जिदान बने रियल म्याड्रिडका नयाँ प्रशिक्षक


जिनेदिन जिदानलाई नयाँ प्रशिक्षकको जिम्मेबारी

म्याड्रिड/ अन्तत: रियल म्याड्रिडको व्यवस्थापनले मुख्य प्रशिक्षक राफेल बेनेटिजलाई सोमबार बर्खास्त गर्दै जिनेदिन जिदानलाई नियुक्त गरेको छ । सिजनमा रियलले खराब प्रदर्शन गरे पछि बेनेटिजलाईले पद सम्हालेको ७ महिनामा नै बर्खास्त गरेको हो।रियलका प्रमुख फ्लोरेन्टिनो पिरेजले पत्रकार सम्मेलन गर्दै बेनेटिजलाई बर्खास्त गरेको घोषणा गरेका हुन्।

उनको ठाउँमा रियलले आफ्नो बि टिमका म्यानेजर तथा फ्रान्सका पुर्ब राष्ट्रिय टोलीका खेलाडी जिनेदिन जिदानलाई नयाँ प्रशिक्षकको जिम्मेबारी दिएको हो। जिदान मात्र अहिले ४३ बर्षका भए। सानो उमेरमा नै बिश्वको सबैभन्दा धनी क्लबलाई सम्हाल्ने मौका पाएका छन्। ३९ बर्षिय सान्टीयागो सोलारीलाई रियलले सहायक प्रशिक्षकमा नियुक्ति गरेको छ।

बेनेटिजको कमजोरीका कारण रियल कोपा डे रेबाट पनि बाहिरिएको थियो। यस्तै लिगामा पनि रियलले राम्रो प्रदर्शन गर्न सकेको छैन भने एल क्लासिकोमा घरेलु मैदानमा नै ०-४ को लज्जास्पद हार ब्यहोरेको थियो। बेनेटिज पछिल्लो १० वर्षमा रियलका आठौँ प्रशिक्षक बनेका थिए। गत सिजन कुनै पनि महत्त्वपूर्ण उपाधि दिलाउन असफल इटालियन प्रशिक्षक कार्लाे एन्सेलोटीलाई रियलले बर्खास्त गर्दै उनलाई स्वागत गरेको थियो।