटनाले मन-मस्तिष्कमा एक किसिम तनाव र त्रास सृजना गरिरहन्छ । त्यस्तै घटना क्रमहरु पछिल्ला समयमा घट्दै आएका छन् । पछिल्ला समय भएका घटनाहरुको शिकार बनेका नेहा पुन, खिममाया पुन, जिमिस्टी टण्डन र हालै रहस्यमय तरिकाले मृत्यु भएका खरेया पर्वतका सौरभ श्रेष्ठको मृत्यु अस्वाभाविक र अरुबाटै घटाईएको आशंका गरिएको घटनाहरु हुन् ।

हुनत नेहा पुनको हत्यामा संलग्न दोषी पत्ता लागिसकेको र उसले घटना घटाईएको कबुल गरिसकेको छ र अन्य दुईवटा घटना खिममाया र जिमिस्टीको हत्यामा संलग्न संकास्पद व्यक्तीहरुलाई हिरासतमा राखी अनुसन्धान गर्ने कार्यहरु अघि बढेको खवरहरु आएको पाईन्छ । त्यस्तै भरखरै फागुन १४ गते आफ्नै घर नजिकै मृत अवस्थामा भेटिएका २२ बर्षे भर्खरैका युवा शौरभ श्रेष्ठको मृत्युको रहस्य अझै अन्यौलामा रहेको र संकास्पद व्यक्तीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढे तापनि मृतकका परिवारले अझै सम्म लाश बुझेर शतीगती गर्न मानिरहेका छैनन् भन्ने समाचार आएको छ ।

भर्खरैको लाउलाउ र खाउखाउको उमेरबाट गुज्रिरहेका एउटा युवा र परिवारले आश गरेका एउटा छोरा कलिलो उमेरमा अपत्यारिलो तवरबाट आकस्मिक रुपमा आफ्नै आगनको अगाडी मृतक बनेर देखा पर्नु कुन बाबु -आमाका लागी सहन सकिने घटना हुन सक्ला । यस्तो परिस्थितीमा उक्त घटना के कसरी हुन गयो, घटनामा संलग्न हुनेको पहिचान गर्नको लागी आवस्यक सहयोग सबै तिरबाट हुनु जरुरी छ ।

“बुढी मरि भन्दा पनि काल पल्की” भन्ने जुन उखान छ , त्यसबाट पनि यस्ता घटनाहरुबाट अकालमा कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउनु हुँदैन । कुनै पनि ब्यक्तीले ढुक्क सँग एक ठाउँबाट अर्को ठाउँमा ओहोर-दोहोर गर्ने लगायत पेशा, व्यवसाय गरेर जिवन जिउन पाउनु पार्छ, त्यो सबैको नैसर्गिक अधिकार पनि हो ।

यदी यस्ता घटनाहरुमा संलग्न व्यक्तीहरुको आवस्यक पहिचान गरि कडा कार्वाही हुन नसक्ने हो भने समाजमा यस्ता घटनाहरु दिनदाहडै दैनिकरुपमा घट्न सक्छन् र सर्वसाधारणहरुले सधै असुरक्षित अवस्थामा दैनिकी चलाउनु पर्ने साथै बाध्य भएर हरेक युवाहरुको बाबु-आमाहरुले विदेशिनका लागी आफ्ना सन्तानहरुलाई अभिप्रेरित गर्ने चलन बढ्दै जाने अवस्था आउन सक्छ ।

त्यतीवेला समाजमा राज्यको उपस्थिती छ कि छैन भन्ने प्रश्न उठ्न सक्छ र नागरिकहरु राज्यविहिन भएर बाँचिरहेको महशुष गर्ने अवस्था आउन सक्छ त्यस्तै देश युवा विहीन बन्ने परिस्थीती बन्न पनि सक्छ । यस्तो परिस्थिती आएमा स्वत: देश अधोगतिमा धकेलिने छ ।

अहिले नेपालमा युवा-युवतीहरुमा बढ्दै गईरहेको गलत संस्कार , मान्यता, प्रचलन, सोच, आनी-बानीहरुले पनि यस्ता अप्रिय घटनाहरु घट्दै जान सक्ने कारणहरु बनेको पाईन्छ । खासगरी सानै उमेरमा लागु पदार्थको कुलत, साथीभाईको देखासिकीबाट प्रतिशोधात्मक ब्यवहार, अभिभावकहरुबाट उचित नियन्त्रणको अभाव, घर छाडेर साथीसंगीहरु सँग होटेल-रेष्टुरेन्टमा रात विताउने प्रचलन, भविष्यको जिम्मेवारीबाट टाढिनु, सानै उमेर देखि होस्टेल बसेर पढ्ने बानीले परिवारमा घुलमिल हुन बाट टाढा, सानो-तिनो गल्तीलाई परिवारबाट ढाकछोप आदी कारणहरुबाट समेत यस्ता अप्राकृतिक घटनाहरु घट्दै गएको पाईन्छ ।

आफ्ना सन्ततीलाई सानै बाट आफ्नो जिम्मेवारीको पाठ सिकाउने देखि लिएर कुनै गल्ती गरेमा ढाक छोप नगरी गल्ती सुधार्नु र आगामी दिनमा त्यस्ता गल्ती नगर्न सचेत बनाउने साथै नियमित कुनै न कुनै तरिकाबाट सन्तानका हरेक गतिविधीलाई राम्रोसँग निहालिरहने गर्नु पर्दछ ।

यसकिसिमको संस्कारलाई अवलम्बन गर्न सके सन्तानहरु हरेक गतिविधिमा सजक रहने र परिवार प्रति जिम्मेवार बन्ने वातावरण बन्न सक्दछ । आज बढ्दै गएको टेक्नोलोजी र सामाजिक संजालहरुको सही उपयोग हुन नसकेर एवं बढी महत्वकांक्षी र प्रतिशोधको भावनाहरु मन-मस्तिष्कमा बढ्दै गएर पनि युवाहरु अप्रिय घटना घटाउन उत्प्रेरित भईरहेका छन् यसका लागी विद्यालय तहबाटै आवस्यक सचेतना फैलाउने शिक्षा प्रदान गर्नु आवस्यक छ ।

त्यस्तै सामाजिक सेवामा समर्पित संघ-संस्थाहरुले समेत युवापंक्तीलाई यसकिसिमको जनचेतनामुलक कार्यक्रममा सहभागी गराउन सकेमा प्रत्येक युवा आफैमा सचेत र सतर्कता अपनाएर अघि बढ्न मद्दत मिल्ने छ जसले गर्दा समाजमा यस किसिमका अपराधिक गतिविधिहरुमा न्युनीकरण आउने छ ।

अव उप्रान्त सौरभ जस्ता युवाहरुले अनाहकमा ज्यान गुमाउन नपरोस् यसका लागी परिवार, समाज, समुदाय र राज्यले समयमै आवस्यक सतर्कता र अपराध नियन्त्रणमा भरपर्दो कदम छिट्टै चालोस् ।

बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका