‘आमा’ गीतको अडियो भिडियो सार्वजनिक


– सन्देश श्रेष्ठ
पोखरा/
आमा जननी हुन्, आमा श्रृष्टीकी देवि हुन्, आमा ममताकी खानी हुन्, सहनशीलताकी प्रतिमूर्ति हुन् अर्थात आमा सबथोक हुन् । दश धारा दुध चुसाएर हुर्काउने आमाको जति गुनगान गाएपनि कमै हुन्छ किनकी आमाले जति गरेकी छिन् त्यो जतिसुकै भनेपनि कम हुन्छ । अझ शव्दमा व्यक्त गर्न त झन् कठिन् हुन्छ ।

तर पोखरेली सञ्चारकर्मी सरस्वती गुरुङले तिनै आमालाई शव्दमा उतार्ने प्रयास गरेकी छिन् । अनि शव्दलाई संगीतमा ढालेर बनाइएको गीतको दृश्यांकन पनि गरिएको छ ।
गीतको अंश
आमा तिम्रो अंश हुँ म, तिम्रै ज्यानको टुक्रा हुँ
तिम्रो आँशु पुछुँ आमा, तिम्रै छेउमा रहुँ ।
चौतार िहौ आमा तिमी, तिमी नै हौ छहारी
तिम्रो कोखको ओत जस्तो पाईन संसार चहारी ।।

सोही ‘आमा’ गीतको अडियो भिडियो शुक्रबार पोखरामा विमोचन गरिएको छ । सञ्चारिका समूह पश्चिमाञ्चलको आयोजनामा पोखरामा आयोजित एक कार्यक्रमकाबीच ५ जना आमाहरुले विमोचन गरेका हुन् ।

कार्यक्रममा लोक गायीका प्राज्ञ हरिदेवी कोइराला, गीतकार गुरुङकी ममतामयी आमा पूर्णकुमारी गुरुङ, ठूलीआमा नन्दकुमारी गुरुङ, युवा साहित्यकार सरस्वती प्रतिक्षा र तमु धिँ नेपालकी अध्यक्ष कर्म तमुले संयुक्त रुपमा अडियो भिडियोको विमोचन गरेका हुन् ।

‘आमा’ गीतमा जय परियारको संगीत रहेको छ भने स्वर रिमा गुरुङ ‘होडा’को छ । गीतको भिडियो निर्देशन पोखरेली चलचित्र निर्देशक कुष्णकुमार गुरुङले गरेका छन् ।
विमोचनपछि बोल्दै चर्चित लोक गायीका प्राज्ञ हरिदेवी कोइरालाले आमाको महिमा जति गाएपनि कम हुने बताइन् । यद्यपी उनले सरस्वतीले आमाको महिमा शव्द मार्फत सुन्दर र मार्मिक तरिकाले प्रस्तुत गरेको भन्दै प्रशंसा गरिन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले आमाको माया अपरम्पार हुने भन्दै आमाको ऋण कहिल्यै तिरेर नसकिने बताए । उनले गीतको शव्द, संगीत र स्वर उत्कृष्ट रहेको भन्दै यसले आमा शव्दलाई न्याय गरेको बताए ।
संसारमा सफल धेरै हुने तर असल कमै मात्र हुने भएको भन्दै गीतकार गुरुङको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि गीतसंगीतको क्षेत्रमा फड्को मार्दै जान सुझाव दिनुभयो ।

तमु धिँ नेपालकी अध्यक्ष कर्म तमुले आमा शव्दको भाव अत्यन्तै ओजिलो हुने भन्दै आमाप्रति सँधै गर्व गर्नुपर्ने बताइन् । उनले गीतको भावले आमाप्रति युवा पुस्तामा श्रद्धा जगाउन सफल हुने विश्वास व्यक्त गरिन् ।

युवा साहित्यकार सरस्वती प्रतिक्षाले आमाको सम्मानमा कमी आइरहेको समयमा यो गीतले आमाप्रति सम्मान जनाउन कोशेढुङ्गा सावित हुने बताइन् ।
गीतकार सरस्वती गुरुङले आमा प्रेरणाको श्रोत भएको भन्दै आमाप्रति नै समर्पित भएर गीत लेख्दा आनन्दानुभुति भएको बताइन् । उनले गीतको शव्द शव्द सम्पूर्ण आमाप्रति समर्पित गर्न चाहेको भन्दै स्विकार्न आग्रह गरिन् ।

उनले गीत समर्पित गरिरहँदा उनकी आमा खुशीले गद्गद् हुँदै हाँसिरहेकी थिइन् । श्रष्टा सरस्वतीले चाँडै गीति एल्वम् नै बाचा पनि सो अवसरमा गरिन् । सञ्चारकर्मी सञ्जय मल्लले श्रष्टा परिचय गराउँदै सरस्वतीको १३ वर्षदेखिको सञ्चार यात्राले आमा गीत जन्माएको बताए ।

सञ्चारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष वसन्ती बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक पंकज श्रेष्ठ, ‘आमा’ गीतका दश्य निर्देशक कृष्णकुमार गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, व्रोडकास्टिङ्ग एशोसियसन अफ नेपाल वानका उपाध्यक्ष रमेश पौडेल, एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोची, फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, रोटरी क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष पुरन कुवँर, एकीकृत नेकपा माओवादीका युवा नेता राजकाजी गुरुङ (करण), वरिष्ठ पत्रकार नारायण कार्की, सञ्चारिका पश्चिमाञ्चल उपाध्यक्ष जमुना शर्मा, सन्तोष बस्याल, विमला भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।