कास्की सेवा समाज स्पेनले जनवरी २५मा पहिलो अधिबेशन गर्ने


स्पेन/ कास्की स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले सामाजिक भावाना सहित गठन भएको कास्की सेवा समाज स्पेनले पहिलो अधिबेशन गर्ने भएको छ। तदर्थ समिति गठन भएको एक बर्ष भित्र अधिबेशन गर्नु पर्ने बिधान अनुसार आगामी जनवरी २५ तारिक सोमबार पहिलो अधिबेशन गर्ने भएको हो। अधिबेशन सम्पन्न गर्नको लागि समाजका अध्यक्ष दिल नाथ भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय मूल आयोजक समिति गठन भएको छ।

गत सोमबार बार्सिलोनामा बसेको नियमित बैठकले अधिबेशनलाई पूर्ण रुपमा सफल पार्नको लागि सबै कस्केलीहरुले आ- आफ्नो ठाउँबाट जिम्मेबारी निर्बाह गर्न अनुरोध समेत गरेको छ।अधिबेशन सफल पार्नको लागि बैठकले समन्वय समितिमा बेलकाजी गुरुङ,आर्थिकमा शिब कुमार लामिछाने,आतिथ्य सत्कार तथा प्रचारप्रसारमा राजेन्द्र कंडेल,सुचना सञ्चार बिभागमा बिशाल ढुंगाना,र सदस्यता बितरणका लागि पुष्प केसी रहने गरी बिभिन्न उपसमितिहरुका संयोजक तोकेको छ।

यस्तै केहि महिना अघि कास्कीमा गएको अविरल बाढी र पहिरो पछि क्षतिग्रस्त बनेको लुम्लेको ज्ञानोदय प्राथमिक बिद्यालयमा पुगी समाजको तर्फबाट राहत बितरण कार्य सम्पन्न गरेकोमा, सचिव बिशाल ढुंगाना र सदस्य कमल भण्डारीलाई बैठकले धन्यबाद ब्यक्त गरेको छ।

यसैबीच बेलायत निबासी पोखरेली समाज युकेका सल्लाहकार रमेश बास्तोलालाई समाजले एक कार्यक्रम बीच बार्सिलोनामा स्वागत गरेको छ। समाजका अध्यक्ष दिलनाथ भण्डारी लगायत पदाधिकारीहरुले बास्तोलालाई खादा ओढाएर स्वागत गरेका हुन्। एनआरएनए युकेका सल्लाहकार समेत रहेका बास्तोलाले अब विश्वभर नै कास्की समाजलाई फैलाएर अन्तराष्टिय परिषद बनाउनु पर्नेमा जोड दिए। पहिले यसका लागि युरोपबाट तयारी गर्नु पर्ने बताउँदै बास्तोलाले यसका लागि बेलायतमा कस्केलीहरु छलफल गरेर पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन्।

२५ जनवरी २०१५ मा तदर्थ समिति गठन गरी, बिभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको समाजले त्यसको ठिक १ बर्ष पछि अर्थात २५ जनवरी,२०१६ सोमबार पहिलो अधिबेशन गर्न लागेको छ।