एनआरएन युवा संयोजकमा फ्रान्सबाट निर्मल अर्यालको उम्मेद्‍वारी


– वसन्त रानाभाट
बार्सिलोना/
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युवा संयोजक पदका लागि फ्रान्सबाट निर्मल अर्यालले उम्मेद्वारी घोषणा गरेका छन्। फ्रान्समा नै बसेर सिभिल ईन्जिनियरिङ्गमा मास्टर डिग्री तथा एमफिल गरिसकेका अर्यालले, आफ्नो अनुभवलाई एनआरएन भित्रै सदुपयोग गर्ने भन्दै उम्मेद्वारी घोषणा गरेका हुन्।

आगामी अक्टोबरमा नेपालमा हुने बिश्व सम्मेलनको मौसम प्रबासमा ह्वात्तै तातिरहेका बेला ३९ बर्षिय अर्यालले युवासंयोजकमा रही काम गर्ने ईच्छा ब्यक्त गरेका छन्।
बिगत २५ बर्ष देखि नै फ्रान्समा बसोबास गर्दै आएका अर्यालले सन् २००७ मा एनआरएन फ्रान्सको युवा प्रतिनिधि हुँदै सन् २००९ मा राष्ट्रिय समन्वय परिषद फ्रान्सको अध्यक्ष पदमा रही काम गरिसकेका छन्।

अर्यालले भने,” हजारौको संख्यामा युवा युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रबासमा रोजगारीको लागि उड्नु पर्ने बाध्यतालाई अन्त्य गर्दै नेपालमै रोजगारीको बाताबरण सृजना गर्न पहल गर्नु पर्दछ।” यसका लागि सम्वन्धित सरकारी तथा गैर सरकारी निकायहरुसँग सहकार्य गरि उद्दमी कौशलताको बिकास गर्न आँफू लागि पर्ने बताए।

युवा संयोजक पदमा उम्मेद्वारी घोषणा गरेका अर्यालले भने “प्रबासमा अध्ययन गर्न आईरहेका थुप्रै युवा युवतीहरुले बिदेशमा दुख पाईरहेको अबस्था छ।” यसको लागि एनआरएनले बिशेष पहल गर्नु पर्छ भन्दै उनले उपयोगी पुस्तिका तयार गर्न पनि सबैले जोड दिनु पर्ने बताए।

विदेश पढ्न आउँने बिद्यार्थीहरुको अभिलेख हरेक देशमा राष्ट्रिय समन्वय परिषदले राखेमा उनीहरुका समस्या पहिचान गर्न सजिलो हुने उनको धाराणा रहेको छ।

अर्यालले बिदेशमा रहेका दोस्रो पुस्ताका बालबालिकाहरुको बिषयमा,नेपाली भाषा,संस्कृति,पर्यटन प्रबद्दन,सेमिनार,गोष्ठी,खेलकुद जस्ता फरक फरक बिषय बस्तुमा आफ्नो योजना सहितको खाका समेत सार्बजनिक गरेका छन्।

को हुन् निर्मल अर्याल ?

गोर्खा जिल्ला घर भएका अर्याल सानै उमेर देखि फ्रान्समा बसोबास गर्दै आएका दोस्रो पुस्ताका नेपाली हुन्। आफ्नो ३ पुस्ता नै पेरिस बस्दै आएको भए पनि उनि पटक पटक नेपाल पुग्ने गरेको बताउँछन्।

फ्रान्सको समुदायसँग घुलमिल रहेर बिदेशी हावापानीमा हुर्के पनि आफूलाई सधैँ नेपाली भुमि प्रति स्नेह र प्रेम भएकोले पनि गैर आबासीय नेपाली संघ सँग सधैँ नजिक रहने प्रेरेणा मिलेको अर्याल बताउँछन्।

आफ्नो अध्ययन पछि पनि अर्याल अन्तर्राष्ट्रिय संस्थानमा आफ्नै विशेषज्ञता विषयमा मेनेजर तहमा काम गरिरहेका छन्।उनि बिगत ६ बर्ष देखि एक अन्तर्राष्ट्रिय सहकारी बैंक क्रेडिट मिट्युल शाखाको संचालक समितिको अध्यक्ष पदमा रही अनुभव बटुलेका छन् ।

यस्तै उनले सन् २०१२ मा आँफू रहेको नगरपालिका अन्तर्गत विदेशी नागरिक र विदेशी मूलका नागरिकको हक – हित सम्वन्धित समितिको निर्बाचित अध्यक्ष भएर २ बर्ष काम गरे।

समाजिक सेवामा अर्यालको झुकाव

परोपकारी र सामाजिक सेवामा झुकाव राख्दै अर्यालले योगदान पुर्याउँदै आएका छन्। नेपाल पुग्दा प्राय: पहाडी दुर्गम क्षेत्र र तराईको गाँउमा पुग्न रुचाउँने अर्यालले प्युठान जिल्लाको पनि विकट क्षेत्र बंदिकोट स्थित स्कुलको भवन निर्माणका लागि ४० लाखको योजना सहित काम अगाडि बढाएका छन्। यसका लागि फ्रान्स स्थित बिदेशी समुदायबाट रकम संकलन कार्य जारी राखेको जानकारी दिए।

यस्तै अर्यालले सोहि क्षेत्रका २ जना छात्राहरुलाई शिक्षादीक्षा दिने जिम्मेबारी सम्हालेका छन्। आर्थिक स्थिति अति नै कमजोर भएका ति दुई छात्राहरुलाई सन् २०१४ देखि १० बर्ष सम्म पढाउँने जिम्मा लिएको अर्यालले बताएँ।

आँफू एनआरएनको युवा संयोजकमा रही काम गर्ने अबसर मिलेमा एनआरएन महिला संयोजक सँग सहकार्य गरि दुर्गम क्षेत्रका छात्राहरुलाई यसरी नै स्कुल पठाउँने आफ्नो बिशेष योजना समेत रहेको सुनाए।