मृगौला पिडितको सहयोगार्थ,युरोपमा १८ लाख रुपैयाँ संकलन


बार्सिलोना /
बिगत ५ बर्ष देखि पोर्चुगलको लिस्बनमा बस्दै आएका ३२ बर्षिय जया सुबेदीको मृगौला प्रत्यारोपणका लागि, युरोपका नेपालीहरुले १८ लाख ७ हजार ४ सय ४० रुपैयाँ संकलन गरेका छन्। पर्बत सालिजा-४ भोटेडाँडाका सुबेदीको उपाचारका लागि, बिभिन्न देशहरुमा रहेका पर्बत समाज,एनआरएनए,पत्रकार तथा केही समाजसेबीहरुको व्यक्तिगत सक्रियताबाट रकम संकलन भएको हो।

पिडित सुबेदीलाई मुख्यत: बेल्जियम,स्वीट्जरल्याण्ड ,बेलायत डेनमार्क, नेदरल्याण्ड, अस्ट्रिया,पोर्चुगल जस्ता युरोपियन मुलकहरु र जापानबाट पनि सहयोग प्राप्त भएको छ। एनआरएनए युरोप संयोजक कुल आचार्यको उपस्थितिमा लिस्बनमा आयोजित एक कार्यक्रममा एकमुष्ट संकलन भएको रकम बारे जानकारी गराईएको हो। कार्यक्रममा पोर्चुगल स्थित संघ सँस्थाका प्रतिनिधिहरु लगायत पिडित सुबेदीको समेत उपस्थिति थियो।

कमाउँने र परिबारको भविष्य सुनिश्चित गर्ने बेलामा रोगले समाते पछि संकट परेका सुबेदीले लिरिबस किड्नी सेन्टर र बेन्फिका लिस्बनबाट हरेक हप्ता, ३ पटक डाईलोसिस गराउँदै आएका छन्। नयाँ जीवनको लागि मृगौला प्रत्यारोपण नै बिकल्प रहेकाले यसैको खोजीमा उनि भौतारीरहेका छन्। स्वास्थमा थप जटिलता आउँन नदिन, प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम,पिडित सुबेदीले त्यसकै निम्ति सहयोग याचना गरेका थिए।

पोर्चुगलको हकमा मृगौला प्रत्यारोपणका लागि करिब एक दशक नै पर्खनु पर्ने बाध्यता रहेको भन्दै रकम संकलन भए, उपाचारका लागि नेपाल वा दिल्ली पुग्ने,यस अघि सुबेदीले बताएका थिए।