१० वर्षपछि, फेरि गुञ्जिए कर्ण दास


सन्देश श्रेष्ठ/ पोखरा । जाडाले चिसिएर कक्रक्क परेको पोखरालाई कर्णदासले शनिबार बेलुकी सांगीतिक प्रस्तुतिमार्फत केहिबर मज्जाले तताए । १० वर्षपछि गायनमा फर्किएका यी स्थानीय गायकलाई पोखेरेलीहरुले न्यानो स्वागत पनि गरे ।

लायन्स क्लव अफ आदर्श चौतारीको आयोजनामा शनिबार पोखरा सभागृहमा गुञ्जिएका थिए कर्ण दास । उनले आफ्ना नयाँ-पुराना गीतहरु सुनाउँदै यतिका समयसम्म सक्रिय संगीतिक जीवनबाट टाढा रहे पनि आफ्नो गायन नमरेको प्रमाण दिए ।

कर्णदासले आफ्नो गायन देशभक्तिले भरिपूर्ण गीतबाट शुरु गरे । ‘ठूला-ठूला महल हैन, सिप सिकाउने झुपडी देऊ……’ भन्ने चर्चित गीतमार्फत उनले सुरुमै कार्यक्रमको माहोल गम्भीर बनाइदिए । पहिलो गीत गाउने क्रममा उनले आफ्नो विदेश यात्रालाई सम्झे । उनले भने, ‘मान्छे जिविकोपार्जनका लागि उपाय खोज्दै दुर देश पुग्छ, तर केही समयको अन्तरालमा उ आफ्नो घर अवश्य फर्कन्छ । हो म आज आफ्नो घर फर्केको छु ।’10333562_917718468311739_837700735312251329_o

उनले देशको समसामयिक परिस्थिति, आन्दोलन र नाकाबन्दीका बारेमा समेत आफ्ना भनाई राख्न भ्याए । दोश्रो गीत गाउनुअघी कर्णदासले आमालाई नमन गरे । आमा नै सबथोक हो भन्दै उनले गाए, ‘मन्दिर पनि होइन, भगवान पनि होईन, आमा भन्दा ठूलो मेरो कोही छैन…..।’

गीत सुनाउने क्रममा उनले आफ्नो अतितको एकतर्फी प्रेमलाई पनि सम्झे अनि गुनगुनाए ‘मनमनै मन पराई सकेछु….।’ उनको यो गीतलाई वान्समोरको बाढी नै आयो । प्रेमलाई थप मलजल गर्दै कर्णदासले अर्को गीत गाए । ‘यो प्रेमको बलिदान म कसरी भुल्न सक्छु…।’ उनले स्वर्गिय सुन्दर थापालाई पनि सम्झिए । थापाको रचना उनीप्रति नै अर्पण गर्दै गाए, ‘पुरानो डुङ्गा, पानीको छाल……।’10604423_917716961645223_4200254435348867329_oदेशमा शान्ति हराउँदै गएकोप्रति गायक कर्ण दास निकै चिन्तित देखिए । उनले शान्ति कायम राख्न आग्रह गर्दै ‘शान्ति तिमी फर्की आऊ…..’ गीत सुनाए । अन्तिममा आफ्नो पहिलो गीत गाए उनले । ‘जिन्दगीको के भरोसा….’ सुनाएर उनले कार्यक्रमको विट मारेका थिए । करीब डेढ घण्टा लामो प्रस्तुतीका क्रममा कर्णदासले डेढ दर्जन गीत सुनाए । उनलाई वाद्यवादनमा आफ्नै पुरानो मध्याहृन व्याण्डका सदस्यले साथ दिए भने गायिका रुवी गौली र रजनी राईले महिला स्वरमा साथ दिएका थिए ।

कर्णदासले प्रस्तुती शुरु गर्दा पारिलो घाम छाडेर हलभित्र छिरेका दर्शकहरुलाई बाहिर निस्कँदा मुटु कँपाउने चिसोले स्वागत गरिरहेको थियो । बैशाखमा गएको विनाशकारी भुकम्पले क्षतिग्रस्त विद्यालय पुर्ननिर्माण र त्यसबाट प्रभावित वालवालिकाको अध्ययनमा सघाउने उद्देश्यले लायन्स क्लव अफ पोखरा आदर्श चौतारीको आयोजनामा ‘१० वर्षपछि कर्ण दास’ एकल साँझ कार्यक्रम गरिएको हो । कार्यक्रममा कर्ण दासले निःशुल्क प्रस्तुती दिएको आयोजकले जनाएको छ ।

तस्बिर साभार : ठिकठाक डटकम