एनआरएनद्वारा १ करोड २५ लाख बराबरको औषधि बितरण


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाई सवै चरणमा गरी करिब १ करोड २५ लाख रुपैयाँ बराबरका जीवनरक्षक औषधि सहयोग गरेको छ ।संघले शुक्रबार ५० लाख १८ हजार रुपैयाँ बराबरको औषधि सरकारलाई हस्तान्तरण गरेको छ ।

संघले खरिद गरेको करिव १२ लाख रुपैयाँ बराबरको औषधि बंगलादेशबाट आगामी साता काठमाडौं आइपुग्नेछ । उक्त औषधि संघले सिधै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने छ ।

स्वास्थ्य सेवा बिभाग टेकुमा शुक्रबार आयोजित बिशेष कार्यक्रममा संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मक्सुद आलमलाई औषधि हस्तान्तरण गरे ।
भारतीनाकाबन्दीका कारण नेपालका अस्पतालमा अत्याबश्यक औषधिको अभाव भएपछि एनआरएनएले औषधि ल्याउन सुरु गरेको हो ।

संघले पहिलो चरणमा गत मंसिर ८ गते ३८ लाख मूल्य बराबरको औषधि हस्तान्तरण गरेको थियो । त्यसैगरी जनकपुर, बीरगञ्ज र बुटबलका क्षेत्रीय अस्पतालहरुलाई २५ लाख ७४ हजार रुपैयाँको औषधि हस्तान्तरण गरिएको छ ।

संघले दिएको औषधि काठमाण्डौ तथा काठमाण्डौ बाहिरका क्षेत्रीय अस्पतालहरुलाई करिव ६ हप्ताका लागि पुग्ने अनुमान गरिएको छ । सरकार र सम्बन्धित अस्पतालहरुले दिएको सूचीअनुसार बिशेषज्ञ चिकित्सकसमेतको सहभागीतामा औषधि खरिद गरिएको थियो ।