पोखरामा स्कूल पुरिँदा १४ वर्षीय सञ्जय गायकको मृत्यु


– सन्देश श्रेष्ठ
कास्की / पोखरामा पर्खाल भत्किएर कक्षाकोठा पुरिँदा एक विद्यार्थीको मृत्यु भएको छ । पोखराको छोरेपाटन डेभिडफल्सस्थित एक्स आर्मी पब्लिक हाइयर सेकेण्डरी स्कुलको पर्खाल भत्किएर कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सञ्जय गायकको मृत्यु भएको हो ।
उक्त घटनामा पि्रन्सिपलसहित ५ शिक्षक र ८ विद्यार्थीसहित १३ जना घाइते भएका छन् ।

विद्यालयको कक्षा ८, ९ र १० को कक्षा कोठा नजिकै रहेको पर्खाल अविरल वर्षाले भत्किएर कक्षा कोठा पुरिदा क्षति पुगेको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले बताए । कमेरोसहित कालो माटो भएकाले पर्खालको भाग पानीले लच्काएको उनले बताए ।

घटनामा सो विद्यालयका प्राचार्य मोहन पौडेल, शिक्षकहरु अमित बराल, अरुण कार्की र भवानी शंकर घाइते भएका छन् । विद्यार्थीहरु बिषु भुजेल, प्रतिक्षा सुवेदी, अनुषा सुनार, सुस्मीता थापा, कञ्चन थापा, रचना पौडेल र आविस्कार विक लगायत घाइते भएका छन् । घाइतेहरुको पोखराको गण्डकी मेडिकल कलेज, मनिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहितका अस्पतालमा उपचार भइरहेको छ ।

कक्षा ८, ९ र १० का विद्यार्थीहरुले अन्तिम दिनको परिक्षा दिइरहेकाबेला कक्षाकोठामा पहिरो लडेको थियो । परीक्षाको अन्तिम पाँच मिनेट बाँकी छँदा उक्त घटना भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको विद्यालयकी शिक्षिका गंगा बरालले बताइन् । परीक्षा सकिन केही समय मात्रै बाँकी रहेकाले कतिपय विद्यार्थीहरु कक्षाकोठाबाट बाहिरिसकेका थिए ।

घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, शिक्षक, विद्यार्थी र स्थानीयले उद्धार गरेका थिए । उद्धारका लागि स्काभेटरको पनि प्रयोग गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कष्णबहादुर राउतले बताए ।

पोखराका बिभिन्न ठाँउमा जमिन भासिने तथा घरहरु भत्कन सक्ने भएकाले सुरक्षाकर्मीहरुलाई तयारी अबस्थामा राखिएको बताउदै उनले सतर्क रहन सबैलाई आग्रह पनि गरेका छन् ।