अल्ट्रा दौडमा भाग लिन नेपाली चेली मिरा राई स्पेनमा,


बसन्त रानाभाट
बार्सिलोना/ फ्रान्समा मोन्ट ब्लंक म्याराथनको उपाधि जितेर चर्चा कमाएकी नेपाली चेली मिरा राई फेरि अर्को सफलता हात पार्ने उदेश्य बोकेर स्पेनमा आईपुगेकी छन्। आगामी शनिबार स्पेनको पिरेना बागामा हुने “सालोमन प्रिनेउ अल्ट्रा दौडमा” भाग लिन धावक राई स्पेन आएकी हुन्।

संसारकै पाँच उत्कृष्ट दौड मध्ये पर्ने १ सय १० किलोमिटर लामो ‘सालोमन अल्ट्रा दौड’ काडी मोक्सेरो नेशनल पार्कबाट शुरु भएर बार्सिलोना स्थित बागामा आएर टुंगिने छ।
पूर्व माओवादी लडाकू समेत रहेकी मिराले यस अघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि जित्दै नेपालको शान बिश्व भर फैलाएकी थिईन्।

राईलाई संसारकै उत्कृष्ट धावकहरुले सहभागिता जनाउने स्पेनको अल्ट्रा दौडमा भाग लिने अबसर उनकी ईटालियन गुरु टिटे टोग्नीले मिलाएकी हुन्।

म्याराथन दौडमा भाग लिन आएकी राईले बार्सिलोना स्थित बिमानस्थलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै आँफूले सक्दो प्रयास गर्ने बताएकी छन्। उनले भनिन्,”अल्ट्रा दौडमा कैयौ पटक उपाधि जितेका र रेकर्ड बनाएका धावकहरु पनि सँगै छन् तर मेरो तर्फबाट सक्दो कोशिस गर्ने छु।”

भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेर देखि नै माओवादी बनेकी थिइन् । लडाकू रहेकी मिरालाई माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा अयोग्य भन्दै निकाएको थियो।

निराश भएर गाउँ फर्किएकी मिरालाई कराते खेलाडी साथी पुर्निमा मगरले काठमाडौं बोलाइन् । सन् २०१३ मा ५० मिलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि मिराको जीवनले नयाँ मोड लियो । अझ फ्रान्समा सम्पन्न मोन्ट ब्लंक म्याराथनको उपाधि जिते पछि उनको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै चर्चा चुलिएको छ।

बार्सिलोनामा भब्य स्वागत तथा शुभकामना

नेपाली जनप्रगतिशील मञ्च स्पेनले धावक राईलाई बार्सिलोना स्थित बिमानस्थलमा स्वागत गर्दै प्रतियोगिताका लागि शुभकामना ब्यक्त गरेको छ। पिरेना बागा तर्फ प्रस्थान गर्न लागेकी राईलाई हौसला प्रदान गर्न स्पेनका नेपालीहरु विमानस्थल पुगेका थिए।12006958_913682282031426_960245294_oमञ्चका संस्थापक अध्यक्ष ईश्वर शर्मा,अध्यक्ष गंगाप्रसाद भुसाल,सल्लाहकार गोपाल रेग्मी लगायत सहभागीहरुले राईलाई शुभकामाना ब्यक्त गरे। राईले आँफुलाई गरेको स्वागतबाट ठुलो हौसला मिलेको प्रतिक्रिया दिईन्।

उनलाई थप हौसला प्रदान गर्नको लागि स्पेनका नेपालीहरु शनिबार बागा जाने बताएका छन्। मञ्चले प्रतियोगिता सम्पन्न भए पछि बार्सिलोनामा राईलाई सम्मान गर्ने जनाएको छ।