नर्वेको तिहार


ओस्लो । नेपालीहरुको दोस्रो महानचाड तिहारको पावन अवसरमा नेस्को नर्वे र हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेले नर्वेको राजधानी ओस्लोस्थित क्रिङ्ग्सोको किवी पार्टीहलमा १२ नोभेम्बर २०१५ मा तिहार विशेष कार्यक्रम संयुक्तरुपमा सम्पन्न गरेका छन् ।

विगत वर्षहरु झैँ यसवर्ष पनि देउसी खेल्दै संयुक्तरुपमा तिहार मनाउने अवसर पाएकोमा सहभागीहरु खुसी हुँदै एक-आपसमा शुभकामना आदान-प्रदान गर्नुमा निकै व्यस्त देखिन्थे । कार्यक्रमको सुरुवात देउसी खेलेर गरिएको थियो, जसमा मदन आचार्य, लीना गुरुङ, दिपक महत, अन्जु सापकोटा, बिनोद कुमार खत्री र रोमीका लम्सालले पालैपालो देउसी गीत भट्याउनु भएको थियो भने मनोज घर्तीको सांगीतिक प्रस्तुतिले देउसी कार्यक्रमलाई अझ रमाइलो बनाएको थियो ।

नर्वेको विभिन्न सहरमा वसोवास गर्ने नेपालीहरुको समेत सहभागिता रहेको उक्त कार्यक्रमलाइ नेस्को नर्वेका अध्यक्ष केशव पुरी र हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेका संयोजक गोरख चन्दले सम्बोधन गर्दै तिहार तथा छठको शुभकामना दिएका छन् ।