एनआरएनए युरो कप, धन्यवाद र तिता मिठा कुरा


-निराजन श्रेष्ठ, स्विस
टुर्नामेन्ट सफल बनाउनेहरुका नाममा पहिलो पटक युरोपभरिका नेपालीलाई एकै थलोमा भेला पार्नु । भेला मात्रै पारेर होइन, तिनलाई बस्ने, खाने र ल्याउने लाने ब्यवस्था गर्नु । ११ देशका १६ फूटबल खेलाडीहरुको ब्यवस्था गर्नु । उनीहरु सँगै आउने पाहुनालाई आत्मियता दिनु । खुशी तुल्याउनु । अपजस लिन तयार हुनु र जस भने अरुलाई दिन गाह्रो नमान्नु ।

एनआरएन स्विजरल्याण्डले एनआरएनए कै इतिहाँसमा पहिलो पटक भेला पार्यो, युरोपभरिका युवाहरुलाई । त्यो सबै काम गर्दा यो एनआरएन युरोकप फूटबल टुर्नामेन्ट आयोजना गर्ने स्विजरल्याण्डका नेपालीहरुले त्यो अपजस लिए । सफल बनाएर देखाए । यसमा युरो कप आयोजना गर्ने टोली अनुग्रहित छ, आभारी छ । तर उठाउनु पर्ने अन्य केही कुरापनि छन ।

यत्रो कार्यक्रम गरिँदै थियो । तर यही मौका छोपेर आफूलाई दिग्गज भन्नेहरु कालो रातमा झैं लुकेर देखिए । कार्यक्रम भाँड्न । चोर बाटाबाट छिर्न खोजे स्वयंसेवकहरु भड्काउन सकिन्छ कि भनेर । च्यात्तिएको जाल लिएर उत्रिए धमिलो होला र माछो पारौंला भनेर । छद्म नाममा केही लेखे । तर न लेख, न समाचार भन्न लायकको तिनको काइते भाषा, कार्यक्रम देखेर पोलेको तिनको मन, अरु ब्यक्ती सफल हुने भए भनेर छटपटाएको तिनको मुटु । हुटहुटीले सताइएको तिनको बेदना, छटपटी, डाह, रिस र आबेग काइते लेखमा छचल्किएको थियो । अन्तत ति आँफैं छ्चल्किएर पोखिए ।

एनआरएन स्विजरल्याण्ड, आयोजक, संयोजन टोली । स्विजरल्याण्डका आत्मिय, चिन्तनशिल नेपाली । आफूलाई जिम्मेवारीबोध गर्ने मित्रहरु । बुझक्की नेपालीहरु थिए । यत्रो भीषण समुद्रका अगाडि त्यो नाथे कालो मनधारीको, एक छिटोको के लाग्थ्यो ? ति नामेट भएर गए । थुर थुर कामेर किर्ते नाममा लेख्ने, कार्यक्रमको आलोचना गर्न हाकै सोध्न नसक्ने नाथे पानी मरुवाको के ह्याउ हुन्थ्यो ? यस्ता काला मनधारीहरुलाई एकाध होइन सयौंलाई किनारा लगाउन हाम्रो टोली, हामी सफा मनका स्विसबासी नेपाली तयार थियौं । त्यो तागत,त्यो आँट, त्यो साहस र तयारी हामीसित थियो ।

टुर्नामेन्ट अराउमै भएकाले यहाँ बस्ने साथीहरु, आग्रजहरु, अराउबासी नेपालीहरुको भूमिका झन सकृय र विशेष हुनै पर्थ्यो र भयो । अचम्मलाग्दोसित सकृय हुनु भो । रात र बिहान, साँझ र मध्यरात नभनी साथीहरु, अग्रजहरु सबै खट्नु भो । यसलाई सफल पार्न जुरिच , लुजर्न, इभरँदोर र जेनेभादेखि साथीहरु कामबाट बिदा लिएरै आउनु भो ।

आफ्नो सिप, क्षमता, भूमिका र संलग्नता देखाउनु भो । हाम्रो यही कामले गर्दा एन आर एन युरो कप अब इतिहाँस बनाउन सफल भएको छ । अब यो खेल अगाडि बढ्दै जाने छ । हरेक देशमा आयोजना हुँदा यसले स्विटजरल्याण्डबासी नेपालीको इतिहाँस, प्रयास, बुद्दिमत्ता, मेहनत र अक्किललाईपनि बोक्ने छ । यो स्मरणिय बन्ने छ । यो हामी सबैले गर्व गर्ने बिषय बनेको छ ।

एन आर एनको ईतीहाँसमै सबै भन्दा बढी युवाहरु संलग्न भएको कार्यक्रमपनि यही साबित भएको छ । यो हाम्रो अर्को सफलता हो । के काला कोठामा बसेर हिलो छ्याप्न र आलोचना मात्रै गर्न जानेकाले यो बुझ्ने हैशियत राख्छन् ? यो कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष, भौतिक वा नैतीक साथ र समर्थन गर्नेको क्षमताले मात्रै त्यो हैसियत राख्छ ।
हामीले धेरै मेहनत गर्यौं । बिदेशको महँगो, दूर्लभ समय काम छोडेर खर्चियौं । परिवारको समय लियौं । घरायसी काम पन्छायौं । दु:खले काम गरेको केही रकम पनि माया नमानी लगानी गर्यौं ।

युरोपभरिका नेपालीहरुलाई ल्याएर आत्मियता दियौ, विशाल मन खुलाएर पठायौं । योपनि हामीले कमाएको पूँजी हो । त्यसैले यसबाट हामी स्विसबासी नेपाली खुशी हुने धेरै कारण बनेको छ । यो कार्यक्रमले धेरै काला मनधारीको मन हल्लाइदिएको छ । तिमध्ये केही त कार्यक्रम हेर्नपनि नसकेर लाजले कतै लुके ।

तर यो सबै सफलताको पछाडी हामी स्विसबासी नेपाली, हामी आयोजक, हाम्रो खेलकूद ब्यवस्थापना टोली, संयोजक टिम मात्रै होइन । सबैभन्दा ठुलो हात, लगानी र भूमिका तपाई खेलाडीहरुको छ । ति खेलाडीहरुलाई संयोजन गरिदिने टिम प्रमुखको छ । तिनलाई चाँजो पाँचो मिलाइदिने एन आर एन राष्ट्रिय समन्वय परिषदहरुको छ । तपाईहरु सबैलाई हामी धन्यवाद दिन चाहन्छौं । हामीलाई त्यो विश्वास, त्यती ठुलो जिम्मेवारी, त्यो हदसम्मको साथ र समर्थन दिनुभएकोमा अनुग्रहित छौं ।

हामीलाई एनआरएन युरोप संयोजन कमिटीले सहयोग दिएको छ । एनआरएन केन्द्रले पनि साथ दिएको छ । एनआरएन पूर्व केन्द्रिय अध्यक्ष जिवा लामीछाने,बर्तमान उपाध्यक्ष भवन भट्ट ,महासचिव कुमार पन्त र युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ आँफै संलग्न भएर हौसला दिनु भो । आर्थिक सहयोगपनि गर्नु भो । यसका लागि हामी आभारी छौं, कृतज्ञ छौं ।

खेलाडीहरुलाई उचित प्रबन्ध मिलाउनु । तिनलाई खेल मैदानसम्म ल्याउनु र लानु । कसले खान पायो पाएन, बस्ने ठाउँ कस्तो भयो भनेर हेर्नु । राती दुई तीन बजेसम्मपनि आगन्तुकहरुलाई गाडीमा ओसार्नु । एक दुई रात राम्रोसित नसुती छर्लङ्गै कटाउनु । यसमा आराउ, जुरिच, लुजर्न, इभरँदो, जेनेभादेखि सबैतिरका प्रिय मित्रहरुको ठुलो सहयोग र समर्थन छ ।

खेलाडीहरुले, हाम्रा पाहुनाहरुले औधी प्रशंसा गरेको अर्को पक्ष खाना हो । त्यसमा सहयोग गर्ने सबैलाई लाख लाख धन्यवाद छ । पत्रकार साथीहरु, समाजसेवीहरु, खेलाडीहरु, रेफ्री, लाइन्समेन, एनआरएनका अग्रजहरु, स्विजरल्याण्डका नेपाली संघ संस्थाका ब्यक्तित्वहरु, तिनलाई प्रेरणा दिने ब्यक्तिहरु, हाम्रो कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने, आएर हेरिदिने यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद । त्यो भन्दा बढी धन्यवाद हाम्रो आलोचना गर्ने, छद्म नाममा लेख हो कि समाचार के हो नबुझ्ने सामाग्री पठाएर भाँड्न खोज्ने, अँध्यारो कुनामा बसेर चलखेल गर्नेहरुलाई छ । किनभने तिनले यती नगरिदिएको भए सायद हामी थप सचेत हुन पाउँदनथियौं कि ?

कार्यक्रम सकिएपछी त्यसका धेरै सामाग्री ब्यवस्थापन गर्नुपर्यो । पछी परेका काम सक्नु पर्यो । त्यसैले यहाँहरुको सहयोगलाई बेलैमा सम्बोधन गर्न सकिएन । त्यसमा म संयोजकको हिसाबले क्षमा माग्छु । मेरा मित्र, अग्रज, मेरो टिम, नेपाली संघसंस्था र सम्पूर्ण रुपमा स्विसबासी नेपालीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु।