एक हजार घर निर्माणमा सरकारले छिटो अनुमति दिनु पर्यो – एनआरएन


काठमाडौं । गैरआवासीय नेपाली संघले निर्माण गर्न लागेका एक हजार भूकम्प प्रतिरोधी घरका लागि छिटो अनुमति दिन सरकारसँग माग गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सोमबार शहरी विकाशमन्त्री नारायण खड्कासँग भेट गरी घर निर्माण गर्ने स्थान तोकिदिन आग्रह गरेको गैरआवासीय नेपाली संघको सचिवालयले जनाएको छ ।

भूकम्प पश्चात गैरआवासीय नेपालीहरुले निकै तत्परताका साथ राहत वितरण कार्यको अगुवाई गरेको स्मरण गराउँदै घलेले पुनःनिर्माण अभियानमा सरिक हुने गैरआवासीय नेपालीहरुको चाहनालाई सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

गैरआवासीय नेपाली संघले ३५ करोड रुपैयाँको लागतमा एक हजार घर निर्माण गर्ने घोषणा गरेको थियो । सोहीअनुसार संघले निर्माणका लागि सवै प्रकृया पुरा गरी अनुमतिका लागि शहरी विकाश बिभागसमक्ष प्रस्ताव पेश गरेको छ ।

‘सरकारलाई जहाँजहाँ धेरै आबश्यकता परेको छ त्यसको प्राथमिकता हेरेर साइट तोकिदिनुपर्‍यो’ अध्यक्ष घलेले भने-बिभागमार्फत् स्वीकृतिका लागि मन्त्रालयसमक्ष आएको प्रस्तावलाई स्वीकृति गरिदिनुभयो भने हामी आगामी एनआरएन दिवस-अक्टोबर ११)बाटै पुनःनिर्माणको काममा लाग्ने तयारी गरिरहेका छौं ।’

यसरी निर्माण गरिने घरहरु भूकम्प प्रतिरोधी हुनुका साथै आवास क्षेत्रमा स्वास्थ्य र शिक्षाका पूर्वाधारसमेत तयार गरिने र स्थानीय समुदायलाई स्वरोजगारको अबसर समेत सिर्जना गरिने घलेले जानकारी दिए ।

जवाफमा मन्त्री खड्काले पुनःनिर्माणमा सहयात्री बन्ने गैरआवासीय नेपाली संघको भावनाको कदर गर्दै सकेसम्म छिटो आवास निर्माणका लागि साइट उपलब्ध गराइने बचन दिएको एनआरएन सचिवालयले जनाएको छ ।

पुनःनिर्माण प्राधिकरणको संचालनमा केही कानुनी अडचन देखिएका कारण पुनःनिर्माण अभियान नै ढिला भइरहेको भन्दै मन्त्री खड्काले त्यसलाई समाधान गर्न सरकार लागिपरेको बताएका थिए ।

यसैगरी अध्यक्ष घलेले शहरी बिकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीसँग पनि भेट गरी गैरअवासीय नेपालीहरु तथा संघले निर्माण गर्न लागेको आवास गृहबारे अवगत गराउँदै यस सम्बन्धि प्रकृया छिटो भन्दा छिटो स्वीकृत गरिदिन अनुरोध गरेको अनलाईन खबरले जनाएको छ।