सपिला राजभण्डारीद्वारा एनआरएन महिला संयोजकमा उम्मेद्वारी घोषणा


बसन्त रानाभाट/स्पेन गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला संयोजकमा पुन: रसियाबाट सपिला राजभण्डारी उठ्ने भएकी छन्। बर्तमान संयोजक समेत रहेकी राजभण्डारीले एनआरएन भित्र महिला सशक्तिकरण अभियानलाई संस्थागत गर्ने अभिभारा अझै बाँकी रहेको भन्दै पुन; संयोजकमा नै उम्मेद्वारी घोषणा गरेकी हुन्।

बिहिबार एक बिज्ञप्ति जारी गर्दै राजभण्डारीले प्रत्येक राष्ट्रिय समन्वय परिषदहरु सँग छलफल गरि महिलाहरुका कठिनाई र समस्याहरु बारे जानकारी लिई सरकारी र गैरसरकारी संस्थाहरुको सहयोगबाट निकारण गर्ने प्रतिबद्दता ब्यक्त गरेकी छन्।

यस्तै हाल आँफु संयोजक रहदा आङ्ग खस्ने ( महिलाहरुका पाठेघर खस्ने रोग ) स्वास्थ्य परियोजना प्रभावकारी रहेको बताउँदै यसलाई निरन्तरता दिने बताएकी छन्। आँफुले यस अघि पनि एसिया, मध्य-पुर्ब ,अमेरिका र युरोपका बिभिन्न देशहरुमा पुगेर महिलाहरु सँग प्रत्यक्ष भेटबार्ता,अन्तरकृयाहरुमा भाग लिएको बताउँदै महिलाहरुलाई शिक्षित र स्वावलम्बी हुनका लागि थप उपायहरुको खोजि गर्ने बताएकी हुन्।

उनले महिला सचेतना मुलुक कार्यक्रमहरु संचालन गर्ने, महिला हिंसाका घटनाहरु कम गर्न, रोकथामका उपायहरु अबलम्बन गरी, अभियान चलाउने प्रतिबद्दता समेत ब्यक्त गरेकी छिन्।

संयोजक राजभण्डारीले देशमा वा बाहिर रहेका, खास गरि खाडी मुलुकका महिलाहरुको लागि परोपकारी योजना ल्याउने र खाड़ी मुलुकमा कार्यरत महिलाहरुले भोग्दै आएका घरेलु हिंसाका घटनाहरु रोक्न प्रयास थाल्ने, तथा एक परोपकारी अक्षय कोष खडा गरी उद्दार योजना बनाउने बिज्ञप्तिमा उल्लेख गरेकी छन्।

एनआरएन अभियानमा सपिलाको भूमिका

गैर आबासीय नेपाली संघको अभियानको शुरुवात देखि नै राजभण्डारीले योगदान दिदै आएकी छिन्। उनले सन् २००५ देखि २००९ सम्म गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रसियाको उपाध्यक्ष पदमा रही जिम्मेबारी लिईन्। यस्तै “प्रमोशन अफ नेपाल एब्रोड” टास्कफोर्समा रही संसारभर नेपाल चिनाउने कार्यक्रमहरुमा पनि राजभण्डारीले साथ दिएकि थिईन्।

सन् २००९-२०१३ सम्म उनले ले युरोपबाट मनोनित रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्यको रुपमा लगातार दुई कार्यकाल सम्हालिन्। यही अवधिमा पनि “प्रमोशन अफ नेपाल एब्रोड” , “परोपकारी-कार्य” समिति, “नेपाल लाइब्रेरि फाउन्डेशन” लगायतका समितीहरुमा रहेर एनआरएन अभियानमा योगदान दिईन्।

बार्सिलोनामा सम्पन्न पाँचौ महिला सम्मेलनमा बोल्दै संयोजक राजभण्डारी
बार्सिलोनामा सम्पन्न पाँचौ महिला सम्मेलनमा बोल्दै संयोजक राजभण्डारी

सन् २०११- २०१३ को कार्यकालमा “परोपकारी-कार्य” समितिको सह-संयोजक को जिम्मेवारी गर्दै मस्कोमा सम्पन्न एनआरएनए यूरोपियन क्षेत्रीय भेलामा “ईभेन्ट म्यानेजमेन्ट कमिटीको संयोजक पदमा रही सहयोग पुर्याइन्। सोहि अबसरमा उदघाटन गरिएको रसियाको “नेपाल-हाउस” परियोजनामा पनि राजभण्डारीको प्रत्यक्ष संलग्नता रहेको छ।

यस्तै सन् २०१३ देखि हाल सम्म उनि आइसिसिको महिला संयोजकको रुपमा सफलता पुर्बक जिम्मेबारी निर्बाह गरिरहेकी छन्। उनले महिला संयोजकमा रही काम गरिरहदा खास गरि बिपन्न महिलाहरुलाई लक्षित गरि ल्याईएको “आङ्ग खस्ने” (महिलाहरुका पाठेघर खस्ने रोग ) स्वास्थ्य परियोजना निकै लोकप्रिय छ। सोहि परियोजनाको संयोजकमा रही एनआरएन अभियानमा निरन्तर लाग्न सम्पूर्ण राष्ट्रिय समन्वय परिषदका महिला फोरमहरुलाई प्रेरित गरेकी छन्।

देशमा भूकम्पको जाँदा पनि उनि एक महिला स्वंयसेवकको रुपमा झन्डै एक महिना प्रभावित क्षेत्रमा खटेर काम गरिन्। भूकम्प ताका प्रभावित क्षेत्रमा काम गर्दा राजभण्डारीले देश भित्रका महिलाहरुको बास्तबिक अवस्था र समस्या बारे नजिकबाट परिचित हुने मौका र शिक्षा मिलेको बताउदै आएकी छन्।