बालबालिकाका लागि खुला नाटक लेखन प्रतियोगिता


पोखरा,
५१ औ राष्ट्रिय बालदिवसको अवसरमा राईट फर चिल्ड्रेन कास्कीले बालबालिकाका लागि ‘खुला नाटक लेखन प्रतियोगिता’ को आयोजना गरेको छ । स्थानीय विषयवस्तु र मौलिकतामा आधारित रहेको नाटकलाई मूल्याङ्कनमा विशेष प्राथमिकता दिईने सस्थाले जनाएको छ ।

प्रथम चरणको मूल्याङ्कनबाट उत्कृष्ट ठहरिएका १० नाटकका लेखकहरुलाई आफ्नो नाटकको बारेमा स्वयम् उपस्थित भएर छोटो प्रस्तुति गर्ने अवसर प्रदान गरिने सस्थाका कार्यकारी निर्देशक अनिल पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुनकालागि नाटक बालबालिकासंग सम्बन्धित रहेर बालबालिका स्वयम्ले दुई हजार शब्दमा नबढाइकन लेख्नुपर्नेछ । विद्यालय जाने बालबालिकाको हकमा सम्बन्धित विद्यालयको छापसंगै प्रधानाध्यापकको हस्ताक्षर र बालगृह वा सस्थामा आबद्ध बालबालिकाको हकमा भने सम्बन्धित संस्थाको छाप र कार्यालय प्रमुखको हस्ताक्षर गराई प्रमाणित गर्नुुपर्नेछ ।

नाटक राईट फर चिल्ड्रेनको कार्यालय विरौटा, पोखरामा यहि असोज १५ गते कार्यालय समयमा बुझाई सक्नुपर्ने बताईएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने दुई जनालाई क्रमशः रु ४ हजार, ३ हजार, २ हजार र १÷१ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

साथै प्रतियोगिताबाट छानिएका उत्कृष्ट १० नाटकलाई बाल रेडियो कार्यक्रम मिलिजुली बोलौमा रेडियो नाटकको रुपमा प्रसारण गरिने संस्थाले जनाएकोछ ।