कुबेतमा राजदूतकै अगाडि नेपालीहरु बीच कुटाकुट,घरेलु हतियार प्रहार


कुवेत । रोजगारीका लागि विदेशमा रहेका नेपालीले गर्ने औपचारिक कार्यक्रममा विभिन्न गुनासा व्यक्त हुनु सामान्यजस्तै भएको छ । तर, शुक्रबार खाडी मुलुक कुवेतमा राजदूत प्रमुख अतिथि भएको कार्यक्रममा नेपालीहरु घरेलु हतियारसहित कुटाकुटमा उत्रिए ।

कुटाकुटको परिणामस्वरुप अब कुवेतमा नेपाली समुदायले कुनै पनि कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्धसमेत लागेको छ । सोनाम ल्होसार मनाउन भन्दै कुवेतको फिनटास वेडिङ हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि थिए, कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाल । तर, सदभावना आदान प्रदान गर्ने चाडपर्व मनाउने कार्यक्रममा सहभागी दुई समूहबीच एकाएक झडप सुरु भयो र घरेलु हतियारसमेत प्रहार हुन पुग्यो ।
ल्होसारको शुभकामना दिन पुगेका राजदूत र अतिथिहरु कार्यक्रम नै छाडेर भाग्नुपर्‍यो । भिडन्त रोक्न कुवेत सरकारका प्रहरीले बल प्रयोग नै गर्नुपर्‍यो ।

झडपपछि आयोजक तामाङ घेदुङका अध्यक्षसहित १० जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । तर, पक्राउ परेका आयोजक संस्थाका अध्यक्षसहितका नेपालीलाई पछि दूतावासकै अनुरोधमा छुटाइएको छ ।

घटनापछि कुवेतस्थित नेपाली दूतावासले सूचना जारी गरेर नेपाली समुदायलाई कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ । कुवेत सरकारको आग्रहमा दूतावासले यस्तो सूचना जारी गरेको हो ।
Kuwet