साउदीबाट २२ नेपालीको उद्धार


काठमाडौं । वैदेशिक रोजगारीका लागि ६ महिनाअघि साउदी अरेविया आए पनि काम र तलब नपाएर बिचल्ली परेका एक घाइतेसहित २२ नेपालीलाई नेपाल प्रहरीले उद्धार गरेको छ । उनीहरु शनिबार नेपाल फर्किएका आजको नागरिक दैनिकमा समाचार छ ।

साउदीको रियादस्थित अल मेसरी इस्ट फर कन्ट्रयाक्टीङ कम्पनीले संझौता अनुसार तलब नदिँदा बिचल्लीमा परेका र एक महिना अघि सवारी दु्र्घटनामा घाइते भएका रेगम बोहराको उचित उपचार गराउन समेत आनाकारी गरेको बेहेरा पीडितले नेपालको महानगरीय प्रहरी अपराध शाखामा जानकारी गराएपछि उनीहरुको उद्धार सम्भव भएको हो ।

पीडितहरुले महानगरीय प्रहरी अपराध शाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई सम्पर्क गरेका थिए । त्यसपछि उनीहरुलाई साउदी पठाउने स्वस्तिक म्यानपावर कम्पनीबाटै स्वेदश फिर्ताको लागि बिहीबार टिकट पठाइएको थियो ।

महानगरीय प्रहरीको सक्रियतामा वैदेशिक रोजगारका क्रममा ठगिएका युवाको उद्धार गरिएको यो पहिलो घटना हो ।