बिश्व च्याम्पियन बन्दै नेपाली झण्डा फहराउँने सपना छ – मिरा राई (अन्तर्वार्ता सहित)


– बसन्त रानाभाट
बार्सिलोना/ अल्ट्रा धावक नेपाली चेली मिरा राईले बिश्व च्याम्पियन बन्दै नेपालको नाम संसार भर फैलाउँने सपना बोकेकी छन्। आगामी शनिबार स्पेनको पिरेना बागामा हुने “सालोमन प्रिनेउ अल्ट्रा दौडनु दुई दिन अगाडि मिराले यस्तो बताएकी हुन्।

फ्रान्समा मोन्ट ब्लंक म्याराथनको उपाधि जितेर चर्चा कमाएकी नेपाली चेली राईले नेपालीनेपालीडटकम सँग बिशेष कुराकानी गर्दै संसारका उत्कृष्ट धावकहरु अगाडि नेपाली झण्डा फहराउँने संकल्प बोकेको बताईन्। उनले भनिन्,”प्रतियोगिता हो हार जीत त हुन्छ नै तर अन्तिम पलसम्म मेरो देश सम्झेर दौडने छु।”

संसारकै पाँच उत्कृष्ट दौड मध्ये पर्ने १ सय १० किलोमिटर लामो ‘सालोमन अल्ट्रा दौड’लाई उनले १३ घण्टा भित्र सक्ने लक्ष्य बोकेकी छन्। काडी मोक्सेरो नेशनल पार्कबाट शुरु भएर बार्सिलोना स्थित बागामा आएर म्याराथुन टुंगिने छ।

पूर्व माओवादी लडाकू समेत रहेकी मिराले यस अघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि जित्दै नेपालको शान बिश्व भर फैलाएकी थिईन्।

स्पेनको म्याराथन सबै भन्दा ठुलो

अल्ट्रा धावक मिरा राईले स्पेनको पिरेना बागामा हुने अल्ट्रा दौड अहिले सम्म कै ठुलो भएको बताएकी छन्। यहाँ सहभागी हुन पाँच बटा छनोट चरण जितेको सम्झना गर्दै ,बिश्व च्याम्पियन बन्ने आफ्नो सपना जोडिएको बताएकी हुन्।

राईले भनिन्,” धेरै पटक च्याम्पियन्स बनेका सिनियर धावकहरु सँग दौडदै छु त्यसैले यो निकै कठिन छ तर म अन्तिम पल सम्म कोशिस गर्नेछु, च्याम्पियन बनेर नेपालको झण्डा फराउँने मेरो सपना छ।”11988220_886905184679824_8048186046641553735_n-2-2आफ्नै दाजुभाई दिदि बहिनीहरुलाई देखे भने मलाई ठुलो हौसला मिल्नेछ, मिराले भनिन् “स्पेनबासी नेपालीहरु मेरो मनोबल बढाउँन आईदिनु होला।” मलाई विमानस्थलमा तपाईहरु आएर हौसला थपिदिनु भयो,यसको लागि म आभारी छु “, राईले भनिन्।

जित्नका लागि खादै दौडन्छु

एक सय दश किलो मिटर पुरा गर्न १३ घण्टा लाग्ने भए पछि त्यो बीचमा खादै दौडदै पर्ने राईले बताईन्। खानाको लागि ८ बटा चेक पोष्ट सहित, फलफुल पानी जुस राखिएको हुन्छ तर खाएर बस्न मनलाई मान्दैन, उनले भनिन्,”झोला, गोजी,हातमा फलफुल राख्दै खादै दौडनु पर्छ।”

प्रतियोगिता तयारीको लागि पनि दैनिक दौडनु पर्ने हुँदा,शरीर थकित भए पनि आँफुले महशुस नगर्ने बताउँछिन्। “बीचमा नै छोडौ, अब सक्तिन भने जस्तो मेरो मनमा नै आउँदैन, हरेक पल दौडनु मेरो कर्तब्य सम्झेकी हुन्छु।” उनले अनुभव सुनाईन्।

अयोग्य कोहिँ पनि हुँदैन

भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेर देखि नै माओवादी बनेकी थिइन् । लडाकू रहेकी मिरालाई माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनमा अयोग्य ठहर गरिएको हो।

नेपालीनेपालीडटकम  सँग कुरा गर्दै राईले भनिन्,” देशको लागि केहि गर्छु भनेर लागेकी थिए तर मलाई अयोग्य भनेर निकाल्दा नमिठो त लाग्यो तर कहिल्यै निराश बनिन।’ आँफु सरल ढंगबाट निस्केको बताउँदै उनले कत्ति पनि बिचलित नभई निरन्तर अध्ययन र मेहेनत गरेको सुनाईन्। उनि भन्छिन्, “सबै आफ्नो-आफ्नो क्षेत्रमा योग्य हुन्छन्। अयोग्य कोहिँ पनि हुँदैन। नेपालमा महिलाहरु अलि कमजोर रुपमा हेरिन्छ यो सोचाईमा परिबर्तन ल्याउँनु पर्छ।”

राज्यले एक रुपैयाँ दिएको छैन

फ्रान्समा मोन्ट ब्लंक म्याराथनको उपाधि जितेर चर्चा कमाए पछि पनि नेपाल सरकारबाट खेलका लागि कुनै किसिमको सहयोग नमिलेको उनि बताउँछिन्। विदेश यात्रामा वा तालिम लिदा हुने खर्च व्यक्तिगत सहयोगहरुबाट नै जुट्दै आएको सुनाईन्। उनलाई फ्रान्समा उपाधि जित्दा केहि नजिकका साथीहरुले मात्र म्यासेज गरेर बधाई दिएको बताईन्।Mira-Rai-Win-Marathon-du-Mont-Blanc-France-3-2उनि भन्छिन्,” राज्यले पनि बिस्तारै यो खेलको बारेमा बुझ्ला। नेपालमा पनि यस्ता प्रतियोगिताहरु गर्न सकियो भने, खेलमा लगानी गर्न सके, धेरै योग्य महिलाहरु निस्कन्छन्।” भविष्यमा सरकारको यस तर्फ ध्यान जानेमा धावक राईले आशा राखेकी छिन्।

अल्ट्रा दौड खेल्ने अबसर कसरी मिल्यो ?

आँफुलाई कराते सिकाउँने गुरु धुब्र बिक्रम मल्लले सुझावमा नै अल्ट्रा दौडमा लागेको राईले बताउँछिन्। तालिम गर्दा जति खेले पनि नथाक्ने भए पछि गुरुले लामो दौड तिर लाग्न सल्लाह दिनु भयो,करातेमा ब्लाक बेल्ट लिई सकेकी थिए त्यता छाडेर दौडमा लागे” उनले भनिन्।

राईले शुरुमा हिमाली आउट डोरबाट दौड शुरु गरेकी थिईन्। अल्ट्रा दौड शुरु गरेको २ बर्षमा नै यति धेरै चर्चा कमाएकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको भने १ बर्ष मात्र भएको छ।

उनले हङ्कङ्,अष्ट्रेलिया,फ्रान्स,नर्बे,ईटाली,स्बिजरल्याण्ड लगायतका देशहरु अल्ट्रा दौडमा भाग लिई केहि उपाधिहरु पनि जितेकी छिन्। स्पेनको प्रतियोगिता जितेर बिश्व च्याम्पियन बन्ने मिराको सपना रहेको छ।

तपाईको प्रतिक्रिया