पोखरामा क्षेत्रीय प्रशासक अधिकारीलाई स्वागत


पोखरा/ पोखरा उद्योग वाणिज्य संघले पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीलाई स्वागत, सम्मान तथा उहाँसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विहीबार भएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले देशमा चरम इन्धन अभाव भएको बेला इन्धनको समान आपूर्ति व्यवस्था मिलाउनका लागि क्षेत्रीय प्रशासकसँग अनुरोध गर्नुभयो ।

देशमा सिमित मात्रामा भित्रिएको इन्धन र ग्याँसको ठूलो परिमाण राजधानीमा मात्र लैजाँदा पोखरा लगायतका क्षेत्रमा समस्या परेको उहाँको भनाइ थियो । उहाँले खाना पकाउने ग्याँसको चरम अभाव हुँदा दाउराको भए पनि आपूर्ति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले क्षेत्रीय प्रशासन कार्यालय पोखराको अगुवाइमा पोखराको विकासको लागि १७ वटा गौरवका परियोजना छनौट गरिएको स्मरण गराउँदै ती परियोजनाहरुको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशमा आपूर्ति व्यवस्था सहज नभएको वर्तमानमा नेपालको समग्र आपूर्ति व्यवस्था र बितरण प्रणालीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता खड्किएको बताउनुभयो । वर्तमान संकटको कारक राजनीतिक भएको उल्लेख गर्दै उहाँले राजनीतिक विषयलाई गम्भीरतापूर्वक समाधान गर्न राज्य उदाशिन भएको जिकिर गर्नुभयो ।

देशमा राष्ट्रिय स्वाभिमानको नाममा समानान्तर अर्थव्यवस्थाको जगेर्ना भएको दावी गर्दै उहाँले खोक्रो राष्ट्रवादको कुरा गरेर जनतालाई भ्रममा नपार्न सरकार र राजनीतिक दलहरुसँग आग्रह समेत गर्नुभयो । भारत नेपालको छिमेकी राष्ट्र भएकोमा कुनै द्धिविधा राख्न नहुने बताउँदै उहाँले छिमेकीविरुद्ध उत्तेजना फैलाउने कामले कसैको भलो नगर्ने जिकिर समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले आपूर्ति असन्तुलित भएकोबारे सरकारलाई जानकारी गराएको बताउँदै उहाँले पश्चिमाञ्चलमा सहज आपूर्ति व्यवस्था मिलाउन आफू लागि परेको बताउनुभयो । अहिलको समस्या राजनीति भएको उल्लेख गर्दै उहाँले राजनीतिक समस्या समाधान नभएसम्म जनताको चुल्हो सहज नहुने बताउनुभयो ।

पोखरामा दाउरा बितरण गरिने सम्भावना रहेको उहाँको भनाइ थियो । हरेक परिवारलाई कार्डको व्यवस्था गर्न सके हरेक परिवारले इन्धन पाउने अवस्था आउने बताउँदै उहाँले त्यसको लागि पहल गरिने बताए । पोखरा गौरवका परियोजनाहरुको चर्चा गर्दै उहाँले बृहत पोखराको नक्सा तयार नपारेसम्म अन्य परियोजना अगाडि सार्न गाह्रो भएको बताउनुभयो । ‘

पोखरा गौरवका सबै परियोजनाको अवधारणा ठीक छ तर त्यसको काम नै सुरु भएको छैन’, उहाँले भन्नुभयो,‘ कसैले समाजसेवा गर्छ भने ठीकै छ, नभए मनोगत आधारमा अन्तर्राष्ट्रियस्तरको चिडियाखाना बन्दैन ।’ पोखरा र समग्र पश्चिमाञ्चलको विकास एवं आत्मनिर्भर अर्थतन्त्रका लागि कफी वा सुन्तलाको व्यवसायिक खेतिमा लाग्नुपर्ने उहाँको भनाइ छ । ‘त्यसको नेतृत्व र व्यवस्थापना निजी क्षेत्रले गरोस्, किसानको पनि सेयर होस र लगानी सबैको होस् ।’–उहाँले भन्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष देव क्षेत्रीको धन्यवाद र महासचिव रविन्द्रबहादुर प्रजुको संचालन रहेको कार्यक्रममा संघका कार्यसमिति सदस्य विश्वशंकर पालिखे,पोखरा पर्यटन परीषदका उपाध्यक्ष चिरञ्जीवी पोखरेल, पोखरा अधिकृत बिक्रेता संघका अध्यक्ष सुरेश अधिकारी,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले मन्तव्य राख्नुभएको थियो ।