एनआरएनमा को को बने मनोनित ? बिबाद उत्पन्न भएकै हो ?


स्पेन/समाचार टिप्पणी

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद बैठकले प्रमुख संरक्षकमा जीवा लामिछाने र प्रबक्तामा रन्जु थापालाई चयन गरेको छ। संघको पूर्ण बैठकले पुर्ब अध्यक्ष लामिछाने र निर्बमान सचिव थापालाई क्रमश: प्रमुख संरक्षक र प्रबक्तामा मनोनित गरेको हो।

यस्तै आइसीसी सदस्यहरुमा अमेरिकाबाट सुनिता शर्मा, नविन शेरचन, खगेन्द्र जिशी, एशिया प्यासिफीक क्षेत्रका सोमचई क्षेत्री, भूषण घिमिरे, यूरोपबाट जय प्रकाश गुरुङ, सोम सापकोटा, जानकी गुरुङ, मध्यपूर्वका एसमीन बेगम, ओसियानाबाट धर्मराज अधिकारी, जमुना गुरुङ,र अध्यक्षबाट चयन गरिएका रिसी कँडेल, भूमा लिम्बु, योगन क्षेत्री रहेका छन्।

पुर्ब अध्यक्ष लामिछाने प्रमुख संरक्षक रहेको टिममा अन्य संरक्षकहरुमा कुलचन्द्र गौतम, दिल गुरुङ, इन्द्र बन, देवकाजी डंगोलको नाम बैठकले घोषणा गरेको छ।यस्तै आईसीसी सल्लाहकारमा डा. हेमराज शर्मा, विश्वआदर्श पण्डित, त्रिलोक गुरुङ, विश्वकान्त मैनाली, लोकभक्त राना, पुष्प थापा,पीजी शेर्पा, कनैयालाल श्रेष्ठ, दिपक खड्का, चन्द्र रोकालाई बैठकले मनोनित गरेको छ।

आईसीसी पदाधिकारीमा पराजित उम्मेदवारीहरु पनि सदस्यमा मनोनित भए पछि बिधान बिपरित भन्दै बैठकमा सहभागीहरु बिरोध जनाएका छन् । यता अध्यक्ष घले श्रीमती जमुना गुरुङको नाम पनि सदस्यमा मनोनित भए पछि कतिपय गैर आबासीयहरुको अध्यक्ष घलेले संघलाई नाताबादको डोरी लगाएर ताने भन्ने आरोप पनि छ। तर कतिपयले क्षमतावान महिलाहरु आईसीसी सदस्यमा आउँनु , स्वागत योग्य रहेको भन्दै खुलेर स्वागत गरेका छन्। भविष्यमा एनआरएन नेतृत्व महिलाको काँधमा जाने आकलन गर्दै टिपप्णी गर्नेको आबाज सुनिएको छ।

 बैठकमा सहभागी एक सदस्यले भने,”मुलत: अध्यक्ष र महासचिवको तालमेल मिलेको जस्तो देखिएन,अहिलेको कार्यसमितिमा पन्त र घलेको जस्तो समिकरण मिल्न अलि गाह्रो नै छ।”

एनआरएनमा बिबाद उत्पन्न भएकै हो ?

सातौ अधिबेशन पछिको पहिलो पूर्ण बैठक,त्यस माथि मनोनयनका प्रकियाहरु भएकाले केहि बिबाद जस्तो देखिए पनि सिङ्गो संघ नै भने बिबाद रहित प्रष्ट देखिन्छ। भर्खर निर्बाचन सकिनु,सबैले जिम्मेबार ठाउँमा पुगेर काम गर्ने ईच्छा ब्यक्त गर्नुले पनि सामान्य असमझदारी देखिएको जानकारहरु बताउँछन्।तर हरेक प्रकियामा संस्थाको बिधि र विधानलाई बिर्सन नहुनेमा भने गैर आवासीयहरुको दुई मत भने देखिदैन।

एनआरएनको नयाँ कार्यसमिति पूर्ण भए पछि संघको अबको चिन्ता भने मुलुक तर्फ नै केन्द्रित भएको देखिन्छ। भूकम्प पछि हजार घर निर्माण गर्ने संकल्प बोकेको संघलाई हरेक कोणले देशको संकटको सामाना गर्नु पर्ने अबस्था छ। आफ्नै भबन निर्माणको सुरसार गर्दा,भूकम्प आउँनु,फेरि राहत बितरण, अहिले हजार घर निर्माण भनिरहेका बेला,भारतीय नाकाबन्धीले देशमा संकट देखा पर्नु संघलाई ठुलो चुनौती छ।

कुनै काम पनि पुरा नगरी चारै तिर हात हाल्नु पर्ने बाध्यतात्मक परिस्थिति संघले भोगेको छ। त्यसैले अहिले देशमा औषधीको अभाव देखिएको भन्दै ठुलै परिमाणमा औषधी तथा अत्याबश्यक बस्तुहरु देश पठाउने तयारी गरिरेहेको बुझिएको छ। बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुले यस बारे निकै चासो दिदै औषधी पठाउने बारे छलफल गरिरहेका छन्।

मुलुकलाई संकटबाट बाहिर ल्याउँन जिम्मेबार बनिरहेको गैर आबासीय नेपाली संघ सामान्य असमझदारीहरुको सामाना गरिरहेको भए पनि राष्ट्रिय मुद्दामा सधै एकजुट नै बनेको बिश्लेषण गर्न सकिन्छ।