शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा


शेर्पा संघ, यूरोपको संघको स्थापना २४ जुलाई २०१० मा भएकोले साधारणतया: महाधिवेशन समय जुलाई/अगस्त महिनातिर पर्न जाने र महाधिवेशन आयोजना हुने वर्षमा संघका कार्य समितिका पदाधिकारीहरुलाई संघको वार्षिक बैठक र महाधिवेशन गरी दुई पटक समय छुट्टयाउनु पर्ने र बढी आर्थिकभार पर्न जाने भएकोले संघको तेश्रो महाधिवेशन करीब ४ महिना अगावै आगामी सन् २०१६ को लोसारको समय पारेर आयोजना गर्ने भएको छ।

उक्त निर्णय गत २८ अप्रिल २०१५ मा संघका अध्यक्ष श्री हेम शेर्पाको अध्यक्षतामा सम्पन्न संघको १२ औं अनलाइन बैठकले गरेको जानकारी प्राप्त भएको छ। विधान अनुसार संघको महाधिवेशन प्रत्येक ३ वर्षमा गर्ने र विशेष परिस्थितिमा सो अवधी भन्दा ६ महिना अघि वा पछि गर्ने प्रावधान रहेको छ ।

त्यसै गरी गत २९ अप्रिल २०१५ वुधवारको दिन बसेको संघको आकस्मिक अनलाइन बैठकद्वारा गत २५ अप्रिल र १२ मे २०१५ मा नेपालमा गएको विनाशकारी महाभूकम्पबाट वेपत्ता भएकाहरुको शीघ्र उद्धार, घाइतेहरुलाई शीघ्र उपचार र पीडितहरुलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यले यूरोपका सबै देशका किदुगहरुको अध्यक्षहरु र किदुग गठन नभएका देशहरुको हकमा शेर्पा संघ, यूरोपमा संयोजकको रुपमा प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सदस्यहरु संयोजक रहेको “शेर्पा संघ, यूरोप भूकम्प पीडित सहयोग समिति-२०७२” गठन गरी नेपाल शेर्पा संघ मार्फत वितरण गर्ने निर्णय गरिए वमोजिम संकलित रकम बारे अपडेट गर्दा जम्मा रु. १९,०६,६३६/२० संकलन गरी नेपाल शेर्पा संघलाई हस्तान्तरण गरी सकेको विवरण अपडेट भएको छ ।

थोरै समयमा यति ठूलो रकम संकलन गरी शेर्पा संघ, यूरोपको अभियानमा अमूल्य साथ दिई भूकम्प पीडितहरुको उद्धार कार्यमा आर्थिक सहयोग पु-याउनु भएकोमा यूरोपका सम्पूर्ण शेर्पा किदुगहरु लगायत संघको अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण यूरोपवासी महानुभावहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद प्रस्ताव सो बैठकले पारित गरेको थियो ।

संघको अघिल्लो बैठकद्वारा पारित गरिएको शेर्पा किदुग, पोर्तुगलद्वारा संचालित आपतकालीन राहत कोष वृद्धिको लागि सहयोग गर्ने निर्णयलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन कबोल गर्नुहुने महानुभावहरुले आगामी १२ अगस्तसम्ममा शेर्पा किदुग, पोर्तुगलको बैंक खातामा जम्मा गरि सक्नु पर्ने निर्णय उक्त दिनको बैठकले गरेको छ। हालसम्ममा सो कोषका लागि जम्मा € १,११४.०० + £ ६०. ०० संकलन भएको छ । यसरी सहयोग गर्नु हुनेहरुमा श्री पासाङ तेम्बा शेर्पा(होल्याण्ड) – € ५००.००, श्री जाङबु (जे.बी.) शेर्पा (बेल्जियम) – € १५१.००, श्री पेम्बा गेल्बु शेर्पा(बेल्जियम) – € १०१.००, श्री हेम शेर्पा(स्पेन) – € १०१.००, श्री कर्मा छिरिङ शेर्पा(बेलायत) – £ ६०.००, श्री सोनाम (ए.डी.) शेर्पा(बेल्जियम) – € ५५.००, श्री ङिमा ओङ्छु शेर्पा (जर्मनी) – € ५५.००, श्री दावा फिन्जो शेर्पा (बेल्जियम) – € ५१.००, श्री ओङ्गेल शेर्पा(बेल्जियम) – € ५०.०० र श्री आङ कल्जाङ लामा (बेलायत) – € ५०.०० हुनहुन्छ ।
त्यसै गरी किदुग गठन नभएका यूरोपका देशहरुमा किदुग गठन गर्न पहल गर्ने संघको उद्देश्य मुताविक आगामी १६ अगस्तमा साइप्रसवासी शेर्पा समुदायले शेर्पा किदुग गठन गर्न बृहत शेर्पा भेलाको आयोजना गर्न गइरहेकोले उक्त भेलाको व्यापक सफलताको शुभकामना व्यक्त गर्दै सोको लागि व्यानर र खादाको प्रायोजन संघको तर्फबाट गर्ने भएको छ । सो भेलामा संघको तर्फबाट संघका महासचिव श्री कर्मा छिरिङ शेर्पाले आतिथ्यता जनाउने भएको छ ।

यूरोपस्तरीय प्रतियोगितात्मक शेर्पा साँस्कृतिक कार्यक्रम आयोजना गर्नको लागि मिति तथा स्थान तोक्ने र विधाहरु निर्धारण गर्नका निम्ति संघका साँस्कृतिक विभागले यस बारे व्यापक गृह कार्य गरी संघको अर्को बैठकमा राय पेश गर्ने भएको छ । प्राप्त जानकारी अनुसार विशेष गरी यूरोपमा वसोवास गर्ने शेर्पा समुदायका नयाँ पुस्तालाई शेर्पा भाषा, कला, रीतिरिवाज तथा संस्कृतिको संरक्षण एवं सम्वर्द्धनका निम्ति प्रोत्साहित गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

शेर्पा संघ, यूरोपद्वारा गरीव, अनाथ, अपांग तथा जेहेन्दार शेर्पा विद्यार्थीहको शिक्षामा सहयोग पु-याउने उद्देश्यले संचालित अक्षय कोष मार्फत वितरण गर्दै आइरेहेको छात्रावृत्तिका लागि भोजपुर जिल्ला भोजपुर नगरपालिका – ७ निवासी सोही नगरपालिकाको भोजपुर एकेडमीमा कक्षा १ मा अध्ययनरत छात्रा दालमु शेर्पालाई यही शैक्षिक शत्र २०७२/७२३ बाट लागुहुने गरी मासिक रु. १ हजारका दरले कक्षा १० सम्म अध्ययनको लागि छात्रावृत्ति स्वरुप प्रदान गर्ने निर्णय सो बैठकले गरेको छ ।
बैठकको संचालन संघका महासचिव श्री कर्मा छिरिङ शेर्पाले गर्नु भएको थियो ।

नोट :- शेर्पा संघ युरोपबाट पाप्त जानकारी जस्ताको तस्तै प्रकाशित गरेका हौ।