नेहा पुनको हत्यारा अझै पत्ता लागेन, शंकास्पद व्यक्तिसँग सोधपुछ


पोखरा/ नेहा पुनको हत्यारा अझै पत्ता लागेको छैन । जिल्ला प्रहरी कार्याल कास्कीले उनको हत्याराको छानविन गर्न विशेष टोली गठन गरेपनि कुनै सुराक पत्ता लागेको छैन । नेहाको शव पोष्टमार्टम गरिएपनि रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले बताए ।

शवको केही अंग परीक्षणका काठमाण्डौं पठाइएको हुनाले पूर्ण रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार पनि केही शंकास्पद व्यक्तिसँग सोधपुछ गरेको छ । साथै सरस्वती लिम्बु पनि कसरी मारिए भन्ने अझै खुल्न सकेको छैन ।

पोखरा—१५ नयाँगाउँकी १९ वर्षीया नेहाको हत्या १९ गते राती भएको थियो भने मोरङकी लिम्बुु माघ १७ गते मारिएकी थिइन् । नेहा र लिम्बुको हत्यामा संलग्न हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै तमुवान संयुक्त संघर्ष समितिले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ भनी पोखराबाट प्रकाशित समाधान दैनिकले जनाएको छ।