पोखरा चाउथेमा निसासिएर, एकै घरका चारको मृत्यु


सन्देश श्रेष्ठ
पोखरा । पोखराको चाउथेमा निसासिएर चार जनाको ज्यान गएको छ । मंगलबार राति सुतेको अवस्थामा घरको फ्ल्याटमा आगो लाग्दा पोखरा १४ चाउथेस्थित प्रगतिटोलमा गुम्सिएर एकै परिवारका तीन सहित ४ जनाको ज्यान गएको हो । माथिल्लो फ्ल्याटमा बसेका सबैको मृत्यु भएपनि तल्लो फ्ल्याटका सबै सकुशल रहेका छन् ।

मृत्यु हुनेमा ३६ वषिर्या सिता रानामगर, उनका १२ वषिर्य छोरा हेमन्त राना, ७५ वषिर्या आमा गंगाकुमारी थाला मगर र सिताकी दिदीकी छोरी वसन्ती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बजुसिद्धी बज्राचार्यले जानकारी दिए । सिताका श्रीमान बैदेशिक रोजगारीका शिलशिलामा इजरायल रहेको बताईएको छ ।

घटना रातिकै भएपनि स्थानीयले विहान मात्रै थाहा पाएका थिए । विहान अबेरसम्म पनि परिवारका कोहिपनि नउठेपछि स्थानीयले फ्ल्याटमा हेर्दा झ्याल र सिसाहरुमा कालो धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ढोका फोडेर हेर्दा उनीहरुको मृत्यू भइसकेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

महिला तीनै जनाको शव ओछ्यानमा सुतेकै अवस्थामा भेटिएको र बालक हेमन्तको ढोका खोलेर बाहिर निस्केको अवस्थामा शव भेटिएको डिएसपी बज्राचार्यले बताए । निसासिएका बालक जेनेतेन बाहिर निस्केपनि फ्ल्याट पूरै गुम्म भएकाले उनको पनि मृत्यू भएको प्रहरीको अनुमान छ ।

कोठामा ईलेक्टि्रक सर्ट वा मैनवत्ति बालेर सुत्दा सोफा जलेर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागिका कारण सोफाहरु जलेका छन् । मृतक भने नजलेको प्रहरीले बताएको छ । घट्नाको थप अनुसन्धान भइरहेको र चिकित्सकलाई समेत घट्नास्थलमै लगेर पोष्टमार्टम भइरहेको प्रहरीले जानकारी दिएको छ ।