उजेलीलाई थ्रि एन्जल्सको सहयोग


पोखरा / कमजोर आर्थिक अवस्था तथा बैसाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित भएकी उजेली दमाई परियारलाई थ्रि एन्जल्स नेपालले ५० हजार रुपैँया नगद सहयोग प्रदान गरेको छ । कास्कीको लाहाचोक गाविस वडा नं ७ की परियारलाई आज लाहाचोकमा आयोजित एक कार्यक्रममा उक्त सहयोग गरिएको थ्रि एन्जल्स नेपालको केन्द्रिय कार्यालयले जनाएको छ ।

कमजोर आर्थिक अवस्था भएकी परियारको घरसमेत भुकम्पले भत्काएपछि उनको अवस्था झन् दयनीय बनेको स्थानीयले जानकारी गराएपछि संस्थाले सहयोग गरेको थ्रि एन्जल्स नेपालका सदस्य एवं थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

लाहाचोक साना किसान कृषि सहकारी संस्थाको तेश्रो वर्षिक साधारण सभा तथा प्रथम अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा थ्रि एन्जल्स नेपालका बालबालिका प्रमुख भीम पौडेलले सहकारीका अध्यक्ष कमला पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक हस्तान्तरण पछि बोल्दै पौडेलले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको थ्रि एन्जल्स नेपालले गरेको सहयोगले उजेलीको जीवनमा केही भएपनि सुधार आउने अपेक्षा व्यक्त गर्नुभयो । सो अवसरमा बोल्ने अन्य वक्ताहरुले पनि थ्रि एन्जल्सले गरेको सहयोगको खुलेर प्रशंसा गर्नुभएको थियो ।