एनआरएन स्पेनको कार्यालय खोल्नका लागि ८ हजार युरो संकलन, कार्यालय खोल्ने पक्का


वसन्त रानाभाट
बार्सिलोना /
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आफ्नो कार्यालय स्थापना गर्नको लागि ८ हजार ३ सय ८७ युरो संकलन गरेको छ। संघले गत बुधबार बार्सिलोनामा सम्पन्न च्यारिटी डिनर कार्यक्रमबाट रकम संकलन गरेको हो। स्पेनबासी नेपाली समुदायहरुको समस्या समाधान गर्नको लागि कार्यालय नै पहिलो प्राथमिकता भएको ठहर गर्दै, संघको नयाँ कार्यसमितिले सहयोग संकलन गरेको हो।

दुई बर्षको अवधिमा करिब १८ हजार युरो कार्यालय खर्च लाग्ने अनुमान गरिएको छ। तर संघले हाल संकलन भएको रकम कार्यालय सहयोगार्थ जुटेको भएँ पनि हरेक महिना हुने खर्च बिभिन्न शिर्षकबाट जुटाउँने जनाएको छ। कार्यालय खर्चको लागि यहाँ बस्ने नेपालीहरुको आवेदन तथा कागजी कारबाही बापत न्यूनतम शुल्क तोक्ने,कार्यसमितिका सदस्यहरुबाट कार्यलय खर्च शिर्षकबाट मासिक रुपमा रकम उठाउँने योजना समेत संघले लिएको छ।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले कार्यालय स्थापनाको लागि १ हजार ५ सय युरो र युरोप संयोजक अर्जुन कुमार श्रेष्ठले ९ सय ९९ युरो सहयोग गरेका छन्। च्यारिटी डिनरको कार्यक्रमबाट घले र श्रेष्ठले सहयोग गरेका हुन्।

सोहि कार्यक्रमबाट नै स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरु,लगायत सर्बसाधारणले सहयोग प्रतिबद्दता रकम बोले पछि ८ हजार युरो भन्दा बढी रकम सहयोग पाप्त भएको हो। कार्यक्रमबाट कार्यलयको लागि ३ महिनाको भाडा रकम समेत, प्रतिबद्दता जुटेको संघले जनाएको छ।

स्पेनमा किन आवाश्यक छ कार्यालय?

धेरै समस्याहरु भोग्दै आएका स्पेनबासी नेपालीहरुले,आफ्नो समस्या र दुख पोख्ने ठाँउ समेत नभएको गुनासो गरेकोले, कार्यलय खोल्ने तयारी गरेको संघले जनाएको छ। नेपालीहरुलाई पर्ने विभिन्न समस्याको सहि रुपमा सम्बोधन गर्न सर्बसाधारणका आवाज र गुनासोहरुलाई सुनेर सम्बोधन गर्न कार्यलय जरुरी रहेको संघको ठहर छ।

नेपालबाट भर्खर स्पेन आएका नेपाली बालबालिकाहरुले स्पेनिस भाषा बोल्न नजान्ने, फेरि यतै जन्मेका नेपाली बालबालिकाहरुले नेपाली भाषा लेख्न र पढ्न नजान्ने हुँदा, नेपाली पाठशालालाई ब्यबस्थित गर्न कार्यलय भएँ पछि सजिलो हुने देखिएको छ।

यस्तै भर्खर स्पेन आएका नेपालीहरुलाई स्पेनिस भाषा सिक्ने थुप्रै ठाँउहरु भएँ पनि,नेपालीहरुबाट नै सिकाउँने ब्यबस्था गर्न सके प्रभाबकारी रहने भन्दै संघले यसको शुरुवात कार्यलयबाट कोशिस गर्ने जनाएको छ। संघले एनआरएन बारेको अभियान प्रत्येकको घर घरमा पुर्याउँने, पंजीकृत सदस्य बिस्तार गर्ने कार्य पनि कार्यलयबाट ब्यबस्थित ढंगबाट संचालन गर्ने जनाएको छ।

स्पेनमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्ने कार्यलाई पनि शुरु गर्न,दुताबास सँग सम्पर्क गरि आई परेका समस्याहरुको समाधान गर्न,स्थानीय कलाकारहरुबाट संगीत बारे बालबालिकाहरुलाई प्रशिक्षण दिन पनि कार्यलय स्थापना पछि सहज हुने संघको ठहर छ।

यस्तै एमआरपी राहादानी र आवश्यक कागज पत्र बनाउने कामलाई सरलिकरण गर्न कम्तिमा ६/६ महिनामा नेपाली दुतावासबाट घुम्ती टोली आउँदा समेत कार्यलयबाट नै काम अगाडि बढाउँने संघले जनाएको छ।

संघका अध्यक्ष गुरुङ के भन्छन् ?

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले कार्यालय स्थापनाका लागि केन्द्रिय अध्यक्ष,युरोप संयोजक एबम स्पेनबासी नेपाली समुदायले सहयोग गरेकोमा खुशी ब्यक्त गरेका छन्।

आँफु अध्यक्ष बनेको ३ महिना भित्रमा कार्यलय स्थापना गर्ने प्रतिबद्दता ब्यक्त गरेका गुरुङले, शुरुवातमा नै सहयोग जुटेकोमा खुशी ब्यक्त गरेका हुन्। अध्यक्ष गुरुङले आँफुले कार्यभार समालेको एक महिना पनि नबित्तै, कार्यलय खोल्ने आफ्नो पहिलो बचन पुरा गर्न, सहयोग पुर्याएकोमा सबैलाई आभार समेत प्रकट गरेका छन्।

गुरुङले भने,”एनआरएन अध्यक्षले झोला बोकेर,त्यसैलाई नै कार्यलय बनाउँनु बाध्यतालाई अन्त्य गर्नु पर्छ त्यसैले लागि परेका हौ। हामीले अहिले उठेको रकम सबै खर्च गर्दैनौ,दुई बर्षलाई मात्र रकम जुटाउँने अनि सबै खर्च गरेर आगामि कार्य समितिलाई अप्ठारो पार्ने उदेश्य होईन।

त्यसैले हरेक महिना कार्यालयलाई लाग्ने आबश्यक खर्च बिभिन्न शिर्षकमा उठाउँने छौ” गुरुङले भने, कार्य समितिका सदस्यहरुलाई पालैपालो कार्यलयमा राखेर नेपालीहरुको सहयोगमा निरन्तर खट्ने बताउँदै उनले एकहप्ता सबै सदस्यहरुलाई एमआरपी फाराम भर्न, लगायत कागाजी कामहरु बारे दक्ष बनाउँन तालिम दिने बताएका छन्।

स्पेनका रहेका सबै संघ सस्थाहरुलाई आ-आफ्ना नियमित बैठकहरु रेष्टुरेन्ट,बारहरुमा बस्दै आएको भए पनि अब एनआरएन कै कार्यलयबाट बैठक राख्न अनुरोध गर्दै अध्यक्ष गुरुङले त्यहाँबाट पनि कार्यलयको मासिक खर्च जुट्ने आशा ब्यक्त गरेका छन्।

सन् २००७ मा संघको स्थापना भएँ पनि संघको आफ्नो कार्यालय नहुँदा रेष्टुरेन्ट,बारहरुमा बैठक,छलफल हुँदै आएको छ। संघ सस्थाहरुले रेष्टुरेन्ट बारमा बैठक बस्दा, खर्च गर्ने रकम कार्यालय खर्चका लागि छुट्टाईदिने हो भने पनि संघको कार्यालय निरन्तर रुपमा चल्न सक्ने देखिएको छ।

सहयोगदाताहरु नामावली हेर्न यहाँ क्लिक गर्नुहोला।