खगेन्द्रको बिहे गर्ने रहर ज्यूँका त्यूँ, राम्री केटी देख्नेबित्तिकै बिहे गर्ने चाहना


सन्देश श्रेष्ठ

पोखरा । विश्वकै होचा व्यक्तिका रुपमा कीर्तिमानी राखेका चन्द्रबहादुर डाँगीको निधनले यही विधाका पूर्व कीर्तिमानधारी खगेन्द्र थापामगर ‘स्तब्ध’ बनेका छन् । चन्द्रबहादुरको निधनपछि होचाहरुको सुचीमा दोस्रो स्थानमा उक्ले पनि उनलाई कुनै खुशी छैन ।

गिनिजबुकमा नाम लेखाएपछि सेलिब्रिटीझैं बनेका खगेन्द्र आफ्नो कीर्तिमान खोसिएपछि एकाएक ओझेल परे । हाल उनी पोखरामा गुमनाम जीवन बाँचिरहेका छन् । यद्यपि फाट्टफुट्ट मेला र महोत्सवहरुमा उनको ‘डिमान्ड’ अझै छ ।

खगेन्द्रले आफ्नो नाममा खुलेको प्रतिष्ठानमार्फत औपचारिकरुपमै डाँगीको निधनमा दुःख व्यक्त गरेका छन् । खगेन्द्रको भनाइ उद्वत गर्दै प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले भने, ‘मैले गुमाएको कीर्तिमान उहाँले नेपालमै फर्काउँदा खुशी लागेको थियो । उहाँको निधनबाट स्तब्ध बनेको छु ।’

यसअघि विश्वकै होचा व्यक्तिको ताज फिलिपिन्सका नागरिकले खोसेका थिए भने त्यसलाई फेरि चन्द्रबहादुरले नेपालमै फर्काएका थिए ।

चारवर्षदेखि एलकेजीमै

खगेन्द्र पोखरा शिवालय चोकमा रहेको सरस्वती बोर्डिङ स्कुलमा अध्ययन गर्छन् । उनी ४ वर्षदेखि एलकेजीको एलकेजीमै रोकिएका छन् । स्वदेशमा हुने मेला महोत्सव तथा विदेशमा हुने विविध कार्यक्रममा सहभागी हुन जाँदा पढाइमा उनले प्रगति गर्न नसकेको प्रतिष्ठानका अध्यक्ष रानाले बताए ।

भ्रमण नभएका बेला भने उनी दैनिक स्कुल जान्छन् । स्कुलले उनलाई निःशुल्क पढाइरहेको छ । वागलुङ्ग धुल्लु बासकोट घर भएका उनी आफ्ना बुबा रुपबहादुर र आमा धनकुमारीका साथ हाल पोखरा सिर्जनाचोकमा भाडामा बस्दै आएका छन् ।
उमेरले २३ औं वसन्तमा हिँडिरहेका उनको उचाइ ६७.०८ सेन्टिमिटर छ भने र तौल ६ केजी मात्र छ ।

बिहे गर्ने रहर ज्यूँका त्यूँ

रमाइलो स्वाभावका खगेन्द्रको बिहे गर्ने रहर अहिले पनि ज्यूँका त्यूँ छ । मेला महोत्सवमा राम्री केटी देख्नेबित्तिकै उनी बिहे गर्ने चाहना राखिहाल्छन् । केही वर्षअघि नायिका रेखा थापासँगको भेटपछि उनले बिहेको प्रस्ताव गरेका थिए । उनले रेखालाई गालामा चुम्बनसमेत गर्न भ्याइसकेका छन् ।

चट्पटे बेच्छन् बुबा

खगेन्द्रका बुबा रुपबहादुर चना चटपटे बेच्छन् । यही कमाइबाट खगेन्द्रको गुजारा चल्ने गरेको छ । खगेन्द्रलाई घरमा भेट्न हाल कमै मानिसहरु मात्र जान्छन् ।
मेला महोत्सवको सिजनमा उनको कमाई राम्रै भए पनि अन्य समयमा कमाइ नहुने भएकाले बुबाको कमाइबाटै गुजारा चल्ने गरेको प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए ।

खगेन्द्रका बुबा रुपबहादुरले निवास नजिक सिर्जनाचोकमै सटर लिएर चना चटपट बेच्ने गर्छन् । उनले दैनिक ५ सय देखि १ हजारसम्म नाफा कमाउने गरेको बताए । खगेन्द्रको खानपिन आम मानिसको जस्तै सामान्य छ ।

उपचार पनि निशुल्क

खगेन्द्रको पोखरास्थित फेवासिटी हस्पिटलका चिकित्सक हुमप्रसादले नियमित चेकअप गर्ने गरेका छन् । उनलाई खासै शारीरिक समस्या छैन । तैपनि ३/३ महिनामा न्यौपानेले चेकअप गर्ने गरेका छन् । केही समस्या देखिएमा औषधीका लागि चाहिने खर्च प्रतिष्ठानले बेहोर्ने गरेको छ ।

४० देश भ्रमण गरिसके

खगेन्द्रले अहिलेसम्म हङकङ, मलेसिया, सिंगापुर, जापान लगायत ४० भन्दा बढि देशको भ्रमण गरिसकेका छन् । अघिल्लो महिना मात्र उनी जापान भ्रमणमा गएका थिए भने दशैं लगत्तै थाइल्याण्डको भ्रमण गर्ने प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए ।
तर, यतिधेरै देशको भ्रमण र स्वदेशमै मेला-महोत्सवमा सहभागि भएपनि खगेन्द्रको पारिवारिक तथा आर्थिक अवस्थामा भने सुधार आएको छैन । स्वदेशमा हुने मेला महोत्सवमा १० हजारदेखि २५ हजारसम्म दिने गरेको अध्यक्ष रानाले बताए । विदेश भ्रमणमा भने खर्च मात्रै बेहोर्ने गरेको र पारिश्रमिक नआउने उनको भनाई छ ।