कोईरालाको अन्त्येष्टि नहुँदै प्राडो गाडी फिर्ता मागियो


काठमाडौ । पुर्वप्रधानमन्त्रीको रुपमा सुशील कोइरालालाई सरकारले दिएको सुविधाको प्राडो गाडी प्रधानमन्त्री निवासबाट फिर्ता मागिएको छ ।

कोइरालाको पार्थिक शरीरमा दागबत्ती दिन नपाउँदै बुधबार साँझ बालुवाटारस्थित निजि सचिवालयले गाडी फिर्ता मागेको हो । कोइराला चढ्ने बा ६ च १०३० नम्बरको प्राडो गाडी फिर्ता गर्न प्रधानमन्त्रीको निजि सचिवालयले ताकेता गरेको आजको नयाँ पत्रिकामा समाचार छ ।

सचिवालयमा कार्यरत नाय्ब सुब्बा दयानिधि दवाडीले कोइराला बस्दै आएको महाराजगञ्जस्थित डा. शशांक कोइरालाको घरको ल्यान्डलाइन नम्बरमा टेलिफोन गरी तत्काल गाडी फिर्ता गर्न भनेका थिए । तर, फोन उठाउने सुरक्षाकर्मीले आफन्त सवै कोइरालाको अन्येष्टिमा गएकाले तत्काल फिर्ता गर्न गाह्रो भएको जवाफ दिएका थिए ।

बालुबाटारबाट बिहीबासर बिहान पनि सोही टेलिफोनमा दुईपटक फोन गरी गाडी फिर्ता गर्न ताकेता गरेपछि कोइराला चढ्ने गाडी प्रधानमन्त्री कार्यलय पुर्‍याइएको थियो । सुशीलका आफन्त मृदुला कोइरालाले गाडी फिर्ता पठाइएको बताइन् ।
उता प्रधानमन्त्रीको निजी सचिवालयले भने गाडी फिर्ता नमागेको दावी गरेको छ ।