कांग्रेस महाधिवेशन : कास्कीमा संस्थापन पक्ष र स्याङ्जामा देउवाको हाबी


पोखरा/ नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कास्कीमा शुक्रबार भएको क्षेत्रीय चुनावबाट सभापति सुशील कोइराला समर्थक कार्यकर्ता महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

४ निर्वाचन क्षेत्र भएको कास्कीबाट २९ जना कोइराला र अरु वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष र उपसभापति रामचन्द्र पौडेल लगायत पक्षकाले जितेका छन्। पूर्व सभामुख तारानाथ रानाभाट लगायत केही नेता कोइराला, देउवा र पौडेल कुनैको पनि पक्षमा छैनन्, जो महाधिवेशन प्रतिनिधि चुनिएका छन्।

क्षेत्र नं ४ मा सभापतिकै उम्मेदवारले मतपत्र च्यातेपछि क्षेत्रीय समिति चयन हुन सकेन । महाधिवेशन प्रतिनिधि चुनिइसकेका छन्, क्षेत्रीय समितिको चुनाव २५ गते हुने भएको छ। गन्दै जाँदा आफ्नो १३ र प्रतिस्पर्धी पोषनाथ शर्माको ३७ मत आएपछि देउबा पक्षीय उम्मेदवार मनोज गुरुङले मतपत्र च्यातेका थिए । जिल्ला अधिवेशन हुने दिन नै फेरि क्षेत्रीय समिति चयनका लागि चुनाव हुने भएको छ । क्षेत्र नं १ मा पार्टी उपसभापति रामचन्द्र पौडेलसमर्थकले देउबा पक्षकालाई समर्थन गरेका थिए।

महाधिवेशन प्रतिनिधि बनेका धेरैजसो पुरानै अनुहार छन् । पूर्वसांसद कृष्णकुमारी परियारले क्षेत्र नं २ बाट दलितकोटामा पनि महाधिवेशन प्रतिनिधि जितिनन् भने सांसद शारदा पौडेलले सोही क्षेत्रमा महिला कोटामा प्रतिस्पर्धा गरेर आफूलाई सुरक्षित बनाउन सफल रहिन् । उनले केन्द्रमा उपसभापति रामचन्द्र पौडेललाई समर्थन गर्दै आएकी छन् ।

पुराना नेता खेमराज पौडेल बाहेक धेरैले महाधिवेशन प्रतिनिधिको चुनाव जितेका छन् । केन्द्रमा कोइराला, देउबा र पौडेल कतैपट्टि पनि नलागेका अर्का नेता महादेव गुरुङले पनि महाधिवेशन प्रतिनिधिको चुनाव जिते । पुराना नेता शुक्रराज शर्मा, पार्टी जिल्ला सभापति तथा सांसद यज्ञबहादुर थापा, सचिव कृष्ण केसी, नेता देवराज चालिसे र व्यवसायी तिलक रानाभाटसहित कास्कीबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

स्याङ्जामा बहुमत संख्यामा देउबा पक्षका कार्यकर्ताले महाधिवेशन प्रतिनिधि चुनाव जितेका छन् । ३ वटा क्षेत्रका सभापति नै देउबा पक्षका नेताले जिते । महाधिवेशन प्रतिनिधिमध्ये पनि २३ जना देउवा पक्ष छन् भने १३ जनामात्रै सभापति कोइराला पक्षका छन् । जिल्लामा पूर्व उपसभापति गोपालमान श्रेष्ठको पकड छ । उनी स्वयं देउवा पक्ष रहेकाले पनि उनकै पहल र समर्थनमा देउवा पक्षीयले महाधिवेशन प्रतिनिधि जितेका हुन् । जिल्लाका पार्टी पूर्वसभापति खेमराज रेग्मीले महाधिवेशन प्रतिनिधिको चुनाव हारेका छन् । उनी देउबा समर्थक हुन् भनी नागरिक समाचारमा जनाईएको छ।