संस्थापनका नेताबीच नेतृत्वबारे हानाथाप


काठमाडौं । महाधिवेशन एक हप्ता बाँकी रहँदा पनि संस्थापनका नेताबीच नेतृत्वबारे हानाथाप चल्दै छ । सबैका आ-आफ्नै दाउ छन्, कोही कसैको कुरा सुन्ने पक्षमा छैनन् । सुशील कोइरालाको निधनपछि संस्थापनतर्फका सभापतिका सबैभन्दा स्वाभाविक उम्मेदवार हुन् ।

नयाँ पत्रिका दैनिकमा लेख्छ– सुशील हुँदाका उपसभापति तथा निधन भएपछि विधानत: कार्यबाहक सभापति र अन्य नेताभन्दा सिनियर भएकाले उनको उम्मेदवारी स्वाभाविक हो । रामचन्द्रबाहेक संस्थापनका सभापतिका अन्य प्रत्याशीले एकले अर्कालाई स्विकार्ने अवस्था नरहेकाले बरु उनैलाई सबैले स्विकार्न सक्छन् । पुरानो ‘नेतात्रय’को सोचमा सुशीलको निधनपछि रामचन्द्र र शेरबहादुर देउवा मात्र छन् । देउवाको अर्कै गुट रहेकाले सिनियारिटीका आधारमा आफूलाई नै सभापतिको उम्मेदवार बनाउनुपर्ने तर्क रामचन्द्र गर्छन् ।

प्रकाशमान सिंह

सुशीलको निधनपछि सुरुमा सभापतिमा रामचन्द्रलाई सघाउने मनस्थितिमा थिए महामन्त्री प्रकाशमान सिंह । तर, अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा दाबेदारी प्रस्तुत गरेपछि सभापतिमै उम्मेदवारी दिने बताउन थालेका छन् । प्रकाशमान सिंहलाई रामचन्द्रले उपसभापति मनोनयन गर्ने आश्वासन दिएका छन् । संस्थापनमा सर्वसम्मत भएर एउटा प्यानल भएमा उनी रामचन्द्रलाई सघाउन सक्छन् । उनीसँग कठमाडौं सभापतिसहित उपत्यकामा राम्रो भोट छ । हिजो गणेशमान सिंहसँग जोडिएको समूह र नेवार समुदायको सेन्टिमेन्ट सिंहका पक्षमा छ । तर, एक्लै लडेर जित्नसक्ने अवस्थामा भने छैनन् ।

कृष्णप्रसाद सिटौला

कार्यबाहक सभापति पौडेलसँग न्यानो सम्बन्ध नभएकाले सभापतिका लागि अघि बढेका हुन् । पौडेलसँग पहिलादेखि नै उनको राम्रो सम्बन्ध र विश्वास होइन । रामचन्द्रले पनि टिम बनाउादा सिटौलालाई समेटेनन्/चाहेनन् । रामचन्द्रको प्यानलमा उपसभापति प्रकाशमान सिंह, निर्वाचित महामन्त्रीमा डा. शेखर र शशांक कोइरालामध्ये एक हुनेछन् । उनले मनोनीत महामन्त्रीमा डा. रामशरण महतलाई आश्वासन दिइसकेका छन् । मौजुदा विधान संशोधन भएर पदाधिकारीको संख्या बढेन भने सिटौला सभापतिमा लड्ने सम्भावना बढी छ । उनीसाग तत्काल खुलेर कोही नदेखिए पनि संगठनमा राम्रो पकड रहेको जानकारहरू बताउँछन् ।

सुजाता कोइराला

सभापतिको दाबी गर्दै हिँडे पनि सुजाताको भित्री मक्सद विधान संशोधन गरी पदाधिकारी थपेर त्यसमा आफू एडजस्ट हुने हो । पदाधिकारी नथपिएको अवस्थामा उनलाई भविष्यमा सरकारमा महत्त्वपूर्ण भूमिका दिने आश्वासन कार्यबाहक सभापति पौडेलले दिन सक्छन् । विधान संशोधन भएको खण्डमा उनी महिला उपसभापतिकी निर्विकल्प उम्मेदवार हुनेछिन् । विधान संशोधन समितिले विकल्पसहित तयार गरेको विधानको मस्यौदामा उपसभापतिको संख्या बढाएर तीन पुर्‍याउने र त्यसमा एउटा महिला उपसभापति बनाउने भन्ने उल्लेख छ ।

डा. शेखर कोइराला

संस्थापन पक्षका स्वाभाविक सभापतिका उम्मेदवार रामचन्द्रको व्यक्तिगत रोजाइका महामन्त्रीका उम्मेदवार हुन् डा. शेखर कोइराला । शेखरसाग पुरानो मित्रता भएकाले पनि पौडेल उनलाई आफ्नो टिमको महामन्त्रीको उम्मेदवार बनाउन चाहन्छन् । तर, कोइराला परिवारको मूल लिगेसी र बढी मत शशांकसँग भएकाले रामचन्द्र उनीसँगै सम्झौता गर्न बाध्य छन् । त्यसैले शेखर अहिले रोजाइको पात्र भए पनि छायाँमा छन् । संस्थापनमा कुनै भूमिका नपाउने अवस्थामा शेरबहादुर देउवासँग पनि उनको समीकरण हुन सक्छ ।

डा.शशांक कोइराला

निर्वाचित महामन्त्रीका लागि शशांक शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवैको पहिलो रोजाइका उम्मेदवार हुन् । संस्थापनमा ठूलो विवाद भयो र आफू साझा उम्मेदवार बन्ने अवस्था आएमा सभापतिका लागि तप्पर छन् । तर, उनी रामचन्द्रको टिममा महामन्त्रीको उम्मेदवार हुने सम्भावना प्रबल छ ।

अर्जुननरसिंह केसी

देउवा खेमाबाट महामन्त्रीमा चुनाव लड्ने तयारीमा रहेका केसी आफ्ना ज्वाइँसमेत रहेका केन्द्रीय सदस्य गगन थापालाई सँगै लैजान नसकेर संकटमा छन् । देउवा गगनसहित आएमा मात्रै केसीलाई महामन्त्रीको उम्मेदवार बनाउने पक्षमा छन् । संस्थापनको टिममा भने अब उनको ‘एडजस्टमेन्ट’ देखिँदैन ।

डा. रामशरण मह

डा. रामशरण महत अहिले खुलेर रामचन्द्र पौडेललाई सघाइरहेका छन् । महतलाई रामचन्द्रले मनोनीत महामन्त्री बनाउने वचन दिएका छन् । संस्थापन एक हुने सर्तमा आफू त्याग गर्न तयार रहेको उनले बताए । ‘संस्थापन एक ढिक्का हुन्छ भने म त्याग गर्न तयार छु । केन्द्रीय सदस्य भए पनि मलाई हुन्छ,’ महतले भने ।

महेश आचार्य

सुशील कोइराला नेतृत्वको सरकारमा सबैभन्दा क्लिन र राम्रो काम गरेकाले कार्यकर्ताको नजरमा प्यारा भएका महेश आचार्यलाई रामचन्द्रले कुनै महत्त्व दिएका छैनन् । आफूले कुनै महत्त्व नपाउँदा उनी संस्थापन र विशेषगरी रामचन्द्रसँग रुष्ट छन् । महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने निक्र्यौल गरिसकेका छैनन् ।

विधान संशोधनमा विवाद संस्थापनको तयारी

विधान संसोधन समितिले ९७ सदस्यीय केन्द्रीय समिति बनाउने मस्यौदा तयार पारेको थियो । तर, सभापति सुशील कोइरालाको निधनपछि पदाधिकारी बढाउने गरी विधान संशोधनको प्रस्तावमा छलफल नै भएन ।

महाधिवेशन नजिकिादै जाँदा कार्यवाहक सभापति रामचन्द्र पौडेलले संस्थापन पक्षका नेताहरूको व्यवस्थापन गर्न विधान संशोधनको तयारी गरेका छन् । विधान संशोधन समितिले एक महिलासहित तीन उपसभापति र आवश्यकताअनुसार सहमहामन्त्री राख्न सकिने प्रस्ताव शीर्ष नेताहरूलाई बुझाएको थियो ।