कोइरालाको शवयात्रा आर्यघाट पुग्यो,राजकीय सम्मानका साथ अन्त्येष्टी गरिँदै


काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शवयात्रा पशुपति आर्यघाट पुगेको छ । आर्यघाट स्वर्गीय कोइरालाका शुभेच्छुकहरुले खचाखच छ ।कोइरालालाई उनका भतिजा अतुल कोइराला र सिद्धार्थ कोइरालाले दागबत्ति दिने छन्।

शवयात्रा थापाथली, सिँहदरबार, पुतलीसडक, कृष्ण पाउरोटी, कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइएको थियो।शवयात्रामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिँह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाद्वय अतुल कोइराला र सुदाम्सु कोइराला, शुभचिन्तक तथा सर्वासाधरणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कोइरालाको अन्तिम विदाईमा सहभागी हुन कांग्रेसका वरिष्ठ नेता-कार्यकर्ता, अन्य राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, सांसदहरु, सुरक्षाकर्मीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, आफन्तजन, पेशा व्यवसायी र सर्बसाधारण आर्यघाट पुगेका छन् ।

आर्यघाटमा कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।