तारा एयर बिमान दुर्घटनाको नालीबेली :-


पोखराबाट जोमसोमका लागि उडेको तारा एयरमा सवार चालक दलका ३ सदस्य र २० यात्रु सबैको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा सवार सबैको मृत्यु भएको म्याग्दीका जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले  पुष्टि गरेका छन्।

‘जहाज दुर्घटनास्थल दाना गाविसको टिकेढुंगामा जहाज टुक्रा टुक्रा अवस्थामा भेटिएको छ’, खड्काले भने, ‘त्यसमा सवार यात्रुहरु कोही पनि सकुशल छैनन्।’ शव चिन्ने नसकिने अवस्थामा रहेको उनले बताए।

पाइलट रोशन मानन्धरले नै उडाएर ल्याएका थिए जहाज

बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको ट्विनअटर जहाज ताराले पाँच महिनाअघि मात्रै किनेको हो । क्यानडाको कलगरीबाट असोज १ गते उडेको जहाज १० वटा एयरपोर्ट हुँदै ६० घन्टाको उडानमा गत असोज ९ गते शनिबार दिउँसो १ बजे काठमाडौं विमानस्थल आइपुगेको थियो।

यो जहाजलाई आज पोखराबाट जोमसोम उडान गरेका उनै वरिष्ठ पाइलट रोशन मानन्धर र अर्का क्यानडियन पाइलट स्टेफन क्यानडीले क्यानडाबाट उडान गरि ल्याएका थिए ।

जहाजको इन्धन क्षमता २४ सय ५० लिटर छ । १८ जना यात्रु क्षमता भएको यो जहाज लगातार ४ घन्टाको उडान गर्न सक्छ । कम्पनीको मूल्य ७० करोड पर्ने भएपनि खरिद गरिएको मूल्य कम्पनीले खुलाएको छैन ।

एयरहोस्टेज रमा घरकी एक्ली छोरी

चालक दलमा पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउत थिए। रमा तीन वर्षदेखि तारा एयरमा एयर होस्टेजका रूपमा कार्यरत थिइन्। काठमाडौं कुलेश्वरकी २६ वर्षे रमाको बाबुको निधन भइसकेको छ।

उनकी ५० वर्षीया आमा गीता, एक दाजु र एक भाइ छन्। दाजु पदम मेगा बैंकमा काम गर्छन् भने भाइ प्रमोद नेपाल प्रहरीमा असइ छन्। प्रमोदले बिहान १० बजे मात्र जहाज दुर्घटनाको खबर पाएका थिए।

दुर्घटनाको खबर सुनेदेखि नै आमा गीता ‘छोरी त्यही जहाजमा जोमसोम गएको हुनुपर्छ’ भन्दै छोराहरूसँग प्रश्न गरिरहेकी छन्।  रमा गत सोमबार काठमाडौंबाट पोखरा गएकी थिइन्। उनले मंगलबार साँझ आमालाई फोन गरेर ‘भोलि जोमसोम जाने’ कुरा गरेकी थिइन्। दाजुभाइसँग भने सोमबार घरबाट विदा भएर जाने बेला मात्र भेटेकी थिइन्।

फेरि भेटौंला, गुड डे !

जहाज सम्पर्कबिहीन हुनुअघि पाइलटले पोखरा टावरसँग गरेको अन्तिम कुराकानीमा ‘फेरि भेटौंला, गुड डे !’ भनेको रेकर्ड छ । बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग अन्तिम कुराकानी गरेपछि सम्पर्कबिहीन भएको थियो।

पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग फेरि भेटौंला, गुड डे भन्दै अन्तिम कुराकानी भएको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताएका छन् । पौडेलका अनुसार पोखरा टावरसँग ८ बजे अन्तिम सम्पर्क भएको थियो ।

सिडियो कार्यालयका कर्मचारीदेखि सैनिकसम्म

मुस्ताङका नापी अधिकृत खिमलाल गौतम बुधबार बिहान पोखराबाट तारा एयरमा जोमसोम जाने तयारीमा थिए । तर, उनलाई एकाएक मोटरसाइकलमा जाने झ्वाँक चल्यो । र, उनी मंगलबारै मोटरसाइकल चढेर जोमसोम पुगे ।

भीमदल गण मुस्ताङमा कार्यरत सैनिक राजकुमार तामाङ काठमाडौंमा रहेका आफ्ना छोराको पास्नीका लागि नापी अधिकृत गौतमसँगै काठमाडौं पुगेर जोमसोम र्फकँदै थिए । तर, उनी मोटरसाइकलमा नभई बुधबार बिहानको तारा एयरमा चढे ।

मुस्ताङ जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रेवती बराल पनि बुधबार विहान तारा एयरमार्फत जोमसोम र्फकंदै थिए । पोखराको मासवार घर भएका बराल घरविदामा आएर कार्यालय फर्केका हुन् ।

मुस्ताङको कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी बालकृष्ण न्यूरे पनि बुधबारकै तारा एयरमा चढेका थिए । बाग्लुङ घर भएका उनी पनि घरबाट आफ्नो कार्यक्षेत्रमा जाँदै थिए ।

स्थानीय मुक्तिनाथ गाविसका सचिव मुक्तिनाथ बास्तोला पनि बुधबार बिहान तारा एयरको विमान चढेर पोखराबाट जोमसोमका लागि उडेका थिए । उनी पोखराको फूलबारी निवासी हुन् ।

पोखरा-जोमसोम हवाइ मार्ग हिमालपारिको जिल्ला मुस्ताङमा कार्यरत सरकारी कर्मचारीहरुको आवत-जावत गर्ने मुख्य गन्तव्य मानिन्छ । मुस्ताङमा अधिकांश सरकारी कर्मचारीहरु बाहिरी जिल्लाबाट जाने गर्दछन् ।

बुधबार तारा एयरमा सेना र निजामति कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो । अहिलेसम्मको प्राप्त तथ्यांक अनुसार विमानमा सिडियो कार्यालयका नायव सुब्बादेखि सैनिकसम्म गरी ४ जना सरकारी कर्मचारी सवार रहेको पाइएको छ ।

सरकारी कर्मचारीबाहेक मुस्ताङका स्थानीय नागरिक, व्यापारी तथा मुक्तिनाथ घुम्न जानेहरुको पनि यो रुटबाट आवत-जावत हुने गर्छ । जोमसोम गाविसका सचिव राममणि ढकालले दिएको जानकारी अनुसार विमानमा सरकारी कर्मचारीका साथै केही स्थानीय र समाजसेवीहरु पनि चढेको पाइएको छ ।

विमानमा सवार मोतीबहादुर केसी र पवित्रा केसी मुस्ताङका निवासी होइनन् । उनीहरु मुक्तिनाथ घुम्न आएको हुनसक्ने अनुमान गरिएको छ । साथै विमानमा रहेका दुई बालवालिकाको पनि विवरण खुल्न बाँकी छ ।

त्यस्तै लक्ष्मी हिराचन, विनता भट्टचन, कृष्णलाल भट्टचन, दिलकुमारी गौचन र कृष्णलाल गौचन स्थानीय जिल्लावासी हुनसक्ने ढकालले बताए । विमानमा सवार कमला थकाली जोमसोमकी चिरपरिचित सामाजिक कार्यकर्ता हुन् ।

चालक दलका सदस्यसहित २१ जना सवार विमानका अन्य यात्रुहरुमा अहमद आ रलरसद र माक सिउ यिङ विदेशी नागरिक हुन् । त्यसैगरी विमानमा कान्छा परियार, डोल्मा छिरिङ शेर्पा, लेप्साङ लामा, फेन्जोक गुरुङ र देवीजंग गुरुङ पनि सवार रहेको तारा एयरले जनाएको छ ।

छानविन गर्न आयोग गठन

तारा एयरको विमान दुर्घटनाबारे छानविन गर्न सरकारले आयोग बनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।

आयोगमको सदस्यमा महासेनानी दीपक वास्तोला, क्याप्टेन श्रवण रिजाल, वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला छन् । सदस्य सचिवमा मन्त्रालयका सहसचिव सुरेश आचार्य तोकिएका छन् ।

आयोगलाई दुर्घटनाकार कारण पत्ता लगाउन र भविश्यमा यस्ता घटना हुन नदिन सुझाव दिन भनिएको छ ।

समाचार स्रोत:- कान्तिपुर,अनलाईनखबर र सेतोपाटी