यि हुन् बेलायतका १० चर्चित बर्ष व्यक्तित्वहरु


लन्डन । नेपालब्रिटेन डट कम् ले बेलायतस्थित विभिन्न क्षेत्रका चर्चित १० ब्यक्तिको छनोट गरेको छ । नेपालब्रिटेन डट कम् ले आफ्नो ९ औं वर्ष पुगेको अवसरमा प्रकाशित गरेको चर्चित १० नेपालीको पहिलो नम्बरमा डा. कपिल रिजाल परेका छन् ।

डा. रिजालले नेपालमा गएको भूकम्पपछि उनले खेलेको भूमिका एकाएक चर्चामा आएको हो । उनले गोरखा, धादिङ र सिन्धुपाल्चोकलगायतका जिल्लामा भूकम्पले घाइते बनाएका व्यक्तिको उपचारमा खटिएका थिए ।

उनले गोर्खा, धादिङ, सिन्धुपाल्चोकमा १ हजार दुई सय ५० सर्वाभल बक्स, ९ सय टेन्ट र एक सय ५० स्लिपिङ ब्याग वितरण गरेका थिए । यस्तै दोस्रो नम्बरमा ब्यवासायिक नर्स प्रसुना कंडेल परेकी छन् ।

नेपालब्रिटेन डट कम् ले आफ्नो बाषिर्क उत्सव पारेर हरेक बर्ष १० जनालाई मिडिया प्रसनालिटी अफ दी एअरको उपाधीले सम्मान गर्दै आएको छ । पछिल्लो बर्ष चर्चा कमाउने अन्य नेपालीमा क्रमशः सरला थापा, रामशरण सिम्खडा, रविजंग लामिछाने, डा. हेमराज शर्मा, काजी शेर्पा, ओम थापा, सचिन श्रेष्ठ र हितकाजी गुरुङ रहेका छन् । नेपालब्रिटेन डट कम् ले उनीहरुलाई नोभेम्बर महिनामा बिषेश कार्यक्रम गरी सम्मान गर्ने तयारी गरेको छ ।

अनलाइनले चर्चित ब्यक्तिको छनोटका लागि नोमिनेशन गर्न जुलाई महिनामा सार्वजानिक सूचना जारी गरेको थियो । तोकिएको समयभित्र प्राप्त करिब ३ दर्जन नामबाट उक्त छनोट गरिएको हो ।

वर्ष व्यक्तित्व २०१५ – किन चर्चामा रहे उनीहरु ?

डा. कपिल रिजाल
डा. कपिल रिजाल

१. डा. कपिल रिजाल

डा. कपिल रिजाल बेलायतमा कार्यरत स्वाथ्यकर्मी हुन् । भूकम्पपछि नेप्लीज डक्टर्स एसोसियसन युकेको एउटा टोलीको नेतृत्व गर्दै डा. रिजाल भूकम्प प्रभावित जिल्लाहरुतर्फ हानिए ।

आफ्ना साथीहरु सहित उनी गोरखा, धादिङ, सिन्धुपाल्चोकलगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाहरुको उपचारमा खटिए । सो टोलीले गोरखा, धादिङ, सिन्धुपाल्चोकमा १ हजार दुई सय ५० सर्भाभइल बक्स, ९ सय टेन्ट र १ सय ५० स्लिपिङ ब्याग पनि वितरण ग-यो ।

विभिन्न स्थानमा हेल्थ क्याम्प स्थापना गरेर धेरैलाई सेवा दियो । डा. रिजाल नेपाललाई विपद् परेका बेला २१ जना डाक्टरको टोली लिएर ८ दिनसम्म लगातार सेवामा खटिएका थिए । बेलायतको ब्यस्त समयलाई छल्दै उनले नेपालका विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य क्याम्प सञ्चालन गर्दै आएका छन् ।

उनीले स्वास्थ्य क्याम्पको टोलीलाई मुगु जिल्लासम्म पुर्याएर सयौं नेपालीको निःशुल्क स्वाथ्य जाँच गरे । आफ्ना पिता चर्चित चिकित्सक डा. भोला रिजाललाई आफ्नो आदर्श मान्ने डा. कपिलले भूकम्प पीडित जिल्लाहरुमा स्वास्थ्य सेवा जारी राख्‍ने पनि बताए।

प्रसुना कँडेल
प्रसुना कँडेल २. प्रसुना कँडेल 

नेपाली नर्सहरुको छाता संस्था नेप्लीज नर्सिङ एसोसियसन युकेकी उपाध्यक्ष रहेकी प्रसुना कंडेल मोडलिङ समेत गर्छिन् । विगत १० बर्षदेखि बेलायत बस्दै आएकी कँडेल एकजना सक्रिय समाजसेवी पनि हुन् ।

भूकम्प गए लगत्तै नेप्लीज नर्सिङ एसोसियसन युकेको एउटा टोलीको नेतृत्व गर्दै उनी धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका ९ वटा जिल्लामा अहोरात्र खटिइन् । सो टोलीले भूकम्प पीडित झण्डै दुईहजार परिवारको उपचारमा गरेको थियो ।

उनले बेलायतस्थित परोपकारी संस्था अक्सफामसँग आबद्ध रहेर विभिन्न परोपकारी कामका लागि फन्डरेज पनि गरेकी छिन् । हेल्प नेपाल नेटवर्कको रु १० करोडको अक्षयकोषका लागि एकजना संयोजकको रुपमा पनि काम गरेकी प्रसुना माइती नेपाल, पवित्र समाज नेपाल, रत्न आश्रम, रेन्बो चाइल्ड फाउन्डेन लगायतका थुप्रै परोपकारी संस्थामार्फत् मानवीय सहायतामा जुटेकी छिन । धादिङमा जन्मिएकी प्रसुना सामाजिक सेवाका अतिरिक्त विभिन्न म्यागजीनहरु, म्यूजिक भिडियो, शर्टमुभीज तथा –याम्पमा समेत सफल मोडलिङ गरेकी छन्।

सरला थापा
सरला थापा

३. सरला थापा
सरला थापा बेलायतस्थित नेपाली युवायुवतीका लागि प्रेरणाकी स्रोत हुन् भन्दा फरक पर्दैन । भूकम्पले आहत नेपाली वस्तीवस्तीमा पुगेर सरलाले दुःखको घाउमा मलहम पट्टी लगाउने काम गरिन् । काठमाडौं, सिन्धुपाल्चोक, गोर्खा जिल्लामा भूकम्प पीडितलाई सहयोग गर्न उनी लागि परिन् ।

बेलायतको बोर्नमाउथ विश्वविद्यालयमा मल्टिमिडिया अध्ययन गरिरहेकी सरलाले फोक्स्टोनमा चटपटे बेचेर वृद्धाश्रमकालागि फर्निचर पनि किनी दिएकी थिइन् । उनले फोक्स्टोनमै ट्यालेन्ट शो गरेर उठाएको रकमबाट बाग्लुङको एक स्कुल र माइती नेपाललाई सहयोग गरिन् ।

नेपाल गएका बेला उनले तयार परेको ‘भिलेज लाइफ’ भन्ने डकुमेन्ट्री शोबाट जम्मा भएको रकमले तनहुँस्थित युनिभर्स एकेडेमीलाई सहयोग गरिन् । नेपालमा भूकम्प गए लगत्तै उनले अनलाइनमार्फत पीडितहरुका लागि १५ हजार पाउण्ड जम्मा गरिन् । सहयोग संकलन सोचेभन्दा राम्रो भएपछि उनी बेलायतबाट डाक्टर र नर्स समेतको टोली लिएर नेपाल हानिइन् ।

उनले युवायुवतीलाई लक्षित गर्दै बीएफबीएस गोर्खा रेडियोमार्फत युवा भ्वाइस कार्यक्रम सञ्चालन गरेर कुलतमा उन्मुख युवायुवतीलाई सुमार्गमा ल्याउने काममा अग्रसरता पनि देखाएकी छिन्।

रामशरण सिंखडा
रामशरण सिंखडा

४. रामशरण सिंखडा
रामशरण सिंखडा बेलायतस्थित लोकतान्त्रिक नेपाली मन्चका अध्यक्ष हुन् । गैरआवासीय नेपाली संघ युकेको संस्थापकमध्ये रहेका सिम्खडाले पछिल्लो वर्षमा विभिन्न सामाजिक काममा सकृयता देखाएका छन् । एउटा राजनैतिक दलको भ्रातृ संस्थाको प्रमुख भए पनि आफ्नो समुदायलाई राजनीतिभन्दा माथि राखेर सहयोग गर्नु पर्छ भन्ने उनको भावनाका धेरैले प्रशंसा गर्दछन्।

सिंखडा नेपालमा भूकम्प गए लगत्तै पीडितहरुका लागि आर्थिक संकलनमा जुटे । संकलित रकमले धादिङ, नुवाकोटलगायतका क्षेत्रमा आफै उपस्थित भएर पीडितहरुको दुःखमा मलम लगाउने काम गरे । नेपालका द्वन्द्वपीडित बालबालिकाका लागि काम गरेका सिंखडाले पूर्वसभासद् शान्ता चौधरीको उपचारमा समेत सहयोगको हात फैलाए ।बेलायतमा विगत १४ बर्षदेखि बसोबास गर्दै आएका सिम्खडाले दाङका कम्लरी तथा मुक्त बालबालिकाकालागि शैक्षिक सामग्री उपलब्ध गराएका थिए ।

चेपाङ महिलाको आयआर्जन वृद्धिका लागि आर्थिक सहयोगको जोहो पनि उनकै सकृयतामा भयो । ताप्लेजुङको फुङ्लिङका अग्निपीडितहरुलाई सहयोग पुराउनपनि उनी पछि हटेनन् । नेपाली पत्रकारिताको विकासका लागि एनआरएन अन्तर्राष्ट्रिय पुरस्कारको स्थापना गर्न पनि सकृय रहेका सिंखडाले विभिन्न सामाजिक परियोजनाहरुका लागि करीब रु ५० लाख बराबरको सहयोग संकलन गरेर नेपाल पठाएका छन्।

रवि लामिछाने
रवि लामिछाने

५. रवि लामिछाने 
पर्वत जिल्लामा जन्मिएका रविजंग लामिछाने एकजना उम्दा र सफल युवा व्यवसायी हुन् । बेलायतमा गार्मेन्ट तथथा फेसन डिजाइनको व्यवसाय गर्ने लामिछानेले व्यक्तिगतरुपमा भूकम्पपीडित राहत कोषमा रु ५१ लाख नगद उपलब्ध गराएका थिए । त्यसबाहेक उनले कम्बल, झुल, लत्ताकपडा लगायतका भौतिक सामग्री पनि भूकम्प प्रभावित क्षेत्रहरुमा पु-याएका थिए।

उनले जिन्सी सामग्री नेपाली सेना र नेपाल प्रहरीसँग मिलेर वितरण गरेका थिए । लामिछानेले गत वर्ष सिन्धुपाल्चोकको जुरेका पहिरोपीडितहरुलाई ५ लाख रुपैयाँ सहयोग उपलब्ध गरेका थिए । आफ्ना स्वर्गीय पिताको स्मृतिमा काठमाडौंको धुम्बाराहीमा चन्द्रेश्वर महादेव मन्दिरको स्थापना गरेका लामिछाने कुरा हैन, काम गरेर देखाउनु आफ्नो मूलमन्त्र रहेको बताउँछन्।

डा. हेमराज शर्मा
डा. हेमराज शर्मा

६. डा. हेमराज शर्मा

बाग्लुङमा जन्मिएका डा हेम राज शर्मा लिभरपूल यूनिभर्सिटीमा भौतिक शास्त्रका सह प्राध्यापक हुन् । गैरआवासीय नेपाली संघको अभियानमा सकृय डा शर्मा पछिल्लो समयमा एनआरएन यूकेको विवाद मिलाउने सुत्रधारको रुपमा देखा परे । बेलायतको सबै नेपालीहरुको साझा सँस्था एनआरएन यूकेको भित्र देखिएको समस्यालाई विषेश अधिवेशन मार्फत टुङ्गाएर चर्चामा आए ।

गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने विश्व सम्मेलनको तयारीका लागि उनी निर्वाचन समितिको सदस्य तथा विधान संशोधन समितिको संयोजकको रुपमा सकृय छन् । गैरआवासीय नेपाली संघका पूर्ववक्ता एनआरएन अभियानका नेभिगेटर मानिन्छन।

त्रिभुवन विश्वविधालयबाट भौतिकशास्त्र विषयमा स्वर्ण पदक प्राप्त डा शर्मालाई वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय समितिले उनको अनुसान्धानको विषयको अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौ गर्न संयोजनको जिम्मेवारी दिएको छ। विश्वभरबाट २०० जना वैज्ञानिक सहभागी हुने यस्तो खालको सम्मेलन नेपालमा पहिलो चोटी गर्न लागिएको विश्वाश गरिएको छ। आँफूले अध्यापन गरेको लिभरपूर यूनिभर्सिटी सहयोगमा काठमाण्डौं स्थित अस्कल क्याम्पसमा करिब ५० लाखको विज्ञानको भौतिक सामाग्रीको सहयोग पुराएका छन् ।

उनी नेपालमा विज्ञान विषयको प्रवर्धन गर्न स्थापित एनआरएन साईन्स फाउण्डेसनको सँस्थापक सदस्य हुन। डा शर्माका भौतिकशास्त्र विषयमा ५० भन्दा बढी सोधपत्रहरु अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन।

अमलाचौर स्कुल पूर्वविधार्थी समाजका सँस्थापक अध्यक्ष समेत रहेका शर्माले आँफुले पढेको स्कुलको शैक्षिक गुणस्तरको लागि करिब ८० लाख रुपैंयाको लागतमा विधालय हातामा एक कम्पुटर र विज्ञान प्रयोगशालाको स्थापना गर्ने तयारी गरेका छन् । डा शर्माको सकृयतामा स्थापित बेलायतस्थित लिभरपूल युनाईट फर नेपाल र लिभरपूल नेपाली समाजले भूकम्प पीडितका लागि ३० लाख रुपैया भन्दा बढी संकलन गर्न सहयोग पुराए, जुन रकम सिन्धुपाल्चोकको ठोकर्प विधालयको निर्माणका लागि खर्च गरिनेछ ।

ओमप्रसाद थापा
ओमप्रसाद थापा

७. ओमप्रसाद थापा

ग्रेटर रशमोर नेप्लीज कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापा गुल्मी समाज युकेका संस्थापक अध्यक्ष पनि हुन् । सन् १९८५ देखि २००३ सम्म ब्रिटिश आर्मीमा सेवारत थापा बेलायतमा नेपाली संस्कृति प्रवर्द्धन र विकासमा जुटेका व्यक्तित्व हुन्। नेपाली संस्कृतिको विकासका लागि बेलायतमा पहिलो पटक नौमति बाजा झिकाउने जस उनैलाई दिइन्छ ।

नेपालकै झझल्को आउने गरी उनले नौमती बाजालाई बेलायतस्थित नेपाली समुदायमाझ लोकप्रिय बनाएका हछन् । सन् २००७ देखि २०१३ सम्म गुल्मी समाज युकेको नेतृत्व संहालेका थापाकै सक्रियतामा गुल्मी समाज युकेले गुल्मी जिल्लामा तीनवटा एम्बुलेन्स पठाएको छ। नेपालका भूकम्प पीडितको सहयोगार्थ सक्रिय थापाले आर्थिक र भौतिक सामग्री प्रशस्तै जुटाएका थिए ।

स्थानीय नेपाली समुदायमा परेको पीरमर्का बुझ्ने तथा बेलायतस्थित नेपाली समुदायको हितका लागि कार्यरत थापालाई कतिपय मानिसहरु आँखामा राखे पनि नबिझाउने समाजसेवी व्यक्तित्वको रुपमा पनि चिन्दछन्।

काजी शेर्पा
काजी शेर्पा

८. काजी शेर्पा

काजी शेर्पा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका निर्वतमान अध्यक्ष हुन् । बेलायती सेनाको जागीरबाट अवकाश लिएपछि उनी भगवान गौतम बुद्धको आदर्शलाई विश्वब्यापी बनाउने अभियानमा लागे । यसैक्रममा सन् २००७ मा बुद्धिष्ट कम्युनिटी सेन्टरको स्थापना गरी उनले बेलायतमा बुद्धधर्म अध्ययन केन्द्र स्थापना गरे ।

उनकै सकृयतामा बेलायतको अल्डशटमा भब्य बौद्ध गुम्बा भवनको बनेको छ । उनी सो भवनको उद्घाटनका लागि बौद्ध धार्मिक गुरु दलाई लामालाई नेपाली समुदायमाझ ल्याउन सफल भए । नेपालमा गएको भूकम्पपछि शेर्पाको सकृयतामा हजारौंका संख्यामा टेन्टहरु नेपाल पठाइयो । भूकम्प प्रभावित क्षेत्रमा खटिएका नेपाली डाक्टर तथा नर्सहरुको टोलीलाई आवश्यक ट्राभल खर्चको जोहोसमेत शेर्पाको सकृयतामा सोही सेन्टरले गरेको थियो ।

उनले चिल्ड्रेन फाउन्डेसन्, हेल्प नेपाल, सहारा युके लगायतका परोपकारी संस्थालाई विभिन्न माध्यमबाट सहयोग पनि गरेका छन्। तमुधिं युकेको गत वर्ष सम्पन्न नेपाली मेलामा बेष्ट कम्युनिटी लिडरको अवार्डसमेत जितेका शेर्पा बेलायतको सर्रे काउन्सिलमा एथ्निक माइनरिटीसंबन्धी निर्देशक समेत छन् ।

 सचिन श्रेष्ठ
सचिन श्रेष्ठ

९. सचिन श्रेष्ठ

गत जुन २८ तारिखमा बेलायतको विश्वप्रसिद्ध रोयल अल्बर्ट हलमा पहिलो पटक आयोजित नेपाली सांगीतिक कार्यक्रमले एउटा इतिहास रचेको छ। भूकम्पबाट क्षतिग्रस्त गोर्खा जिल्लाका विद्यालयहरुको पुनर्निर्माणमा सघाउने उद्देश्यले बेलायतस्थित एउटा कल्याणकारी संस्था हेल्पनेपाल नेटवर्क युकेको आयोजनामा नेपालबाट दीप श्रेष्ठ, ओमबिक्रम विष्ट, योगेश्वर अमात्यजस्ता चर्चित तथा वरिष्ठ कलाकारहरुको सहभागितामा एन इभिनिङ फर गोर्खा आयोजना गरियो।

सो कार्यक्रमको आयोजनामा आफ्ना साथीहरुसंगै रातदिन खटेर हेल्प नेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठ चर्चामा रहे। पेशाले चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठ गएको दश वर्षभन्दा बढी समयदेखि हेल्पनेपाल नेटवर्कसंग संबद्ध छन्। सन् २००० मा बेलायत आएपछि उनी विदेश पढन आउने विद्यार्थीहरुलाई सही सूचना र सल्लाह दिन गठित Worldwide Nepalese Students’ Organisation (WNSO) संग आबद्ध भए।

सन् २००६ मा उनी सो संस्थाको अध्यक्ष हुँदा WNSO का १९ वटा मुलुकहरुमा शाखा विस्तार भैसकेको थियो। यसबाहेक गोर्खाली समाज युके, पासपुच गुठी जस्ता संस्थाहरुसंग आबद्ध श्रेष्ठ नेप्लीज युथ एसोसियसन साउथइष्ट लण्डनका महासचिव पनि हुन्। फुटबलका शौखिन श्रेष्ठ गएको चार वर्षदेखि सन्चालन भैरहेको ग्रीनविच क्लब फुटबलका उनी संयोजक पनि हुन्। उनी खासगरी युवाहरुलाई सामाजिक काममा प्रोत्साहित गर्नुपर्ने धारणा राख्दछन्।

हितकाजी गुरुङ
हितकाजी गुरुङ

१०. हितकाजी गुरुङ

पर्वत वेलफेयर सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङ बेलायतको नेपाली समाजका एक चर्चित नाम हुन्। नेपालमा भूकम्प गएको समाचार सुन्नासाथ समाजसेवी गुरुङ भूकम्प पीडितहरुको सहायताका लागि सक्रिय भए।

व्यक्तिगत रुपमा सक्दो सहयोग गर्नुका साथै भूकम्प पीडितहरुका लागि सहयोग जुटाउन उनी अग्रपंक्तिमा रहे। बेलायतमा संकलन गरिएको रकम प्रधानमन्त्री राहत कोष मा पठाउनुका साथै जापान स्थित व्यवसायी महेन्द्र श्रेष्ठ, एनआरएन युकेका पूर्व अध्यक्ष कुल आचार्य समेतको सहयोग मा पर्वत जिल्ला का २०० भन्दा बढी घरहरुमा जस्ता पाता छाउन उनले सहयोग गरे।

यसबाट उनकै पहलमा पर्वतका आठवटा स्कुलहरुलाई अस्थायी सिकाई केन्द्र हरु बनाउन पचास हजार रुपियाको दरले सहयोग पुग्यो। तमुधी युके, ग्रेटर रसमुर नेपाली समाज, एनआरएन युके,सहारा युके लगायतका संस्थाहरुमा सक्रिय गुरुङले हेल्प नेपाल नेटवर्कको दश करोड रुपियाको अक्षयकोष स्थापनामा पनि सहयोग पुराएका थिए।

प्रत्येक पटक नेपाल जाँदा गाउँगाउँ मा के सहयोग गर्न सकिन्छ भनेर सोधखोज गर्ने गुरुङ भन्छन्, बेलायतमा बसेका सबै नेपालीले आफ्नो गाउँठाउँका लागि सक्दो सहयोग गरिरहेका छन्। त्यो हाम्रो धर्म पनि हो। हुन पनि ‘मन, वचन र कर्मले सेवा गरौ’ भन्ने भनाइ हितकाजी गुरुङको जीवनको मूल मन्त्र नै बनेको छ।