युरोप आउँने नेपालीको नालीबेली: कतै दूतावासको माग, कतै स्वदेश फिर्ने लहर


-बसन्त रानाभाट
बार्सिलोना । कमाउन होस् वा पढ्न, अझै पनि नेपालीहरुका लागि युरोप आउनु भनेको सपनाजस्तै लाग्छ। त्यसैले लाखौं रकम खर्च गरेर युरोपका लागि नेपालीहरु आँखा चिम्लन तयार देखिन्छन् । तर, युरोपका बिभिन्न मुलुकहरुमा परिबर्तित नियम र कानुनहरुका कारण बसाइ सहज देखिएको छैन।अध्ययनका लागि युरोप छिर्ने बिद्यार्थीहरुलाई पनि पछिल्ला परिबर्तित नियमले कठिनाइ देखिएको छ।

अझ युरोप छिर्नेका लागि अवैधानिक बाटो हुँदै आउने वा मोटो रकम दलाललाई बुझाएर नक्कली प्रर्यटक बन्दै युरोप छिर्नेहरुको लागि,यहाँको जीबन झनै कष्टकर बन्दै गएको देखिन्छ। अबैधानिक रुपमा युरोपमा बस्दा, मानसिक तनाबका साथै आर्थिक समस्या पनि देखिने गरेको छ।

बास्तवमा युरोपमा नेपालीहरु कति छन् ? यति नै भन्ने आधिकारिक तथ्यांक भने छैन। कारण अबैधानिक रुपमा युरोप छिर्ने वा यतै आएपछि अबैधानिक बन्ने नेपालीहरु संख्या दिनानु दिन बढ्दै गएकोले पनि यकिन तथ्याङ्क छैन। अर्को तर्फ युरोपका बिभिन्न मुलुकहरुमा नेपालीहरु कहिलेदेखि आउन सुरु गरे त ? पहिले र अहिले संख्यामा कति फरक छ ? र, नेपालीहरु के – कस्तो काम गर्दै बसेका छन् ? यो सबैलाई चासोको बिषय हुन सक्छ।

नेपालीनेपाली डटकमले , नेपालीहरुको बाक्लो बसाइ रहेका युरोपका केही देशहरुबाट नेपालीको अवस्था, समस्या र चुनौतिका बारेमा अभिमत लिएको छ। नेदरल्यान्ड्स, फ्रान्स, बेल्जियम, नर्बे, डेनमार्क र स्पेनमा लामो समय देखि बस्दै आएका केही नेपालीहरुको बिचारलाई यहाँ प्रस्तुत गरिएको छ।

नेदरल्यान्ड्समा ५२ बर्षदेखि नेपालीको बसोबास, भाषाको समस्या
फणिन्द्र पन्त, नेदरल्यान्ड्स, (ब्लड ब्यङ्कमा कार्यरत)

पश्चिम युरोपमा अबस्थित युरोपियन युनियनको महत्व पूर्ण देश हो। आकारमा नेपालभन्दा तीन गुणा सानो तर करिब आधा कम जनसंख्या अर्थात् १६.९ मिलियन मात्र रहेको छ। हाल यहाँको रेकर्ड अनुसार १ हजार ९ सय ७७ नेपाली रहेका छन्। नेपाली मुलका मानिसहरु समुन्द्रमुनिको यो भूभागमा आएर स्थायी बसोबास गर्न थालेको करिब ५२ बर्ष भएको रेकर्ड छ। सन् १९६४ देखि नै स्थायी रुपमा बसोंबास गर्दै आएका एक नेपाली हाल नेदरल्यान्ड्समा नै हुनुहुन्छ।Fadendra-PantaNetherland-७० र ८० को दशकमा निकै न्युन संख्यामा भारतीय ब्यापारीहरुको साथमा काम गर्ने शिलशिलामा नेपाली बस्ति राजधानी आसपासमा सुरु भएको देखिन्छ। ९० को दशकको अन्त्य सम्म यो संख्या ३ सयको हाराहारीमा पुगेको र नेपालमा भएको द्वन्द कालको आसपासमा नेपालीको संख्या बढेर करिब २ हजार ५ सय को हाराहारीमा पुगेको अनुमान छ।

जस मध्ये तथ्यांक बिभागमा दर्ता भए अनुसार,१ हजार ५ सय ९६ जना पहिलो पुस्ता र ३ सय ८१ दोश्रो पुस्ताका नेपालीहरु छन्। बाँकि करिब ३ सयको संख्यामा नेपालीहरु बिना दर्ता , दर्ता प्रक्रिया चलि रहेका वा डच परिवार सँग हुर्केका अबस्थामा छन्। पछिल्ला बर्षहरुमा परिवार मिलन प्रक्रिया तथा नेपालबाट आँफन्तहरु भेटघाटमा आउँने हुनाले नेपाली बस्ति निकै बाक्लिदै गएको छ, यो क्रम अबको १० बर्षमा, दोश्रो पुस्ताको बैबाहिक प्रक्रिया हुँदा सम्म तिन गुणा बढ्ने सम्भावना छ।

पेशा तथा अध्ययन : पेशाको हिसाबले करिब ९० प्रतिशत नेपालीहरु विभिन्न रेस्टुरेन्टहरुमा काम गर्ने तथा ब्यबसाय गर्ने गर्दछन। पछिल्ला बर्षहरुमा नेपाली, इन्डियन , सुरिनामी, ग्रिल तथा सुसी रेष्टुरेन्टहरुमा नेपालीहरुको पारिवारिक वा सामुहीक लगानी संचालन हुन थालेका छन्। नेदरल्यान्ड्सका विभिन्न शहरहरुमा नेपालीहरुको संचालनमा विभिन्न मिनी सुपरमार्केटहरु, कपडा पसल तथा सोभिनियर पसलहरु सुरु भएका छन्।

बिगत केहि बर्ष देखि नै केहि नेपाली पर्यटन क्षेत्रमा पनि संलग्न छन्। यो छोटो समयमा भएको ब्यबसायिक प्रगति हेर्ने हो भने आउँदा दिनमा नेपालको प्रर्यटन प्रबर्दनमा टेवा पुग्ने संकेत देखिएको छ। ब्यबसायिक परिवारले नेदरल्यान्ड्सको पुरा नेपालीमा ५० प्रतिशत हिस्सा लिई सकेको छ भने बाँकि ५० प्रतिशत नेपालीहरु बिद्यार्थी भिसामा,अउपैर भिसामा, प्राबिधिक पेसामा तथा केहि सरकारी तथा गैर सरकारी कम्पनीहरुमा कार्यरत छन्।

नेपालबाट अध्ययन गर्न आएका बिद्यार्थीहरु खासगरी बिजनेस कलेजहरु पढ्न आउँने गरेका छन् र केहि बिद्यार्थी प्रत्येक बर्ष जसो नेदरल्यान्ड्स सरकार तथा युरोपियन युनियनको ग्रान्ट अन्तर्गत उच्च प्राबिधिक शिक्षा तथा जलश्रोत बिषय अध्ययन गर्न आउँने गरेका छन्। नेदरल्यान्ड्समै हुर्किरहेको दोश्रो पुस्ता भने साबिक मै पठन पाठन , खेलकुद , कला तथा बहु -आयमिक देखिन्छन्। तर नेपाली भाषा नबोल्ने हुन की भन्ने चिन्ताले अभिभाबकलाई सताउने बाहेक, दोश्रोपुस्ताको भविष्यमा खासै चिन्ता गरेको भेटिदैन।

समस्या : जुनसुकै पेसाका वा ब्यबसायका नेपालीहरुमा पनि साझा समस्या भनेको नेदरल्यान्ड्सको डच भाषा नै हो। तुलनात्मक रुपमा मुस्किल मानिने यो भाषा, सम्पूर्ण सरकारी कामकाज तथा बोलि ब्यबहारमा अत्यन्तै जरूरी बन्दछ। पहिलो पुस्तामा भाषाकै कारणले पछाडी परेको र आफ्नो स्तर अनुसारको काम नपाएकोमा चिन्ता गरेको प्रशस्तै भेटिन्छ।

नेपालबाट निजी खर्चमा पढ्न आएका बिद्यार्थीहरुले कानुनी रुपमा काम गर्न,काम दिने कम्पनि मार्फत सुरुमा सरकारी अनुमति माग्नु पर्ने झन्झट रहेको छ। यस्तै हप्ताको जम्मा १० घण्टा ( प्रति घण्टा करिब ७ युरो नेट ) मात्र काम गर्न अनुमति पाइने हुनाले पढाई , बसाई, बिमा आदि खर्च पनि काम गरेर जम्म्मा गर्न मुस्किल देखिन्छ।

नेपालबाट आर्थिक सहयोग नलिई, आफ्नै कमाइले पढ्न खोज्दा, बिचमै पढाई छोड्नु पर्ने बाध्यता छ। वा बिकल्पको रुपमा बिबाह गर्ने, शरण माग्ने वा कार्ड बनाउँन सजिलो ठानिएका मुलूकहरु पोर्चुगल वा स्पेन तिर बसाई सर्नु पर्ने बाध्यता देखिएको छ।
औपैर भिसामा आउँदा, आएको परिवार अपेक्षाकृत नहुन सक्ने – भिसा बदल्नको लागि खर्चिलो भए पनि बिबाह वा बिद्यार्थीको रुपमा कलेज भर्ना हुन भने सकिन्छ। यसका लागि कम्तिमा नेपालमा सम्बन्धित बिषयमा १० + २ पास हुन जरूरी छ।

अन्य विभिन्न बाहाना बनाई नेदरल्यान्ड्स आएर यहाँ बस्न शरण लिंदा वास्तविक पिडित बाहेक अन्यलाई (नक्कली वा बाहानाबाजी) मुस्किल देखिन्छ। शरण नै लिन आएको हो भने अत्यन्तै विश्वासिलो आधार चाहिन्छ।

चुनौती र मौका : नेदरल्यान्ड्स लगायत युरोपमा बढ्दो नेपालीहरुको संख्याले देशलाई चुनौती र मौका दुवै हो। नेपाल छोड्ने क्रम बढ्नु,भ्रम पूर्ण आकर्षणमा पारेर दशौ लाख खर्च गरेर यता छिर्नु आँफैमा चुनौती पूर्ण छ। अर्को तर्फ आफ्नो क्षमता भन्दा तल्लो स्तरको काम गर्नु पर्ने, सुरुका दिनहरुमा पुरै अनिश्चित हुनु पर्ने, फरक भौगोलिक र मौसमका कारण पनि डिप्रेसनको सिकार हुनुबाट बच्नु नेपालीको लागि अर्को ठुलो चुनौती देखिन्छ।

तर नेपालमै कुक,प्राबिधिक( आइटी ), डिजाइन,पर्यटन, पर्सनल केयेर ( ब्युटी ) आदि सिप भएकाहरुको लागि तथा व्यापार गर्नेहरुको लागि बैधानिक रुपमा रहने आधार सहित आएमा, सही गन्तब्य हुन सक्छ।

तर यति भनीरहँदा पनि भाषा भने आफ्नै ठाउँमा कठिनाई नै छ। यो अनुसाशित सामाजिक व्यवस्था भएको मुलुक भएकाले,छोटो समयमा नै धनि बन्ने चाहना गर्नेलाई उपयुक्त देखिदैन। नेदरल्यान्ड्स व्यक्तिगत स्वतन्त्रता तथा सामाजिक सुरक्षा ब्यबस्थित भएको मुलुक पनि हो।

पहिलेको जस्तो रहेन, अहिलेको बेल्जियम
केजिन राई, बेल्जियम अध्यक्ष, (नेपाल पत्रकार महासंघ युरोप शाखा)

आम्दानीको लागि रोजाईको मुलुक रहेको बेल्जियममा करिब ६ देखि ८ हजार सम्म नेपालीहरु बसोबास गर्ने अनुमान छ। यहाँ आए पछि राम्रो कमाई हुने र भविष्य सुनिश्चित हुने ठानेर बिगत एक दशक अघि युरोपमा, नेपालीहरुले पहिलो रोजाई बेल्जियमलाई ठान्दथे। अझै पनि धेरै नेपालीहरु बेल्जियममा नै बस्न चाहे पनि, बैधानिक बन्न कठिन र अबैधानिक रुपमा रहन निकै मुस्किल भएकाले पनि नेपालीहरुको रोजाईमा परिबर्तन आएको छ।kejin-RaiBelgium-बेल्जियममा रहेका नेपालीहरु मध्ये करिब ९० प्रतिशत बैधानिक रहेको अनुमान छ। एक बर्ष अघि सम्म धेरै अबैधानिक रुपमा नेपालीहरु रहदै आएको भए पनि निकै कढाई हुन थाले पछि संख्यामा कम आईरहेको छ। नयाँ नियमको कारण पनि, अब अबैधानिक बसाई निकै कठिन छ,पहिलेको तुलनामा लगभग असम्भव जस्तै देखिन्छ। तर बैधानिक रुपमा बसोबास गर्ने नेपालीहरुलाई, बेल्जियमको राष्ट्रिय आम्दानि र प्रतिव्यक्ति आय राम्रो भएका कारण जीबन यापन र आर्थिक रुपमा कठिनाई देखिदैन।

तर एक बर्ष यता सरकारले कडाई गरेका कारण बिद्यार्थी लगायत स्थायी रुपमा बसोबास गर्दै आएकाहरुलाई पनि सोचे जस्तो बेल्जियम देखिदैन। “आँफु वाच बचाउ” भन्ने सरकारी नीतिका कारण रेष्टुरेन्ट, उद्योग लगायत सबै खाले काममा, ओभर टाईम काम गरे पनि, सरकारलाई नै बार्षिक ओभर टाईमको तलब बुझाउनु पर्ने नीति ल्याएको हुँदा कठिन देखिएको हो। यो नीतिले कामदार र ब्यबसाय गर्ने नेपाली समुदायमा पूर्ण रुपमा असर पर्दै गएको देखिन्छ।

बैधानिक रुपमा सामान्य काम गर्नेले पनि यहाँ १ हजार ६ सय युरो भन्दा माथि नै कमाउँछन्। नेपाली समुदायको करिब ७० प्रतिशत भन्दा बढी होटल रेष्टुरेन्टमा क्षेत्रमा नै आबद्दता देखिन्छ। साथै नेशनल इन कमको दोब्बर देखि तेब्बर,,ब्लाक मनी इनकम बेल्जियमको आकर्षण हो तर त्यसमा क्रमश: गिरावट चलीरहेको छ।

नर्वेमा भिसा नवीकरणमा कठिनाइ, नेपाल फर्कने क्रम बढ्दो
मदन आचार्य, नर्वे (बिद्यार्थी)

नर्वे बिश्वकै सबैभन्दा बिकसित मुलुकहरु मध्ये एक हो। त्यसैले नेपालबाट मात्र नभई बिश्वका अन्य धेरै मुलुकहरु बाट पनि पढाई रोजगार तथा भ्रमणको शिलशिलामा पनि बर्षेनी यता आउने संख्या बढ्दो छ। नर्बेमा यति नै नेपालीहरु छन् भन्न कठिन छ किनकी बिद्यार्थीको संख्या बर्षेनी घटबढ हुन्छ र यतै कार्ड वा पासपोर्ट लिएर काम गर्ने नेपालीहरु संख्या पनि महिनै पिच्छे बढ्दो छ।

तथापी यहाँका नेपाली संघ सस्थाहरुको अनुमान अनुसार करिब २ हजार ५ सय को हाराहारीमा नेपालीहरु रहेको अनुमान छ। जसमा स्थायी रुपमा बसोबास गर्ने नेपालीहरु करिब १ हजार ५ सय,,बिद्यार्थीहरु ६-७ सयको संख्यामा र उनका परिबारहरु २ सयको हाराहारीमा रहेको अनुमान छ। केहि बर्ष पहिले अबैधानिक रुपमा पनि धेरै नेपालीहरु रहेको भए पनि सरकारले पछिल्लो क्रममा कडाई गर्दै गए पछि अहिले त्यो संख्या ज्यादै न्यून रहेको छ।Madan-AcharyaNorway-नर्बेमा पढ्न खासै शुल्क नलाग्ने भएकाले पनि बिद्यार्थीहरुको लागि गन्तब्य मुलुक बनेको छ। राजधानी ओस्लो लगायत केहि शहरहरुमा बर्षेनी बिद्यार्थीहरुको संख्या बढी छ। ठूला शहरहरु जस्तो ओस्लो,बर्गेनमा धेरै बिद्यार्थीहरुलाई कामको अबसर पनि मिन्ने हुँदा त्यहाँ संख्या बढेको हो। यहाँको सरकारले बिद्यार्थीहरुलाई मासिक ८० घण्टा सम्म काम गर्ने अनुमति दिएको छ। बिद्यार्थीहरुले ८० घण्टा भन्दा बढी काम गरेमा भिसा नविकरण हुन कठिनाई छ।

तर नेपाली बिद्यार्थीहरुले तोकेको भन्दा बढी काम गरे पछि,भिसा नबिकरणमा कठिनाई भई,नेपाल फर्कनेको संख्या गत बर्ष देखि बढेको देखिन्छ। नर्बेमा पारिश्रमिक धेरै हुनाले पनि खाना बस्नमा खासै समस्या देखिदैन तर गत बर्ष देखि सिरिया तथा अफ्रिकी मुलुकहरुबाट धेरै संख्यामा आप्रबासीहरु आएकाले काम पाउँन मुश्किल बन्दै गएको देखिन्छ। र नेपाली बिद्यार्थीहरुले आफ्नो दक्षता बिनाको काम पनि गर्ने र नर्बेजीयन बाहेकका कम्पनीमा काम गर्दा कमाई कम हुने र समयमा तलब नपाउँने समस्याहरु पनि भोगेका छन्।

नर्बेमा केहि नेपालीहरुले आफ्नै ब्यबसाय पनि गर्दै आएका छन्। हाल सम्म हेर्दा रेष्टुरेन्ट क्षेत्रमा नै बढी चासो देखिन्छ। रेष्टुरेन्टबाट आम्दानि राम्रो हुने हुँदा पनि,धेरैको झुकाव देखिएको छ। यता नर्बेमा नर्सिङ् पढेका नेपाली बिद्यार्थीहरुको भविष्य पनि निकै सफल भएको पाईन्छ। हालैका बर्षहरुमा यस्ता बिद्यार्थीहरुले यतैको स्वास्थ्य सँस्थाहरुमा काम गर्ने अबसर पाएका छन्। तर उच्च शिक्षा पछि पनि सोही अनुसारको काम पाउँनको लागि नर्बेजियन भाषा दख्खल हुनु पर्दछ। भाषामा दख्खल नभएकाहरुले भने नेपाल वा अन्य युरोपियन देशको बिकल्प खोज्नु पर्ने बाध्यता छ।

स्पेनका १० हजार नेपालीलाई समस्या छ, दुताबास चाहियो
एकराज गिरी, स्पेन, (एनआरएनए, आईसीसी सदस्य)

स्पेन बिशेष त फुटबलको देशको रुपमा चिनिन्छ। कतिपयले स्पेनको नाम नसुने पनि रियल म्याड्रिड र बार्सिलोना फुटबल क्लब बारे मात्र सुनेका हुन्छन्। फेरि अन्तत: यसैको कारणले स्पेनलाई चिनेको पनि पाईन्छ।

युरोपियन अन्य मुलुकहरुमा अबसरको खोजी गर्ने तर अबस्था सामान्य नभए पछि स्पेनलाई गन्तब्य मान्ने गरिन्छ। कारण एउटै छ स्पेन सरकारको आप्रबासीहरुको लागि खुकुलो नीति। तिन बर्षमा यहाँ अबैधानिक रुपमा बसे पनि,सरकारले तोकेको सम्पूर्ण प्रकिया पुरा गरे पछि, रेसिडेन्सी कार्ड पाउँने हुँदा नेपालीहरु उपस्थिति बाक्लो रहेको पाईन्छ।Ek-Raj-GiriSpainअझ पेपर बने पछि, श्रीमान/श्रीमती वा १८ बर्ष मुनिका छोराछोरीलाई पनि यतै बोलाउँन सकिने हुँदा नेपालीहरु संख्या दिनानु दिन बढ्दो देखिन्छ। स्पेनमा कार्ड बनाउँन सजिलो छ भनीए पनि, त्यसका लागि लाग्ने खर्च वा आर्थिक भार भने पछिल्लो क्रममा बढेको देखिन्छ।

स्पेनमा करिब १० हजार नेपालीहरुको बसोबास रहँदै आएको अनुमान छ। यो बैधानिक रुपमा र अबैधानिक रुपमा रहँदै आएका नेपालीहरुको अनुमानित तथ्याङ्क हो। तर सन् २००० पछि पछिल्लो १६ बर्षमा नै नेपालीहरुको संख्या दिनानु दिन स्पेनमा बढ्दै छ। परिबार पुनर्मिलन पछि बालबच्चा र परिबार यतै हुने हुँदा नेपालीहरुको संख्यामा पनि बृद्दी हुँदै गएको हो। अहिले यहाँको मुख्य समस्या वा तड्कारो नै नेपाली राजदुताबास देखिएको छ।

फ्रान्स स्थित नेपाली दुताबासले स्पेनलाई हेर्दै आएको भए पनि करिब १० हजारको संख्यामा नेपालीहरु भए पछि स्पेनमा नै दुताबासको आबश्यकता देखिएको हो। राहदानी बनाउँन,परिबार पुनर्मिलन लगायत कागाजी प्रक्रियाहरुमा दुताबास नहुँदा समस्या देखिएको छ। यहाँको सरकारले कुटनितिक सम्बन्ध स्थापित गर्न ईच्छुक देखिए पनि, नेपाल सरकारको उदासिनताका कारण अहिले सम्म स्पेनमा दुताबास आउँन सकेको छैन।

स्पेनमा आएपछि सबैभन्दा ठूलो भाषाको चुनौती छ। चाहे भर्खर आएका बालबच्चाहरु हुन्, बा कार्ड बनाउँन अबैधानिक रुपमा आएका नेपालीहरु हुन्, बैधानिक रुपमा रहेका नेपालीहरु हुन्,वा भर्खर स्कुल कलेज छोडेर बाबु -आमा सँग आएका छोराछोरीहरु हुन् सबैलाई चुनौती भाषाको नै हो। चाहे उच्च शिक्षा अध्ययनका लागि होस् वा राम्रो कामका लागि किन नहोस् पहिलो प्राथमिकतामा भाषा नै आउँछ। तसर्थ भाषामा सुधार गर्न सके यहाँ पनि आर्थिक,शैक्षिक वा ब्यहबारीक रुपमा पनि सफल बन्न सकिन्छ।

डेनमार्क आउनुअघि सोच्नुहोला,बिद्यार्थीलाई कडाइ छ
प्रकाश ढकाल, डेनमार्क, (महासचिव, नेपाल पत्रकार महासंघ युरोप)

उत्तरी युरोपमा अवस्थित देश डेनमार्क युरोपियन युनियनको एक महत्वपूर्ण देश हो । नेपाल भन्दा झन्डै तीन गुणा सानो देशको जनसंख्या ५६ लाख जती रहेको छ । सन् २०१५ को सेप्टेम्बर सम्मको तथ्यांक अनुसार यहाँ करीब २ हजार ४ सय ७६ नेपाली रहेका छन् । नेपालीहरुको आगमन सन् १९६८ देखि भएको पाइन्छ तर त्यो पनि फाट्टफुट्ट ।

बिद्यार्थीको रुपमा यहाँ आउने क्रम भने सन् २००० पछि शुरु भएको देखिन्छ ।
पहिल्यै आउने नेपालीहरु राजधानी भन्दा बाहिर रहेकाले पुराना नेपालीहरुको यकीन तथ्यांक पाउँन गाह्रो छ ,त्यही पनि माथि उल्लेखित संख्या बिद्यार्थीहरू र स्थायी बसोबास पाउने नेपालीहरुको मात्र हो । यहींको नागरिक बनेर राहदानी लिनेहरु २५ देखि ३० को संख्यामा रहेको अनुमान गरिएको छ ।Prakash-DhakalDenmark

सन् २००२ मा करीब एक सय जना नेपालीहरु रहेकोमा सन् २०१० मा करीब ३ हजार ५ सयको संख्यासम्म पुगेको थियो भने धेरै जना डेनमार्कको नियम कानुन तथा कडा अध्यागमन नियमका कारण हाल घट्दो रुपमा नेपालीहरु रहेको तथ्यांकले देखाउँछ ।

यहाँ रहेका ९०% भन्दा बढी नेपालीहरु होटल तथा रेष्टुरेन्टमा काम गर्दछन ।व्यवसायमा बढी नै लगानी र विविध कानुनी अवरोध पार गर्नु पर्ने हुँदा थोरै मात्र नेपालीहरु बिस्तारै बिस्तारै आफनै व्यवसायमा छिर्न थालेका छन् । हाल सम्म नेपालीहरुको चार वटा रेष्टुरेन्ट र अन्य चार वटा विविध पसलहरु रहेका छन् । व्यवसायमा हात हाल्ने क्रम विस्तारै बढ्ने देखिन्छ ।

हाल डेनमार्कको नेपाली पुस्ता पहिलो पुस्ता नै रहेको र यो पुस्ताले सेटल हुनको लागि निकै संघर्ष गर्नु परिरहेको यहाँको अवस्था र सिनारियोले देखाउँछ । यहाँ भाषा स्थानिय डेनिस नै रहेको हुन्छ । डेनिसहरुले अंग्रेजी सबैले बुझ्ने गरे पनि सकेसम्म यहाँ अंग्रेजी बोल्न रुचाउँदैनन् । यहि कारणले राम्रो पढाइ सके पनि भाषाको दख्खलका कारण नेपालीहरु राम्रो जागिरमा छिर्न सकिरहेका छैनन् ।

तर पछिल्लो समय, भाषा स्कुल पढेर धेरै नेपालीहरुले अवसर खोजिरहेका छन्। यहाँ आउने धेरै बिद्यार्थीहरु ‘बिजनेस कलेज’मा हो, जहाँ व्यापार व्यवसाय सम्बन्धी पढाइ हुने गर्छ । यहाँ बिद्यार्थीहरुले हप्ताको २० घण्टा काम गर्न पाउँछन । सो काम गरेर पढाइ खर्च जुटाउन गाह्रो भएकोले बिद्यार्थीहरु डेनमार्क छोड्ने क्रम बढ्दो रहेको छ । पढाई खर्च निकै महँगो हुने फेरि काम र पढाईको बोझको कारण पनि बिद्यार्थीहरुलाई समस्या छ।

फ्रान्ससँग सयौं वर्ष पुरानो सम्बन्ध, नेपालले फाइदा लिन सकेन
हरीहर अर्याल, संस्थापक अध्यक्ष,एनआरएनए फ्रान्स (३६ बर्षदेखि फ्रान्स बसाइ)

विश्वशक्ति र बिकासको हिसाबले फ्रान्स शक्तिशाली राष्ट्र हो। संयुक्त राष्ट्र संघमा यसको भिटो शक्ति मात्र नभई राष्ट्र संघमा प्रयोग हुने ६ भाषामध्ये फ्रेञ्च पनि एक हो। बिश्वका बिभिन्न ५५ देशहरुमा फेञ्च भाषा प्रयोग हुन्छ। संयुक्त राष्ट्र संघको बिभिन्न निकायहरुमध्ये युनेस्कोको प्रधान कार्यालय पनि पेरिसमा नै रहेको छ। बिश्वमा झन्डै २०० देशहरुले फ्रान्ससँग कुटनीतिक सम्बन्ध कायम गरेका छन्।

फ्रान्स र नेपालको सम्बन्ध सन् १७९० देखि नै केहि मात्रामा भएको देखिन्छ। श्री ५ पृथ्बी नारायण शाहको समयमा केहि सैनिकहरु कलकत्ता हुँदै गोरखा पुगेर हात हतियार बनाउँन तालिम दिएको पनि अभिलेख पाईन्छ। राणा प्रधानमन्त्रीले सन् १८५० मा अगष्ट २ देखि अक्टोबर १० सम्म फ्रान्सको भ्रमण गरेको र यही प्रभाबबाट, ठुला ठुला भबनहरु फ्रेन्च कालिगढ कै नक्कल गरेर निर्माण गराएको भन्ने पनि ईतिहासमा पढ्न पाईन्छ।Harihar-AryalFranceसन् १९५० मा फ्रेञ्च नागरिक मोरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरे पछि फेञ्च जनस्तरमा नेपालको ठुलो परिचय हुने सौभाग्य जुटेको थियो। सन् १९५८ र १९६० मा राजा महेन्द्रले फ्रान्सको ब्यक्तिगत भ्रमण र १९६६ मा राजकिय भ्रमण गरेका थिए। यिनै भ्रमणहरु कै फलस्वरूप २४ अप्रिल सन् १९६७ मा नेपालमा फ्रान्सको आबासीय दुताबास र जुन महिनामा पेरिसमा नेपालको आवासीय दुताबास स्थापना भई दुई देश बीच कुटनितिक सम्बन्ध प्रगाढ भएको पाईन्छ।

यस पछि सन् १९८१ र १९८९ मा राजा बिरेन्द्रले फ्रान्सको व्यक्तिगत र सन् १९९४ मा राजकीय भ्रमण गरेका थिए भने फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले सन् १९८१ मा नेपालको डेढ दिने राजकिय भ्रमण गरेका थिए। फ्रान्स जस्तो सम्पन्न शिल र शक्तिशाली देशसँग झन्डै २ सय ५० बर्ष देखिको ऎतिहासिक सम्बन्ध र पचासौ बर्ष देखि प्रत्यक्ष कुटनितिक सम्बन्ध भएर पनि नेपाल सरकारले बिकास निर्माणको काममा होस् वा अन्य कुनै काममा पनि केहि उपलब्धि हासिल गर्न नसकेको देखिन्छ।

फ्रान्समा नेपालीहरु पहिले र अहिले

फ्रान्समा नेपालीहरु कहिलेदेखि आए र कति आए भन्ने अभिलेख प्राप्त नभए पनि सन् १९६० को दशकमा ४-५ जना नेपाली थिए भन्ने सुन्ने गरिन्छ। सन् १९८०/८१ ताका झन्डै १ सय ५० जना जति नेपाली छन् भन्ने गरिथ्यो। हाल आएर यो संख्या झन्डै ४ हजारको हाराहारीमा पुगेको अनुमान गरिन्छ। बिभिन्न बाहानामा नेपालबाट आउँने र युरोपका देशबाट सजिलै अर्को देशमा स्थानान्तरण हुने हुँदा पनि फ्रान्स आउने को संख्या दिनानु दिन बढेको पाईन्छ।

सन् १९६० को दशक देखि हालसम्म नेपाल जाने पर्बतारोही र प्रर्यटकहरुले ल्याएकाहरु, फ्रेन्ससँग बैबाहिक सम्वन्धले आएकाहरु,नेपाली दुताबासमा काम गरेर यतै बसेकाहरु,सन् १९८० देखि एकाध बिद्यार्थीहरु नै फ्रान्समा नेपालीहरुको आगामनको बाटो थियो। झन्डै सन् २००० देखि फ्रेन्च कल्चरल सेन्टरले दिएको बिद्यार्थी छात्रबृत्ती र आईटी, इञ्जिनियरिङ् र कम्युनिकेसनमा छात्रबृत्ती पाएर आएका मास्टर-पिएचडी गर्नेहरु,आफ्नै खर्चमा पढ्न आएका एकाध बिद्यार्थीहरु,ओपेयर पद्दतीमा आएकाहरु र बेलायत छोडेर आएका बिद्यार्थीहरु नै, सामान्यता फ्रान्सका हाल बस्दै आएका नेपालीहरु हुन्।

- बसन्त रानाभाट
– बसन्त रानाभाट

सन् १९६०/७० को दशकमा नेपालबाट आएका नेपालीहरुको फ्रान्समा तेस्रो पुस्ताको जन्म भईसकेको छ। पहिलो पुस्ताका नेपालीहरु धेरैले नेपाली नागरिकता कायम गरेको पाईन्छ। भने यही आएर पढेका र यही जन्मेकाहरुले भने फ्रेञ्च नागरिकता लिएको बुझिन्छ। दोस्रो वा तेस्रो पुस्ताका नेपालीहरु पढ्नमा जेहेन्दार देखिन्छन् र यिनीहरुको भविष्य अति उज्ज्वल देखिन्छ। फ्रेञ्च भाषा कठीन भएको कारण,पहिलो पुस्ताका नेपालीहरुलाई, यो भाषा बारे अध्ययन नहुने हुँदा ठुलो कठिनाई छ।

नेपालीहरुले के गर्छन् काम ?

यहाँ झन्डै दुई दर्जन नेपाली रेष्टुरा संचालनमा छन्। ८- १० बर्ष यता देखि फ्रान्सको बैदेशिक सेना फोर्स, (फ्रेन्च फरेन लिजनमा) नेपाली युवाहरुको लागि उदयमान पेशा देखिएको छ। सन् १९९० को बरपर २ – ४ जना संलग्न भएको यो सेनामा हाल झन्डै ३ सय नेपाली युबाहरु संलग्न छन्।

शारीरिक तन्दुरुस्ती भएका शाहसी युवाहरु छनोट भएमा ५ बर्ष सम्म सेवा छोड्न पाईदैन,५ बर्ष पुरा गरे पछि स्थायी बसोबास वा फ्रेञ्च नागरिकता लिई बाहिरी जनजीवन बिताई फ्रान्समा बस्न काम गर्न पाईने प्रावधान छ।बहुसंख्यक नेपालीहरु सेबा सम्बन्धी बालबच्चा,बृद्दको स्याहार गर्ने,रेष्टुरामा,घरायसी सरसफाईकै पेशामा संलग्न छन्।

थोरै मात्र नेपालीहरु सरकारी वा संस्थानमा काम गरेको पाईन्छ। केहि साहासी नेपालीहरुले आफ्नै स्वामित्वमा प्लाम्वरी,रंगरोगन,बिजुलीको कम्पनी संचालन गरेको पाईन्छ भने नगन्य मात्रामा नेपाली ह्याण्डीक्रापट – नेपाली पोशाकको पसल तथा ब्युटी पार्लर संचालन गरेको पनि देखिन्छ।