प्रदेशबाट देश सम्झिदाँ


– शालिक राम डुम्रे

देशमा नब्बे प्रतिशत भन्दा बढी जनताहरु कृषीमा निर्भर छ । हाम्रा पुर्खाले कोरीदिएका साँध सीमाना भित्रको सैयो रोपनी ती पाखोबारीहरु उजाडिएका छन् । स्याहार सम्भार र मलजलको अभावमा सारा बरबगैचा तथा रुख विरुवाहरु मृत अवस्थामा छ । विदेशमा आर्जेको थोरै धन भए पनि शहरको घर घडेरी र विलासितामा खन्याउनु भन्दा त्यही बाजेको नासोमा छरेर आफ्नो लागि छिमेकीको लागि र थोरै भए पनि समाजकॊ लागि योगदान दिन सके कस्तो हुन्थ्यो होला ?

गाउँबासीहरु सबै शहरमुखी भए । सरकारी योजनाहरु पनि सबै शहर केन्द्रित भए ।घुम्ने कुर्ची माथि बसेर गरेको मात्र काम र युरो , डलर , पाउण्ड र येन मात्र पैसा हो भन्ने सँस्कारको विकास हुँदै गएको छ । नागरिक चेतनशिल नभएसम्म देशलाई पैसै पैसाले पुरे पनि देश बन्दैन । प्राविधिक शिक्षालयका अवधारणाहरु विकाश क्षेत्रमामात्र सिमित नगराइ प्रत्येक गाउँगाउँमा सरकारले खोली दिएर हरेक घरघरमा एउटा प्राविधिक जन्माइ दिए देश र समाज कस्तो हुन्थ्यो होला ।

हामी परदेशी बनेका हरेक नागरिकले पनि देश प्रदेश घुम्दाको सीप अनुभव र चेतनालाई छिमेकी र समाजमा कोशेलीको रुपमा भित्राउदै एउटा चेतनशिल समाजको स्थापना गर्न पाए देश कस्तो हुन्थ्यो होला ? हुन त हामी विदेशिएका नेपालीहरुको पीर र ब्यथाको कथा पनि कम मार्मिक छैन ।

सवैको आ-आफ्नै पीडा छ । बल र उमेर छदै आफ्नो लागि केही धनको जोह गर्न सकिएन भने भोली देशले मेरो नागरिक भोकै भयो भनेर खान लाउन दिने अवस्था छैन । जन्म दिएका छोराछोरीको लागि निभाउनु पर्ने जिम्मेवारी बेग्लै छ । मातृभूमि प्रतिको माया र सम्झनाको साक्षी त विदेशीएका हरेक नागरिकहरुको मजबुरी र समर्पणले देखाउँछ । देशलाई यो अवस्थामा पुर्याउँनमा नेता तथा कर्मचारीको भूमिका छुट्टै होला तर राष्ट्र प्रति योगदान र कर्तब्यको सवालमा हामी नागरिकको जिम्मेवारी पनि नेता तथा कर्मचारीको भन्दा कम छैन ।

जन्म भूमिको माया मनभरी भएपनि देश र समाजको परिस्थिती वा बाध्यताले गर्दा सेवा र समर्पणको भावना मन भित्र नै गुम्साएर राखेका छन् । स्वदेशमा बसेका नागरिकहरु विदेश जाने ध्याउन्नमै मस्त छन । विदेश पुगिसकेका नागरिकहरु कसरी विदेशमै घरजम गरिखाने हो भनेर तानाबाना बुन्न मै ब्यस्त छन् ।

बन्द परिधी भित्रको कोलाहलमा आफुलाई समर्पित गर्दै गर्दा हिजो आज किन हो यस्तै राष्ट्रिय एवं देशभक्ति भावनामा तरङ्गित हुदै छचल्किन खोज्छन । के साच्चै नै हामी सारा विदेसिएका नेपालीहरुले राष्ट्रको लागि केही गर्नलाई मातृभूमि नै फर्किए भने पनि के यो सम्भव होला त ? मातृभूमिकै लागि त्याग बलिदान र योगदान गर्नुपर्छ भन्ने सोच र भावना त मानवीय सम्वेदनाकै सबै भन्दा सुन्दर पक्ष हो । देशको लागि समर्पण गर्न खोज्ने र गरिरहेका राष्ट्रका सैयौ सम्मानिन नागरिकहरुको योगदान र विचारलाई आत्मसाथ गर्ने हो ।

यो विदेशीको न्यास्रो लाग्दो जीवनलाई सदाका लाई छोडेर तुरन्तै मातृभूमिको काखमा समर्पण गर्ने भावनाको वेग उर्लिएर आउछ तर यो जन्मभूमिमै केही गरौ भन्ने देशभक्तिको भावना आफु भित्र हुँदा हुँदै पनि एक किसिमको असुरक्षा महसुश हुने गर्दछ । हाम्रो जस्तो काम र धन दौलतको आधारमा नागरिकहरुको वर्गिकरण हुने नेपाली समाजमा हामी जस्ता मध्ययम वर्गको नागरिकहरुको लागि त सामाजिक जीबन प्रणालीको संरचना नै बडो रहस्यमयात्मक भएको पाए । धेरै मध्यम वर्गीय नागरिकहरुको जीवन प्रणाली तहस नहस भ्रएको छ । सम्पन्न बर्गको त जीवन नै बेल्लै छ । उनीहरुसँग धन दौलत छ जसरी बाँचे पनि भयो ।

धन र इज्जतलाई एकै सिक्काका दुइओटा पाटाको रुपमा मान्यता प्रतिस्थापन गरेको छ हाम्रो नेपाली समाजले । सम्पन्न बर्ग सँग धन छ इज्जत छ र जीवन पनि छ । तर हामी मध्ययम बर्गकाहरु काम पनि छैन धन पनि छैन अलि अलि भएको इज्जत हो त्यो पनि आफ्नो सामाजिक हैसियत बनाउन सँघर्ष गर्दा गर्दै कुन बेला धूलो बन्छ पत्तै हुँदैन । हामी धेरै मध्ययम वर्गीय नेपालीहरुझै मैले मातृभूमिमा गरेको परिश्रम र संघर्षको असफल परिणामले स्वीकारेको तितो यथार्तता हो । यस्तै समस्या र परिस्थीतीलाई आत्मसाथ गर्दै बिदेशमा भौतारिरहेको अहिले आम नेपालीहरुको कथा र व्यथा हो ।

नेपालमा नै केही गरौ भन्ने भावना संचार माध्यमले सम्पुर्ण नेपाली बीचमा पुर्याउँन सक्यो भने अवश्य सम्पन्न नेपालको अवधारणा आगाडी लैजान महत्वपुर्ण भूमिका खेल्न सक्छ भन्ने कुरामा दुई मत नहोला भन्न सकिदैंन ।

बिदेशमा रहेका नेपालीलाई देश प्रतिको चिन्ता र देश लाई दिगो शान्तिमा पुराउनका नीम्ति जुन पहल यस संचार माध्यमले गर्ने जमर्को गरेको छ यो अत्यन्त सम्मान जनक तथा उदारणीय रहेको छ । स्वदेश बाट बिदेशमा रहेका सम्पुर्णलाई नेपालीपनको आभास दिने ,आफ्नो ठाउँको जानकारी दिने जुन प्रयास छ , सम्पूर्ण विदेशवाट प्रकाशित पत्र पत्रिका तथा अनलाईन मिडियाहरुको पनि प्रमुख स्थान छ।

– डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष हुन्।