प्रथम महिला राष्ट्रपति भण्डारीलाई एनआरएनको बधाई


काठमाडौ । गैरआवासीय नेपाली संघले नवनिर्वाचित राष्ट्रपति बिद्यादेवी भण्डारीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेको छ ।
संघका अध्यक्ष शेष घलेले बिज्ञप्ति जारी गरी गैरआवासीय नेपाली संघ एवं आफ्नो ब्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएका हुन् । राष्ट्रपतिको कार्यकालमा मुलुक एक सम्बृद्ध राष्ट्रको रुपमा अगाडि बढ्ने गैरआवासीय नेपालीहरुले आशा एवं बिश्वास लिएको घलेले बताएका छन् ।

‘नेपाल राष्ट्रको प्रथम महिला राष्ट्र अध्यक्षको रुपमा र अहिलेको संवेदनशील घडीमा एक महत्वपूर्ण तथा चुनौतिपूर्ण भूमिका लिनु भएकोमा तपाईलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु,’ अध्यक्ष घलेले जारी गरेको बिज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूको कार्यकालमा नेपालले एक समृद्ध राष्ट्रको रुपमा विश्वसामू आफ्नो पहिचान राख्न सकोस् ।’

भण्डारीको जित नेपालजस्तो महिला सशक्तिकरणको अभाव रहेको मुलुकका लागि झनै प्रेरणादायी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘राष्ट्र निर्माणको यात्रामा जनसंख्याको आधा हिस्सा रहेको महिलाको शक्ति र सम्भावनाको पूर्ण उपयोग हुन नसकेको हाम्रोजस्तो मुलुकमा यहाँको जित ठूलो समुदायका लागि प्रेरणाको स्रोत हुने हाम्रो बिश्वास छ,’ अध्यक्ष घलेले भनेका छन् ।

गैरआवासीय नेपाली संघले हालै सातौं बिश्वसम्मेलन सफलतापूर्वक सम्पन्न गरी राष्ट्र पुनर्निर्माणमा साझेदारी गर्न सुरुवात गरेको जानकारी गराउँदै अध्यक्ष घलेले गैरआवासीय नेपाली संघ सदाझैं मुलुकको सम्बृद्धिमा सहयोग र सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।