पहिरोले कास्कीमा ठुलो धनजनको क्षति


– सन्देश श्रेष्ठ
पोखरा । अविरल वर्षापछि कास्कीको तीन गाविसमा गएको भिषण पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् भने १५ जना अझै हराइरहेका छन् ।
लुम्ले गाविसमा १८ जना जनको मृत्यु भएको छ भने भदौरे तामागी गाविसमा ५ र ढिकुरपोखरी गाविसमा २ जनाको मृत्यृ भएको छ । गएराति १२ बजे भीषण वर्षासँगै लुम्ले गाविसमा वडा नम्बर ४ र ६ मा पर्ने माझघर गाउँको १४ घर बगाएको छ । पहिरोल मध्यरातमा घर बगाएपछि १८ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी एकै परिवारका ६ जनाको ज्यान गएको छ भने आफन्त कहाँ पाहुना आएका समेत पुरिएका छन् । पहिरोमा परेका ११ जना अझै वेपत्ता छन् ।
गाउँमाथि रहेको भीरबाट खसेको पहिरोले सुरुमा २० हजार लिटरको पानी ट्याङ्कीमा क्षति पुर्‍याएको थियो । सुरुमा सानो जस्तो देखिएको पहिरोले पानी ट्याङ्कीलाई क्षति पुर्‍याएपछि ठुलो रुप लिएको थियो ।

पहिरोले पानी ट्याङ्ककी भत्काएपछि नेपाली कांग्रेसका क्षेत्रीय सभापति आईबहादुर गुरुङको घरलाई बगाएको थियो । त्यसपछि गुरुङको भन्दा तल पर्ने १३ घर पूर्ण क्षति पुर्‍याएको पहिरो पोखरा-बागलुङ राजमार्ग भन्दा पनि तलसम्म पुगेको छ । करिव ३ सय मिटरसम्म पहिरोले क्षति पुर्‍याएको छ ।

आईबहादुर गुरुङको घरमा बसेका छिरिङ राईको पाँच जनाको परिवार पहिरोमा परेकोमा तीन जनाको शव फेला परेको छ । प्रहरीका अनुसार ५६ वषिर्य छिरिङ राई, ४८ वषिर्य उनकी श्रीमती र ८ वषिर्य छोरा अर्जुन राईको शव फेला परेको हो । उनका दुई छोरी वेपत्ता छन् । छिरिङलाई पहिरोबाट उद्धार गरेपछि मृत्यु भएको प्रहरीले बताएको छ ।

८४ वषिर्य वसन्ते विकको परिवारका ६ जना पहिरोमा पुरिएकोमा ५ जनाको शव फेला परेको छ । उनका एक नातिनी मामाघर भएकोले बाँच्न सफल भएकी छन् भने एक छोरा साउदी अरबमा रहेको स्थानियले बताएका छन् । विकका ३२ वर्षीया बुहारी चिजा, १४ वर्षीया नातिनी सम्झना, १२ वर्षीया नातिनी सलिना, ९ वर्षीय नाती सुमिलको शव फेला परेको छ । विककी ८१ वर्षीया श्रीमती बाटुली अझै वेपत्ता छन् ।

६ जनाको परिवार पहिरोमा परेपछि संजीता विक एक्ली भएकी छन् । चार दिन अघि ढिकुरपोखरीको पाउँदुरमा रहेको मामाघर गएकी उनीलाई आज विहान ठुली आमाले फोन गरेर घटनाको बारेमा जानकारी गराउँदै घर बोलाएकी छिन् । परिवार सबै गुमाएकी उनी घरी भक्कानिने र घरी एकोहोरिने गरेकी छन् । एसएलसी उर्त्तीण उनी माछापुच्छ्रे क्याम्पसमा पढ्न मामाघर गएकी हुन् । उनका बुबा रामबहादुर विक रोजगारीका लागि विदेशमा छन् ।

लुम्लेको घटनामा एकै परिवारका सुनकुमारी जिसी, उनको १० वर्षीया सुगम जिसी, ५ वर्षीय छोरा संगम जिसीको पनि मृत्यु भएको छ । भिमाद घर भई माइती आएकी मञ्जु सुनार र उनकी चार महिनाकी छोरी सिमा सुनारको पनि पहिरोमा परी मृत्यु भएको छ । लुम्लेमा पहिरोमा पुरिएका रत्ना पौडेल, पद्मे देवकोटाको पनि शव फेला परेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतका अनुसार शवको गाउँमै पोष्टमार्टम गरी आफन्तलाई बुझाउने व्यवस्था गरिएको छ । पोष्टमार्टमको लागि चिकित्सकको एक टोली लुम्लेमै छ ।

11229285_833027026794069_6565970963610256070_nलुम्लेमा घाइते हुनेहरुमा २० वर्षीया रिता देवकोटा, उनको ८ महिनाका छोरा रितेश देवकोटा र १८ वर्षकी जुना सुनार रहेका छन् । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पहिरोले पोखरा-वागलुङ सडक अझै अबरुद्ध छ । बास्कोट चोकदेखी नै बाटो अबरुद्ध भएको छ ।

कास्कीकै भदौरे तामागीमा पहिरोले ५ जनाको ज्यान गएको छ भने ४ जना अझै वेपत्ता छन् । पहिरोले स्थानीय ३३ बषर्ीया गौरी पराजुली र उनका ७ बर्षे छोरा करण पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै गौरी पराजुलीकी सासु ६० वर्षीया नन्दकली, ६० बर्षीय टिकाराम विक र उनकी श्रीमती ५५ बर्षीया रामकुमारीको समेत मृत्यु भएको स्थानीयले जनाएका छन् ।
पहिरोमा परेर १४ जना घाइते भएको छन् । उनीहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, मनिपाल शिक्षण अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्थानिय शान्ति पराजुली, विमला विक, सविना पराजुली, विनोद विक, नम्रता पराजुली, निरु पराजुली, अञ्जनी पराजुली, तुलसी पराजुली, खुशी विक, कमल सुनार, अन्तिम सुनार, सुस्मा सुनार र सोनाम सुनार र माया पराजुली गम्भीर घाइते भएका छन् ।

पहिरोले ५ घर बगाएको छ भने २० घरमा क्षेति पुगेको कास्की प्रहरीले जनाएको छ ।
ढिकुरपोखरीमा पनि पहिरो त्यस्तै ढिकुरपोखरीमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । ढिकुरपोखरी ९ ठूलाचौरमा पहिरो जाँदा स्थानिय १७ वर्षीया अस्मिता दाहाल र १९ वर्षका प्रेमराज दहालको मृत्यू भएको हो ।
घर माथिबाट आएको पहिरोले पुरिएकी ७५ वर्षकी टोपली दाहालको टाउको र वाँया खुट्टामा चोट लागेको छ ।