एनआरएनद्वारा सरकारलाई ३८ लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण


भारतको अघोषित नाकाबन्दीले अत्याबश्यक औषधि अभाब भएपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) ले औषधि वितरण सुरु गरेको छ ।भारतीय नाकाबन्दीका कारण सिर्जित मानवीय संकट समाधानमा सहयोग गर्न संघले औषधि दिने घोषणा गरे अनुरुप पहिलो चरणमा मंगलबार औषधी हस्तान्तरण गरेको हो ।एनआरएनका अध्यक्ष शेष घलेले मंगलबार स्वास्थ्य मन्त्री रामजनम चाैधरीलाई ३८ लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरे ।

हालसम्म औषधि खरिदका लागि २ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको एनआरएनएले जनाएको छ । यो रकम १० करोडसम्म पुर्‍याउने एनआरएनएको योजना हो । यसका लागि संघले आफ्नो संजाल अन्तरर्गतका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई पत्राचार गरी रकम संकलन गर्न अनुरोध गरेको छ। संकलित रकमबाट औषधि खरिदको प्रक्रिया जारी राखिएको जनाइएको छ । संकलित औषधि आयात गरेर सरकारी निकायलाई हस्तान्तरण गरिने छ ।

एनआरएनले नाकाबन्दीका कारण मानवीय संकट उत्पन्न भएको निश्कर्ष निकाल्दै औषधि र अति आबश्यकीय सामाग्री सहयोग गर्ने घोषणा गरेको थियो । परराष्ट्रमन्त्री कमल थापालाई पत्र लेख्दै औषधि र अत्याबश्यकीय सामाग्रीको प्राथमिकता अनुसारको सुची उपलब्ध गराईदिन अनुरोधसमेत गरेको थियो । उक्त अनुरोधसँगै नेपालका उच्च अधिकारीहरुलाई एनआरएनले नाकाबन्दी अन्तराष्ट्रियकरण गर्ने जानकारी समेत गराएको थियो ।

12243089_620800268060905_6590739239187062273_n 12244524_620800414727557_5767311092048696238_o