१० वर्ष पछि ‘कर्ण दास’ एकल साँझ


– सन्देश श्रेष्ठ
पोखरा /  नेपाली गायन क्षेत्रका चर्चित गायक कर्णदास पोखरामा १० वर्षपछि गुञ्जिने भएका छन् । १० वर्ष अमेरिकामा बसेर फर्केका कर्णदास लायन्स क्लव अफ पोखरा आदर्श चौतारीको आयोजनामा पुस ११ गते हुने ‘१० वर्ष पछि कर्ण दास’ एकल साँझमा गुञ्जिन लागेका हुन् ।

आयोजक लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी पुष ११ गते शनिबार दिउँसो ३ बजेबाट कार्यक्रम शुरु हुने जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष बासुदेव कोइरालाले कार्यक्रममा गायक कर्णदासले आफ्ना नयाँ तथा पुराना गरेर करीब डेढ दर्जन गीत प्रस्तुत गर्ने बताए । उनले राहत कोष निर्माण गरेर भुकम्प पीडितको सहयोगार्थ खर्चिने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागेको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा उपस्थित गायक कर्ण दासले आफूले कार्यक्रममा पुराना गीतहरु जिन्दगीको के भरोसा, ठूला ठूला महल होइन, पुराना डुङ्गासहित नयाँ गीतहरु गाउने तयारी गरेको बताए । विषम राजनीतिक परिस्थिति, भुकम्प र नाकाबन्दीका बाबजुद पनि जिन्दगीलाई अगाडी बढाउनुको विकल्प नभएको बताउँदै उनले सबलाई भुलेर दैनिकी अगाडी बढाउनु आवश्यक रहेकाले संगीतको माध्यमबाट सहयोग गर्न आफूले निःशुल्क गाउने बताए ।

उनले भुकम्पबाट थलिएको र नाकाबन्दीबाट आहत मनलाई संगीतको माध्यमबाट राहत स्वरुप मनोरञ्जन दिलाउने प्रयासमा आफू रहेको बताए ।जिङ्ग भोड्काको मूख्य प्रायोजनमा हुने कार्यक्रमका लागि १ हजार र ५ सयको टिकटको व्यवस्था रहेको कार्यक्रम संयोजक शिव नेपालीले जानकारी दिए ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउँदै प्रेस संयोजक सुशील कोइरालाले कार्यक्रमलाई भव्य बनाउन आफूहरु लागिपरेको बताए । कार्यक्रमबाट १७ लाख ५० हजार संकलन गरी १२ लाख ५५ हजार खर्चेर ४ लाख ९५ हजार बचत गर्ने लक्ष्य राखिएको छ ।