लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने जापान प्रस्थान


राजाराम पौडेल /पोखरा ।

नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज पर्व नजिकिदै गर्दा देश र विदेशका विभिन्न ठाउँमा कार्यक्रमका आयोजना भैरहेका छन् । यस्ता कार्यक्रममा भागलिन नेपाली साँगीतिक क्षेत्रका कलाकार व्यस्त छन् ।

यसै क्रमम चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने शुक्रबार जापान प्रस्थान गरेका छन् । भुकम्प पिडित विद्यालय तथा अपाङको सहयोगार्थ स्याङजा समाज जापानले आयोजना गरेको तीज विशेष साँगीतिक कार्यक्रम २०१५ भाग लिन न्यौपाने जापान गएका हुन् ।

तिजको गन्थन भाग–१ देखि भाग–७ सम्म र अन्य तीज गीतमा स्वर भरेका उनले विदेशमा रहेका नेपालीलाई सन्देश प्रदान गर्दै तीज गीतको महत्व झल्काउने साँगीतिक कोशेली पस्कने योजना बनाएका छन् ।

तोसीमा कुमिन सेन्टर, इकेबुकुरो टोकियो जापानमा भाद्र २६ (सेप्टेम्बर १२) दिउँसो ४ बजे कार्यक्रम हुनेछ । कार्यक्रममा न्यौपानेले तीज गीतका अलावा आफ्ना चर्चीत साँगीतिक कोशेली दर्शकहरुलाई सुनाउने छन् । कार्यक्रम सकाएर भाद्र ३१ गते (१७ सेप्टेम्बर) नेपाल फर्कने उनले बताएका छन् ।

वि.स २०४६ सालमा ‘वलाम देवि थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका न्यौपानेले भुकम्प पिडित विद्यालय र अपाङको सहयोगार्थ हुने कार्यक्रममा भाग लिइ पिडितहरुको पिडामा मलम लगाउने अवसर पाएकोमा खुशी छन् ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष न्यौपानेका हालसम्म पाँचसय भन्दा बढी गीत दर्शक श्रोतामाझ आइसकेका छन्  । उनको साथमा गायिका  शान्ति सुनुवार पनि जापान प्रस्थान गरेकी छन् ।