भूकम्प पिडितलाई कम्तिमा १ हजार घर बनाउँने लक्ष्य सहित एनआरएन बिश्व सम्मेलन सम्पन्न ( पूर्ण पाठ)


काठमाडौं– नेपाल सरकार सँगको समन्वयमा भूकम्प पिडितलाईक म्तिमा १ हजार घर निर्माण गर्ने, काठमाडौ घोषणापत्र जारी गर्दै एनआरएनको सातौ अधिबेशन तथा बिश्वसम्मेलन सम्पन्न भएको छ। घर निर्माण परियोजनामा समावेश हुनका लागि प्रस्तावित बिधि प्रविधिहरु नेपाल सरकारको सम्बधित मन्त्रालयले संघको स्वामित्व रहने गरि परिचालन गर्ने भन्दै घोषणा पत्र जारी भएको छ।

घोषणापत्रमा देश संविधान प्राप्त गरि राजनीतिक स्थिरताको बाटोमा लम्किने प्रयासमा रहेको अवस्थामा अवको प्राथमिकता विकास, निर्माण र समृद्धि तर्फ हुनुपर्ने र त्यसका लागि गैरआवासीय नेपालीहरुले बिदेशमा सिकेको सिप, आर्जेको पू”जी र नेपालसंगको भावनात्मक सम्बन्धको सदुपयोग गर्दै बिकास र पुनःनिर्माणको कार्यमा सच्चा साझेदार बन्ने र दिर्घकालिन सोच सहितको बिकासको साझेदारी बन्ने उल्लेख छ ।
घोषणापत्रको पूर्ण पाठ

सातौं गैरआवासीय नेपाली विश्व सम्मेलनद्वारा जारी काठमाडौं घोषणा पत्र अक्टोवर १४–१७, २०१५
सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, मानीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीज्यू, माननीय सांसदज्यूहरु, कुटनीतिक नियोगका महामहिम प्रमुखहरु, नेपाल सरकारका उच्च पदाधिकारीहरु, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू लगायतका पदाधिकारीहरु, बिभिन्न दातृसंस्थाका प्रतिनिधिज्यूहरु, गैरआवासीय नेपाली संघका अध्यक्षज्यू, प्रमुख संरक्षकज्यू, संरक्षक तथा पदाधिकारीज्यूहरु एवं ७१ देशका ११ सय भन्दा बढी गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा “एनआरएनए – पुनः निर्माणको सच्चा साझेदार” को मूल नाराका साथ सातौं गैरआवासीय नेपाली विश्व सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको छ ।

नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा काठमाडौंमा १४–१७ अक्टोवर, २०१५ मा सम्पन्न भएको यस सम्मेलनलाई भब्यरुपमा सफल बनाउन सहयोग गर्नुहुने नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ, गैरआवासीय नेपाली संघको तर्फबाट संलग्न प्रतिनिधि एवं सहभागी सबैमा यो सम्मेलन हार्दिक कृतज्ञता ब्यक्त गर्दछ । साथै बिभिन्न राजनीतिक दल, संघसंस्था, संचारकर्मीं, ब्यापारिक समुदाय एवं सम्पूर्ण सौजन्यकर्ता प्रति यो सम्मेलन आभार ब्यक्त गर्दछ ।

संविधानसभाले संविधानजारी गर्न सफल भएकोमा खुसी ब्यक्त गर्दै यसको कार्यान्वयनलाई प्रभावकारी रुपमा अगाडि बढाउन सम्पूर्ण नेपाालीहरुको सकृय र रचनात्मक सहभागितालाई आहवान गर्दछ । साथै २०७२ साल बैसाख १२ गते देशमा आएको बिनासकारी महाभुकम्पले गरेको जनधनको क्षतिप्रति गहिरो दुःख ब्यक्तगर्दै उद्धार र राहत बितरणमा बिश्वभरका गैरआवासीय नेपालीहरुले गर्नुभएको सहयोगको लागि यो सम्मेलन हार्दिक कृतज्ञता ब्यक्त गर्दछ । यो सम्मेलन निम्न कार्यहरु गर्ने प्रतिवद्धता सहित काठमाण्डौ घोषणा पत्र जारी गर्दछ ।

१) बिनासकारी महाभुकम्पबाट भएको धनजनको क्षतिमा राहत पुर्याउने उद्देश्यले कम्तिमा एक हजार घर नेपाल सरकार सँगको समन्वयमा गैरआवासीय नेपाली संघले निर्माण गर्ने छ । एक हजार घर निर्माण परियोजनामा समावेश हुनका लागि प्रस्तावित बिधि प्रविधिहरु नेपाल सरकारको सम्बधित मन्त्रालयले संघको स्वामित्व रहने गरि परिचालन गरिने छ ।

२) देश संविधान प्राप्त गरि राजनीतिक स्थिरताको बाटोमा लम्किने प्रयासमा रहेको यसघडीमा अवको प्राथमिकता विकास, निर्माण र समृद्धि तर्फ हुनुपर्ने तथ्यलाई मध्यनजर गर्दै गैरआवासीय नेपालीहरुले बिदेशमा सिकेको सिप, आर्जेको पू“जी र नेपालसंगको भावनात्मक सम्बन्धको सदुपयोग गर्दै बिकास र पुनःनिर्माणको कार्यमा सच्चा साझेदार बन्ने र दिर्घकालिन सोच सहितको बिकासको साझेदारी सम्झौदा सम्झौता  तयार गरि कार्यान्वयनमा ल्याउदा विकास प्रयासले सार्थकता प्राप्त गर्ने कुरामा सम्मेलन जोड दिन चाहन्छ ।

३. नेपालको संविधानजारी भई नेपालको शान्तिप्रकृया तार्किक निष्कर्षमा पुगेपछि नेपालमा सामुहिक तथा ब्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको परिप्रेक्षमा नेपालको जलबिद्युत, पर्यटन, स्वास्थ्य, शिक्षा र संचार लगायतका क्षेत्रमा लगानी गर्न यो सम्मेलन सबै गैरआवासीय नेपालीहरुमा हार्दिक आग्रह गर्दछ ।

४)  देशमा रोजगारीका अभावमा बिदेशिन बाध्य भएको उर्जाशील युवाहरुलाई गैरआवासीय नेपालीहरुको उत्पादनशील क्षेत्रमा लागनी गरी रोजगारीका असर सिर्जना गर्न यो सम्मेलन आह्वान गर्दछ ।

५)  भर्खरै जारी भएको नेपालको संविधानले गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गर्न सक्ने ब्यवस्था गरेकोमा त्यस ब्यवस्थाको स्वागत गर्दै यसको कार्यान्वयनको लागि छिटो नागरिकता प्रदान गर्न संविधानको मर्म अनुसार ऐन निर्माणका लागि नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ ।

६) मध्यपूर्व, एसिया, अफ्रिका लगायतका क्षेत्रमा बैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट भित्रिएको विप्रेषण (रिमिट्यान्स) ले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानलाई उच्चमूल्यांकन गर्दै कामदारहरुका दैनिक समस्याहरु पहिचान गरी समाधानका लागि ठोस कार्ययोजना बनाइने छ ।

गैरआवासीय नेपाली संघले बिभिन्न उद्देश्य लिई सरकारी तथा गैरसरकारी संस्थाहरुसंग गरेका सम्झौताहरुलाई अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसि) र राष्ट्रिय समन्वय परिषद्(एनसिसि)ले पूर्णरुपले स्वामित्व लिएर आईसिसि र एनसिसि दुबैले संयुक्त रुपमा ती सम्झौताको प्रभावकारी कार्यान्वयन गर्दै थप उद्देश्य मिल्ने संघ संस्थाहरुसंग साझेदारीमा काम गर्न अन्य सम्झौताहरु गरी कार्यान्वयनमा ल्याइने छ ।

साथै, बैदेशिक रोजगारी कल्याणकारी कोष स्थापनाको प्रकृया शुरु भैसकेको परिप्रेक्षमा त्यसलाई थप संस्थागत गरि आवश्यक रकमको व्यवस्था गर्दै आईसिसि र एनसिसि दुवैले संयुक्त रुपमा प्रभावकारी कार्यान्वयन एवं क्षेत्र बिशेषको लागि सरकार तथा त्यस देशको एनसिसिले कुनै कार्यक्रम संचालन (हजारे अभियान इत्यादि) गर्ने प्रस्ताव गरेमा आइसिसिले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता ब्यक्त गर्दछ ।

७) नेपाल सरकारस“गको सहकार्यमा स्थापना गर्न लागिएको नेपाल खुल्ला विश्वबिद्यालय सभामा गैरआवासीय नेपालीहरुको सघन प्रतिनिधित्व तथा प्राज्ञिक स्वतन्त्रताका आधारशीलाहरु सुनिश्चित गर्नेगरी परिमार्जन गरेर बिधेयकलाई यहि बर्ष पारित गर्न ब्यवस्थापिका–संसदको सम्बन्धित समितिले गरेको प्रतिवद्धतालाई कदर गर्दै उक्त खुल्ला विश्बिद्यालयको यथाशिघ्र स्थापना गर्न यो सम्मेलन अनुरोध गर्दछ । यसका लागि बिश्वका ६ वटै क्षेत्रका गैरआवासीय नेपाली प्रतिनिधिहरु राखी विश्वबिद्यालय सभा बनाउन आग्रह गर्दछ । साथै संघले हरेक क्षेत्र र देशमा प्राविधिक प्राज्ञिक समितिहरु गठन गरी कार्यान्वयन पक्षहरुलाई तीब्रता दिने प्रतिबद्धता ब्यक्त गर्दछ ।

८ ) गैरआवासीय नेपालीहरुले नेपालमा गर्ने परोपकारी कार्यहरु संस्थागत रुपमा हुदा बढी प्रभावकारी हुन्छ भन्ने तथ्यलाई मनन गरी गैरआवासीय नेपालीहरुले गर्ने परोपकारी तथा व्यावसायिक लगानीका कार्यहरु संघको समन्वय गर्न यो सम्मेलन हार्दिक आग्रह गर्दछ ।

९)  बिदेशमै जन्मे हुर्केका गैरआवासीय नेपालीहरुको दोस्रो पुस्ताका नेपालीहरु एवं सबै महिलाहरुलाई संघमा आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण र संबद्धन गर्ने कार्यमा सरिक बनाउदै संघका हरेक तह र तप्काका गतिविधिमा समावेश गराइने छ । यसका अतिरिक्त गैरआवासीय नेपाली महिला एवं युवा संजालहरुका कार्ययोजना मार्फत नेपाल भित्रका युवा एवं महिलाहरुलाई पनि संघ मार्फत अघि बढाईएका कार्यक्रमहरुमा समावेश गरिने छ ।

१०)  नेपालीहरु अत्याधिक रहेका देशहरुमा नेपाल सरकारको प्रतिनिधित्व रहने नेपाली राजदुताबास र महाबाणिज्यदुतावासको स्थापना गर्न नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ । नेपाली नियोगहरु स्थापना नभएसम्म स्थानिय गैरआवासीय नेपाली संघले नेपालीहरुलाई पुर्याई आएको सहयोगको निरन्तरतको प्रतिवद्धता व्यक्त गर्दछ ।