खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगिता सम्पन्न


पोखरा/
शान्ति, अनुशासन एवम् भाइचाराका लागि खेलकुद भन्ने मूल नाराका साथ विजया दशमी तथा शुभ दीपावली २०७२ को पूर्वसन्ध्यामा संचयकोष आवास उपभोक्ता समिति, विरौटाले आश्विन १४ देखि १६ गते सम्म आफ्नै आवास परिसरमा आयोजना गरेको छ। तथा पुनरावेदन अदालत पोखराका माननीय न्यायधीश भिमकुमार ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा. अशोककुमार चौरासिया, नेपाल आयल निगम, गगनगौडा डिपो पोखराका प्रमुख मनोज ठाकुर, कर्मचारी सञ्चयकोष पोखराका वरिष्ठ शाखा अधिकृत ध्रुवप्रसाद बल्ल, संचयकोष टोल विकास संस्थाका अध्यक्ष हरिमाया पौडेल, उपाध्यक्ष राधिका ढुङ्गाना, सचिव रिना राना, मिनबहादुर थापा, आवास उपभोक्ता समितिका पूर्व सल्लाहकार लिलाधर पाण्डे, भुपु अध्यक्ष कमलराज अधिकारी, भु.पु. उपाध्यक्ष प्रमिला भुजेल तथा आवास परिसरभित्रको जेष्ठ नागरिक ९३ वर्षीय श्री रघुनाथ पाण्डे लगायतका विशिष्ट व्यक्तित्वहरुको विशेष अतिथिको रुपमा उपस्थिति थियो भने जेष्ठ नागरिकलाई खादा लगाई सम्मान गरिएको थियो ।

१० टिमको सहभागिता रहेको उक्त खेल नकआउटका आधारमा खेलाइएको थियो । जम्मा १० खेलमा सम्पन्न उक्त प्रतियोगितामा प्रविण गुरुङ्ग र बोधराज काफ्लेको जोडी प्रथम, सुकबहादुर गुरुङ्ग र सुभाष ढुङ्गानाको जोडी द्वीतिय तथा सरोज गुरुङ्ग र सञ्जय गुरुङ्गको जोडी तृतिय भएका थिए भने वेस्ट प्लेयरमा सरोज गुरुङ्गलाई पुरस्कृत गरिएको थियो ।

विजय टिमहरुलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि माननीय न्यायधीश भिमकुमार ओझाले खेलकुद सवैका लागि आवश्यक छ र स्वस्थ शरीरमा मात्र स्वच्छ विचार हुन्छ भन्ने महत्वपूर्ण र पे्ररणादायी भनाई राखेका थिए ।

त्यसैगरी, प्रतियोगिता संयोजक सुकबहादुर गुरुङ्गले प्रतियोगिता आयोजक कमिटिको तर्फवाट संचयकोष आवास उपभोक्ता समिति र संचयकोष टोल विकास समितिका अध्यक्षहरुलाई मायाको चिनो प्रदान गर्दै आफूले पाएको जिम्मेवारी पूरा गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सहयोगीहरु सवैलाई धन्यवाद ब्यक्त गरेका थिए भने आवास उपभोक्ता समितिका सचिव कीर्तिबल्लभ त्रिपाठीले आयोजक समितिको तर्फवाट सवैलाई धन्यवाद दिदै आगामि दिनमा यस लगायत अन्य खेलकुद कार्यक्रमलाई पनि ससक्त रुपमा अगाडि लैजान समितिले प्रयास गर्ने प्रतिवद्धता गरेका थिए ।

प्रतियोगिताको लागि सह–संयोजक राजु सापकोटा तथा कोषाध्यक्ष रुद्रप्रसाद पौडल, व्यवस्थापन सहयोगीहरु शेरबहादुर गुरुङ्ग, दिपक भट्टराई, विष्णुप्रसाद सुवेदी, विकास पौडेल, विक्रम गुरुङ्ग, यामबहादुर गुरुङ्ग आदि रहेको प्रतियागिताको समापन कार्यक्रम प्रतियोगिता आयोजक समितिका अध्यक्ष लोकनाथ ढुङ्गानाको सभापतित्वमा र संचालन खेल समितिका सचिव लालबहादुर रानामगरले गरेका थिए ।