साईप्रसमा कुटाई खाएका, नेपालीको स्वास्थ्य अबस्था सामान्य


बार्सिलोना / साईप्रसमा मरणासन्य हुने गरी कुटिएका ३० बर्षिय कृष्ण बहादुर घतानेको स्वास्थ्य अबस्था सामान्य हुँदै गएको छ। रोजगारीको शिलशिलामा ४ महिना अघि मात्र, घरेलु कामका लागि साईप्रस आएको बताउँने घताने हाल अस्पतालबाट डिस्चार्ज भएका छन्।

मकवानपुर जिल्ला स्थायी घर भएका घतानेलाई करिब डेढ महिना अघि, साईप्रस कै एक २५ बर्षिय युवाले पछाडीबाट कुटेर घाईते बनाएका थिए। पिटाई खाए पछि गंम्भिर घाईते बनेका घतानेलाई स्थानीय अस्पतालको आकस्मिक कक्षमा राखी उपाचार गरिएको थियो।

पिडित घतानेले नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै भने,”अस्पतालले डिस्चार्ज गरेको १५ दिन जति भयो,अहिले आराम गरिरहेको छु। मुख र घाँटीमा चोट लागेको थियो,हप्ता दिन जति मलाई होस नै आएन,अहिले निको भएको छ।” पिडित घतानेले टाउकोको एक्सरे गर्न अझै बाँकी नै रहेको बताएका छन्।

घटना बारे जानकारी लिन खोज्दा उनले आफ्नो कुनै गल्ती नभएको र सिधै आएर आँफुलाई पिटेको गुनासो पोखे। समाचार पढे पछि घर परिबार आत्तिएको बताउँदै अहिले भने परिबारसँग पनि सम्पर्क भई रहेको र आँफन्तलाई समेत ढुक्क रहन अनुरोध गरेका छन्।

साईप्रसमा नेपाली महिलाहरुले घरमा काम गर्दा बिभिन्न किसिमका हिँसाका घटनाहरु सार्बजनिक हुँदै आए पनि पुरुषलाई सार्बजनिक स्थलमा नै कुटपिट गरेका घटनाहरु भने यस अघि बाहिर आएका थिएनन्।

गत जुलाईमा पनि घरेलु कामका लागि साईप्रस आएकी ४० बर्षिय नेपाली महिला सीता भट्टराईलाई एसिड प्रहार गरेको घटना सार्बजनिक भएको थियो। देवदह -४ रुपन्देही स्थायी घर बताउँने सीता भट्टराईले घर मालिकले एसिड प्रहार गरेको २५ दिन पछि मात्र खुलासा गर्दै प्रहरीमा उजुरी गरेकी थिईन्।