बार्सिलोनाले फेरि अङ्क बाँड्यो,लगातार ३ खेलमा बराबरी


बार्सिलोना/ यस अघि भ्यालेंन्सिया सँग बराबरी खेलेर लिगामा अङ्क बाँडेको बार्सिलोनाले दुई गोलको अग्रता कायम गर्न नसक्दा स्पेनिस डिपोर्टिभोसँग पनि अंक बाँडेको छ ।लगातार लिगाका दुई खेलमा बराबरी खेले पछि बार्सिलोनाले ४ अङ्क गुमाएको छ। यो हप्ता भित्र भएका ३ खेलमा बार्सिलोना सबैमा बराबरी भएको छ। यस अघि बुधबार च्याम्पियन्स लिगमा जर्मनी क्लव लिभरकुसन सँग पनि बराबरी नै खेल्यो।

शनिबार दिउँसो भएको खेलमा डिर्पोटिभोले बार्सिलोनालाई २-२ गोलको बराबरीमा रोकेको हो । ६२ मिनेटमा दुई गोलले पछि परेको डिपोर्टिभोले खेलको अन्तिम तिर गोल फर्काएको थियो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ३९ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । ६२ औं मिनेटमा राकिटिकले गोल गर्दै अग्रता दोब्बर पारे ।

तर, डिपोर्टिभो खेलको अन्तिमतिर उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ७७ औं मिनेटमा पेरेज मार्टिनेजले गोल गरे भने ८६ औं मिनेटमा गार्सिआले बराबरी गोल फर्काए ।
बराबरीपछि बार्सिलोनाले एथ्लेटिको र रियल मडि्रडसागको अंक दुरी बढाउने मौका गुमाएको छ । बार्सिलोना १५ खेलबाट ३५ अंकका साथ शीर्ष स्थानमा छ । तर, एथ्लेटिको मड्रिडले एक खेल कम खेलेको छ र ३ अंकले मात्र पछि छ । तेस्रो स्थानमा रहेको रियल मड्रिडको १४ खेलबाट ३० अंक छ ।

आइतबार एथ्लेटिकोले बिल्बाओ र रियल मड्रिडले भिल्लारियलसँग खेल्नेछ । उक्त खेल जिते एथ्लेटिको मड्रिडले बार्सिलोनासँग अंक बराबरी गर्नेछ भने रियल मड्रिडले पनि अंक दुरी २ मा झार्नेछ ।