फिफा बेलन डि’अर,मेसी कि रोनाल्डो ?


फुटबल खेलाडीको निम्ति सबभन्दा प्रतिष्ठित् सम्मान हो, फिफा बेलन डि’अर । यो अवार्ड हात पार्ने हरेक फुटबलरको सपना हुन्छ । तर, बर्षेनी एकै खेलाडीले मात्र फिफा बेलन डि’अर पाउने गर्छ । सन् २०१५ को अवार्ड दिने बेला पनि आइसकेको छ । स्वीटजरल्यान्डको ज्युरिचमा एक भव्य समारोहवीच फिफा बेलन डि’अर २०१५ विजेताको घोषणा आज सोमबार बेलुका हुदैछ ।

२१ नोभेम्बर, २०१४ देखि २० नोभेम्बर, २०१५ सम्म गरिएको प्रदर्शनको आधारमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेयमर फिफा बेलन डि’अर २०१५ को अन्तिम सूचिमा परेका छन् । अब उनीहरुमध्ये एकलाई बर्ष २०१५ को विश्वकै सर्बोत्कृष्ट खेलाडी घोषणा गर्दै गोल्डेन बल दिइनेछ ।

यो अवार्ड कसले जित्ला त ? जावाफको लागि पछिल्लो बर्ष उनीहरुले गरेको प्रदर्शनको मूल्यांकन गर्नुपर्ने हुन्छ । मेसी अर्जेन्टिना, रोनाल्डो पोर्चुगल र नेयमर ब्राजिलको राष्ट्रिय फुटबल टिमका कप्तान हुन् । मेसी र नेयमर एउटै क्लब (स्ेपनको बार्सिलोना) बाट खेल्छन् भने रोनाल्डो स्पेनकै अर्को क्लब रियल म्याड्रिडका सुपस्टार हुन् । उनीहरुले आ–आफ्ना देश र क्लबका लागि २०१५ मा गरिएको प्रदर्शनलाई हेरौं :

मेसीको नेतृत्वमा अर्जेन्टिना दक्षिण अमेरिकी महादेसीय प्रतियोगिता कोपा अमेरिकामा च्याम्पियन त बन्न सकेन तर फाइनलमा भने पुगेको थियो । त्यसमा नेयमर नेतृत्वको ब्राजिल क्वाटरफाइन्लभन्दा माथि उक्लिएन र उनी आफै खराब व्यवहारका कारण चार खेलको प्रतिबन्धमा पनि परे । रोनाल्डोको नेतृत्वमा पोर्चुगल युरो २०१६ लाई छनोट भयो ।

क्लब फुटबलमा मेसी र नेयमरको टिम बार्सिलोनाले स्पेनी ला लिगा, कोपा डेल रे, युरोपियन च्याम्पियन्स लिग, युईएफए सुपरकप, फिफा क्लब विश्वकप गरी ५ उपाधि जित्यो । क्लब विश्वकप आयोजनाकयो मिति भने अवार्डको भोटिङमा पर्दैन । उसले स्पेनी सुपरकपको ट्रफि मात्र कब्जा गर्न सकेन । बार्सिलोनाको चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडले भने २०१४–१५ को सिजन कुनैपनि उपाधि जितेन ।

अब आयो व्यक्तिगत प्रदर्शनको कुरा, यसमा गोलको गणना गर्ने हो भने सबभन्दा अगाडि छन्, रोनाल्डो । विश्वकै सबभन्दा ‘मार्केटेबल स्पोर्ट्स पर्सनालिटी’ भएका रोनाल्डो गएको सिजन ६१ गोल गरे । मेसीले ५८ र नेयमरले ३९ । पूरा वर्ष २०१५ को तथ्यांकमा भने यी तीनको गोलमा खासै अन्तर छैन । रोनाल्डोले ४५, मेसीले ४४ र नेयमरले ४१ गोल गरे । चोटको कारण मेसी दुई महिना मैदानबारि छंदा नेयमर बार्सिलोनाको मुख्य खेलाडी भएका थिए ।

रियल र पोर्चुगल रोनाल्डोमा केन्द्रित टिम हो । बार्सिलोनाका सुपरस्टार मेसी नै हुन् । त्यसैले बर्ष खेलाडीको अवार्डमा यसपल्टका बर्ष खेलाडीका मुख्य दाबेदार रोनाल्डो र मेसी नै हुन् । अवार्डमा नेयमर पहिलोपल्ट शीर्ष तीनको मनोनयनमा यसैपाली परेका हुन् । मेसी भने २००७ यता छुटेका छैनन् । रोनालडो आठ वर्षयता २०१० को अन्तिम तीनमा मात्र थिएनन् ।

मेसीले कीर्तिमान चारपल्ट गोल्डेन बल चुमेका छन् । त्यसपछि रोनाल्डो (तीनपल्टको विजेता) छन् । यसपल्ट बर्षखेलाडी चुनिए रोनाल्डोले मेसीको कीर्तिमान बराबरी गर्नेछन् । यी दुईवीच गोल र ट्रफिमा को अगाडि भन्ने अघोषित् प्रतिस्पर्धा चलिरहेको छ । यी त तथ्यांकले प्रष्ट पार्छ तर दुईमध्ये को उत्कृष्ट फुटबलर हुन् भन्नेमा चाहि चित्तबुझ्दो जवाफ छैन ।

फिफाका सदस्य देशका राष्ट्रिय टिमका कप्तान, मुख्य प्रशिक्षक र पत्रकारले बर्ष खेलाडीको चयनको लागि भोटिङ गर्न पाउँछन् । नेपालबाट कप्तानको रुपमा अनिल गुरुङ, मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्स र पत्रकारबाट राजु घिसिङले भोट दिइसकेका छन् । मेसी यसपल्ट बर्षको सर्बोत्कृष्ट गोल ‘पुस्कास अवार्ड’को मनोनयनमा पनि छन् र खुला रुपमा गरिएको अनलाइन भोटिङ निर्णायक हुन्छ ।

महिला फुटबल खेलाडीतर्फको बेलन डि’अर विजेताको घोषणा पनि ज्युरिचको त्यही समारोहमा हुदैछ । यसमा अमेरिकी कार्ली लोयड, जापानकी आया नियामा र जर्मन सेलिया सासिच मनोनयनमा परेका छन् । महिला र पुरुषमा बर्षका सर्बोत्कृष्ट प्रशिक्षकको अवार्ड पनि दिइदैछ । पोजिसनअनुसार उत्कृष्ट खेलाडीलाई लिएर बर्ष २०१५ को टिम पनि घोषणा हुनेछ भन्दै ई-कान्तिपुरले विश्लेषणात्मक समाचार छापेको छ।